मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख ३ आइतबार ०७:००:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अभ्यास खेलमा नेपालले ओमानलाई हरायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख ३ आइतबार ०७:००:००

एसिसी प्रिमियर कपअघि भएको अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानलाई पाँच विकेटले हराएको छ । कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा भएको खेलमा प्रशिक्षक मोन्टी देसाईले युवा खेलाडीलाई अवसर दिएका थिए । ओमानले दिएको दुई सय ४७ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ५ विकेट गुमाउँदै भेट्टाएको थियो । अर्काे अभ्यास खेलमा कुवेतले बहराइनलाई एक विकेटले हरायो । 

अर्जुन, रोहित र दीपेन्द्रको अर्धशतक
नेपालको जितमा युवा ओपनर अर्जुन साउद, कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक इनिङ्स खेलेका थिए । ओपनर अर्जुनले सर्वाधिक ६७ रन बनाए । कप्तान रोहितले ५८ र दीपेन्द्रले ५९ रन बनाए । ओमानका कप्तान जिसान मकसुदले २ विकेट लिए । यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ४६ रनको मध्यम स्कोर बनाएको थियो । 

ओमानका सोएब खानले शतकीय इनिङ्स खेले । सोएबले एक सय १० रनको अविजित इनिङ्स खेले । यसैगरी, ओपनर जतिन्दर सिंहले ४२ रन बनाउँदा मोहम्मद नदिमले २४ रनको योगदान गरे । नेपालका किशोर महतोले सर्वाधिक तीन विकेट लिए । यसैगरी, युवा बलर प्रतिश जिसी र सूर्य तामाङले समान दुई विकेट हात पारे । 

पहिलो खेल मलेसियासँग 
प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियासँग खेल्ने तालिका छ । खेल मंगलबार कीर्तिपुरमा हुनेछ । समूह एमा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन् । समूह बीमा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिताका ११ खेल मूलपानी क्रिकेटको माथिल्लो मैदानमा हुनेछ । नेपाल र साउदी अरेबियाबीचको खेलसमेत मूलपानीमा हुने कार्यक्रम छ । १० टोली सहभागी प्रतियोगिताको उपाधि जित्ने टोलीले एसिया कप खेल्ने अवसर पाउनेछ, जहाँ भारत र पाकिस्तानसँग प्रतिस्पर्धा हुनेछ ।