१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख १ शुक्रबार ०८:०४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोभिडपछि चार्टर उडानबाट भित्रिए १८० चिनियाँ पर्यटक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख १ शुक्रबार ०८:०४:००

कोरोना महामारीपछि चीनबाट पहिलोपटक चार्टर उडानबाट एक सय ८० जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छन् । हिमालय एयरलाइन्सको चार्टर उडानबाट आएका पर्यटकलाई पर्यटनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेनसोङ र पर्यटन बोर्डका सिइओ डा. धनञ्जय रेग्मीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

चिनियाँ पर्यटकलाई विमानस्थलमै खादा मालासहित पञ्जेबाजा बजाएर स्वागत गरिएको थियो । पर्यटकलाई स्वागत गर्दै मन्त्री किराँतीले चीन नेपालको प्रमुख पर्यटन स्रोत बजार रहेको उल्लेख गर्दै कोभिडपछि चिनियाँ पर्यटकलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।  

कोभिडपछि चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छैनन् । हालै मात्र चीनले आफ्ना नागरिकका लागि घुम्न जाने देशको सूचीमा नेपाललाई पनि समेटेको छ । चीनबाट मार्चमा करिब २६ सय मात्र पर्यटक भित्रिएका छन् । 

मन्त्री किराँतीले भैरहवा र पोखराबाट चीनसम्म सीधा उडानका लागि आवश्यक सहयोग र पहल गर्न राजदूतलाई आग्रह गरे । राजदूत छेनसोङले नेपाल चिनियाँ पर्यटकको रोजाइको गन्तव्य भएको बताउँदै नेपालको पर्यटन विकासका लागि चीन सधैँ सकारात्मक भएको बताए । उनले कोभिडपछि चिनियाँ नागरिकलाई नेपाल भ्रमण खुला गरिएकाले अब नेपाल आउने चिनियाँ पर्यटकहरूको संख्या क्रमशः बढ्ने बताए । 

बोर्डका सिइओ रेग्मीले कोभिडपछि सन् २०२३ मा नेपालको पर्यटन लयमा फर्किंदै गएको उल्लेख गर्दै चिनियाँ पर्यटकको आगमनले नेपालको पर्यटन थप चलायमान हुने बताए । उनले नेपाल–चीन सीमानाका रसुवा र तातोपानी नाका आउने पर्यटकलाई नेपाल भ्रमण गराउन पहल गरिदिन चिनियाँ राजदूतसमक्ष आग्रहसमेत गरे ।