Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रेनु दाहाल, मेयर, भरतपुर महानगरपालिका, चितवन
२०८० बैशाख १ शुक्रबार ०६:५७:००
Read Time : > 6 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

विकासको मोडेलका साथै आर्थिक पारदर्शितामा पनि पहिलो हुँदै छौँ

Read Time : > 6 मिनेट
२०८० बैशाख १ शुक्रबार ०६:५७:००

रेनु दाहाल महानगरपालिकाहरूमा नै पहिलो महिला मेयर हुन् । ०७४ मा पहिलो कार्यकालका रूपमा मेयरमा निर्वाचित भएकी दाहाल दोस्रो कार्यकालका लागि पनि फराकिलो मतान्तरले विजयी भइन् । देशभरि नै भरतपुरको विकास मोडेल र सुशासनको चर्चा भएको दाबी गर्ने मेयर दाहालसँग नयाँ पत्रिकाका लागि सहकर्मी विवेक पोख्रेलले गरेको कुराकानी :

भरतपुर महानगरपालिकाको दोस्रो कार्यकालमा आइपुग्दा आफ्नो भूमिकालाई कसरी मूल्यांकन गर्नुभएको छ?
काम कुनै पनि सहज हुन्छ भन्ने लाग्दैन । तर, काममा रमाउन सक्नुपर्छ भन्ने मान्यता राख्छु । कामको हिसाबले दबाब त भइहाल्छ । जनताको आवश्यकता पूरा गर्दै उहाँहरूको मुहारमा खुसी देख्न पाउँदा सन्तुष्ट छु । उहाँहरूले मप्रति आशा र विश्वास गर्नुभएको छ । त्यसैले दोस्रोपटक पनि भारी मतान्तरसहित विजयी गराइदिनुभयो ।
हाम्रो व्यवस्था परिवर्तन त भयो, तर अवस्था पूरै परिवर्तन भएको छैन । महिलाले विगतमा भन्दा धेरै अधिकार पाएका छौँ । हामी महिलाले देशको राष्ट्रपति, मन्त्री, प्रधानन्यायाधीशलगायतका धेरै जिम्मेवारी सम्हाल्ने अवसर पाएका छौँ । तर, हाम्रो समाजले अझै पनि पुरुषवादी चिन्तन बोकेको छ । त्यसैले काम गर्न पुरुषलाई जति सहज  त छैन । अनुभूतिको कुरा गर्नुपर्दा एउटा पुरुषले गर्न सक्ने काम गरेको छु भन्नेमा विश्वास र गौरव गर्छु । 

भरतपुर महानगरपालिकालाई कसरी चिनाउनुहुन्छ ?
भरतपुर सम्भावना बोकेको महानगरपालिका हो । विकासको हिसाबले पनि देशकै मध्यभागमा रहेको यो महानगरपालिका विगतमा ७५ जिल्ला हुँदा ७६औँ जिल्ला भनिन्थ्यो । अहिले पनि ७८औँ जिल्ला भन्ने गरिन्छ । यसको अर्थ देशैभरिका भिन्न–भिन्न जात, भाषा, धर्म, संस्कृति भएका मानिसहरू यहाँ बस्छन् । शिक्षित मानिसहरूको यहाँ बसोवास छ ।  पवित्र नारायणी नदी किनार तथा प्रसिद्ध धार्मीक स्थल देवघाट धामको काखमा अवस्थित भरतपुर  महानगरपालिका ऐतिहासिक, सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक तथा सांस्कृतिक आदि रूपले मुलुककै अग्रणी नगरीको रूपमा आफ्नो पहिचान बनाएको छ भन्नेमा म विश्वस्त छु । 

यहाँका समस्याचाहिँ के देख्नुभएको छ ?
सबैको चित्त बुझाएर काम गर्न चुनौतीपूर्ण छ । विभिन्न खाले चिन्तन भरतपुरसँग छ । जनताका विभिन्न अपेक्षासँगै विकासको तीव्र चाहना छ । यहाँका जनताको मात्र नभई देशकै मध्यभागमा भएकाले पनि होला, यो ठाउँ संवेदनशील छ । राजनीतिक हिसाबमा वा सामान्य विषय पनि प्रोभोगको परिस्थिति बन्छ । काठमाडौंपछि राम्रा काम, नराम्रा काम विभिन्न खाले फन्डाहरू हुँदा प्रोभोग हुने ठाउँको रूपमा पनि उपयोग गर्न खोज्छन् । समस्या पनि छ र त्यसलाई समाधान गर्दै अघि पनि बढेका छौँ । 

एक वर्षको कार्यकाल बित्दा भरतपुरले मेयरको रूपमा तपाईंबाट के पायो ?
०७३ फाल्गुन २७ मा भरतपुरलाई महानगरपालिकामा स्तरोन्नति गर्दा यहाँ महानगरमा हुनुपर्ने विकास थिएन । मुख्य सडकहरू पक्की र पिच भएका भनिए तापनि भत्किएका र बिग्रिएका थिए । भित्री गाउँमा विशेषतः पश्चिम चितवनमा विकासको कम प्रभाव थियो । पाँच सय मिटरसमेत बाटो पक्की नभएका वडाहरू थिए । त्यस्ता वडाको मुख्य सडकहरू प्रायः सबै कालोपत्रे भएर पक्की बनेका छन् । 

विगतका पाँच वर्ष धेरै काम भए । यसमा मलाई गर्व छ । विगतको कार्यकाल मेरो नयाँ अनुभव पनि थियो । कोभिडका कारण झन्डै साढे तीन वर्ष सहज रूपमा काम गर्ने वातावरण भएन । कोभिडबाट जनतालाई सुरक्षित राख्दै माहानगरको विकासमा पनि हामी उत्तिकै प्राथमिकताका साथमा अघि बढ्यौँ । भौतिक पूर्वाधारतर्फ पाँच वर्षभित्र ६ सय २२ किलोमिटर सडक कालोपत्रे भयो, जुन सामान्य कुरा थिएन । महानगरभित्र लगभग खानेपानी पर्याप्त उपलब्ध भएको छ । २९ वटा नै वडामा अब जनप्रतिनिधिले खानेपानीका लागि बजेट छुट्याउन वा माग गर्नुपर्ने आवश्यकता रहनेछैन । खेतीयोग्य जमिन भएको यो ठाउँमा उत्पादन बढाउन सिँचाइ परियोजनाहरू सञ्चालन गरिएका छन् । हरेक वर्ष बाढीको त्रासमा रहेका हामीलाई नारायणीमा तटबन्धन अघि बढाउने कुरा सामान्य थिएन । 

आधुनिक र ठूलो सिटहल बन्दै छ । महानगर हुँदा पनि नगर पञ्चायत हुँदाको भवनबाट हामी सेवा दिन बाध्य थियौँ । अहिले महानगरको प्रशासनिक भवन बन्दै छ । वडा कार्यालयहरू जनताको सेवा प्रदान गर्न सहज हुने हिसाबले बनिरहेका छन् । नारायणी नदी किनारलाई सिबिच मोडलमा बनाउने तयारी छ । मुख्य राजमार्ग सौन्दर्यसहित ६ लेनमा विस्तार हुँदै छ । बाइपास सडक पनि विस्तार सम्पन्न हुँदै छ । रिङरोड, लिंकरोड निर्माण र हुलाकी सडक विस्तारको काम धमाधम भइरहेका छन् । उज्यालो भरतपुर महानगरअन्तर्गत सडकहरूमा बत्ती जडान भएका छन् । विद्युतका तार भूमिगत गराउने काम तीव्र ढंगले बढेको छ । क्लिन एन्ड ग्रिन सिटीको रूपमा भरतपुर विकास हुँदै छ ।

एक वडा एक हरियाली पार्कको अवधारणाअनुसार पनि काम भइरहेको छ । रानीपोखरी पार्क, लक्ष्मीनारायण पार्क, देवीस्थान पार्कलागायतका नगरस्तरीय पार्क पनि बन्दै छन् । एक वडा एक खेलमैदानको नीति रहेको छ । एक वडा एक स्वास्थ्य केन्द्र अभियानअन्र्तगत स्वास्थ्य सेवा प्रदान भएका छन् । मेडिकल सिटी भरतपुरमा हामीले भरतपुर अस्पताललाई जिल्ला अस्पतालबाट संघीय अस्पताल बनायाँै । भर्खरै शिक्षण अस्पताल बनाउने निर्णय भएको छ । आयुर्वेद अस्पताल बन्दै छ । हामीले मेडिकल सिटीको परिचयमा नयाँ आयाम थप्दै गएका छौँ ।

दोस्रो कार्यकालमा उम्मेदवारको हिसाबले जनतामाझ जाँदा पुराना परियोजना जे छन्, सम्पन्न गर्ने र थप नयाँ नसकेका र गर्नुपर्ने आयोजनाहरू सुरु गर्ने मेरो प्रतिबद्धता थियो । निरन्तरता पाएका कामसँगै त्यसअन्तर्गत भरतपुर विमानस्थल विस्तारको योजना पूरा गर्ने, नारायणगढको पुल भएको ठाउँमा सिग्नेचर बिच निर्माण, अलपत्र रहेको अन्तर्राष्ट्रिय रंगशाला निर्माण, फोहोर व्यवस्थापनजस्ता मुख्य योजनाहरू अघि बढाउने र सम्पन्न गर्ने यो कार्यकालको लक्ष्य हो ।

मूल्यांकनका लागि नयाँ कार्यकाल सुरु भएपछि सिग्नेचर ब्रिज टेन्डर भई सम्झौताको चरणमा छ । विमानस्थल विस्तारको काममा पनि व्यवस्थित टर्मिनल भवनको शिलान्याश भइसकेको छ भने मन्त्रिपरिषद्ले विस्तारको लागि पनि निर्णय गर्दै छ । अलपत्र अवस्थामा रहेको क्रिकेट रंगशालाको ऋण तिरेर बाँकी कार्य केन्द्रीय सरकारले गर्ने गरेर योजना अघि बढ्दै छ । फोहोर व्यवस्थापनाको पनि गुरुयोजना बन्दै छ । पाँच वर्षपछि सबै आयोजना सम्पन्न हुँदा कल्पना गरौँ न महानगर कस्तो रूपमा देखिन्छ होला । 

जनताका भावना, चाहाना पूरा गर्नुपर्छ भनेर मेरो अर्जुनदृष्टि त्यसैमा मात्र छ । त्यो हिसाबले जनताको खुसीका लागि मात्र अहोरात्र खट्ने र सोच्ने गर्छु । जनताभन्दा बाहिर म छैन । म विगत र वर्तमानमा पनि जनताको भावना र अपेक्षालाई पूरा गर्न हिँडेको सेवक हुँ । हामी जे बोल्छौँ, त्यो गर्छौं । जे गर्छौं, त्यो बोल्छाँै । आउँदो पाँच वर्षभित्र भरतपुरलाई एसियाली मापदण्डअनुकूलको भौतिक पूर्वाधारले भरिपूर्ण महानगर बनाउने हो । 

जनताको दैनिकी र आयआर्जनसँग जोडिएको विषयमा के काम भएका छन् ?
महानगरभित्र संघीय र प्रादेशिक उद्योगग्रामहरू बन्दै छन् । वडा नम्बर २० भीमनगरको ७ बिघामा प्रादेशिक उद्योगग्राम बन्दै छ । वडा नम्बर २१ पार्वतीपुरमा संघीय उद्योगग्राम बन्दै छन् । ती उद्योगग्राममा मानिसलाई उद्यमशील बनाउने काम हुनेछन् । घरेलु उद्योग, मझौला उद्योग, आफैँले उत्पादन गरेका वस्तुहरूको बजारीकरणको थलो हुनेछन् । उद्योगग्रामले पक्कै नगरवासीको आयआर्जनलाई सघाउँछ । महानगरवासी जनसमुदायको आयआर्जन बढाउन, आत्मनिर्भर बनाउँदै उनीहरूको जीविकोपार्जन प्राथमिकतामा राखेका छौँ । रोजगारी प्राप्त गर्न दक्षता अर्थात् सीप आवश्यक छ । सीपले धेरै ढोका खुल्छन् । यसलाई मध्यनजर गर्दै मागको आधारमा हामीले तालिमको व्यवस्था गरेका छौँ । यो वर्ष पनि हामीले दुई हजारलाई ब्युटिपार्लर, कम्प्युटर, ड्राइभिङ, इलेक्ट्रिक, प्लम्बिङलगायत तालिम दिँदै छौँ । 

विपन्नलाई घर बनाइदिनेदेखि अतिविपन्नलाई शिक्षामा छात्रवृत्तिको कार्यक्रम पनि छ । भरतपुर महानगरलाई खरको छानामुक्त बनाउने उद्देश्यले टिनका छाना पनि वितरण गर्दै आएका छौँ । रोजगारीको सन्दर्भमा रोजगारी मेलालगायतका गतिविधि आयोजना गरेर सकेको सहयोग गरेका छौँ । विद्यालयहरू प्राविधिमैत्री भएका छन् । पाँच वर्षमा करिब सात हजार विद्यार्थी निजी विद्यालयबाट सामुदायिक विद्यालयमा पढ्न आएको तथ्यांक हामीसँग छ । महानगरको सहयोगमा अटिजम विशेष विद्यालय सञ्चालनमा छ ।

दलित र गैरदलित विवाह गर्ने दम्पतीलाई नगद एक लाखसहित सम्मान गरेर सामाजिक एकता कायमका लागि पहल गरेका छौँ । सहिद परिवारलाई पेन्सनको व्यवस्था छ । महानगरपालिकाको जिम्मेवारी चौतर्फी हुन जरुरत छ । कला, संस्कृतिको क्षेत्रमा पनि हामीले आफ्नो भूमिका निर्वाह गरेर विभिन्न गतिविधि सञ्चालन गरेका छौँ । 

महिला मेयरको नाताले महिलाका लागि के–के गर्नुभएको छ ?
पहिलो कार्यकालको पद बहाली गर्दा मेरो पहिलो निर्णय नै महिलाका लागि भएको थियो । महानगरपालिकाले तिरिदिने गरेर भरतपुर अस्पतालको ओपिडीमा महिला र ज्येष्ठ नागरिकलाई निःशुल्क टिकटको व्यवस्था सुरु गरिएको छ । महानगर गौरवको कार्यक्रम भनेर महिलासँग मेयर र जोखिममा परेका समुदायसँग मेयर कार्यक्रम सञ्चालनमा छ । सरकारी विद्यालयमा पढ्ने छात्रालाई साइकल वितरण गरेका छौँ । दोस्रो कार्यकालमा भरतपुरमा जन्मिएका छोरीहरूलाई छोरी बिमा कार्यक्रम लागू गरेका छौँ । महिलाको नेतृत्वमा रहेका संघसंस्थामा हाम्रो ध्यान बढी छ ।

उत्पादनले बजार पाएन भनेर तरकारी नष्ट गर्नुपर्ने अवस्थामा पुगेका किसानका लागि महानगरले कस्तो भूमिका निर्वाह गरेको छ ?
महानगरपालिकाले आफ्नो बजेटमा पनि कृषिलाई जोड दिएको छ । हामीले नै पहिलोपटक किसानलाई उत्पादनका आधारमा दूधमा अनुदान व्यवस्था गरेका थियौँ । खेतीयोग्य जमिन भएको यो ठाउँमा सिँचाइको पनि राम्रो प्रवद्र्धन गर्नुपर्छ भनेर सयौँको संख्यामा ट्युबवेल, डिपबोरिङका आयोजनाहरू महानगरमा सञ्चालनमा ल्याएका छौँ । सिँचाइका परियोजनाहरूलाई निरन्तरता दिने नै छौँ ।

यान्त्रीकरण, उन्नत जातका बिउबीजनहरूमा महानगरले लगानी गरेको छ ।  माछापालन गर्ने किसानलाई विद्युत्मा छुटको व्यवस्था छ । स्थानीय सरकारकै जोडका कारण हिजोभन्दा आज उत्पादन बढेको छ । किसानको लागत कम परोस् भन्ने विषयमा हामी चिन्तित छौँ । तरकारी, दूधजस्ता उत्पादनमा हामी आत्मनिर्भर छौँ । तर, विदेशबाट सहज रूपमा यी उत्पादन भित्रिँदा समस्या भएका छन् । हामीले रोकेर यो असम्भव रहेछ । महानगरभित्र भद्रगोल अवस्थामा रहेको फलफूल तथा तरकारी बजारलाई हामीले समन्वय गरेर क्षेत्रपुरमा देशकै आधुनिक, व्यवस्थित मन्डी निजी क्षेत्रको लगानीमा निर्माण भएको छ । यहाँ स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै सञ्चालन गरेका छौँ । जहाँ स्वच्छ उत्पादन मात्र उपभोक्ताको भान्सामा पुगोस् भनेर विषादी प्रयोगशाला पनि छ ।

नगरको आम्दानी र विकास खर्च कस्तो छ ? 
महानगरपालिका भए पनि अरूको तुलनामा आन्तरिक आयका हिसाबले हामी कमजोर छौँ । देशैभरि कोरोनापछिको अवस्था विकाराल छ । यसपटक राजस्वको हाम्रो लक्ष्य डेढ अर्ब रुपैयाँ छ । नगरको आम्दानी बढाउन कर अभियान सुरु गरेका छौँ । विकास खर्च (पुँजीगत खर्च ) बढाउन ठेक्का समिति, उपभोक्ता समितिले तोकेका काम, रातो किताबमा तोकेका कार्यक्रम तीव्र गतिमा बढाएका छौँ ।

२०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउने योजना कस्तो हुन्छ ?
भरतपुर महानगर ठूलो पर्यकटकीय गन्तव्य बन्दै छ । महानगर भ्रमणमा आउनेलाई ६ रात ७ दिनको टुर प्याकेज घोषणा गरेका छौँ । ३० वटा पर्यटकीय गन्तव्य पहिचान भएका छन् । यहाँका विकास निर्माणलगायतका सबै पक्षहरू जस्तै– भौगोलिक परिवेश, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्यको समग्र क्षेत्रको प्रवद्धन गर्न र महानगरपालिकाको परिचय दिन हामीले भ्रमण वर्ष मनाउन लागेको हो ।

०१७ सालतिर बेलायतकी महारानी स्व. एलिजाबेथले भरतपुरकै मेघौलीमा भ्रमण गरेको इतिहास छ । पुरानो पर्यटकीय इतिहास बोकेको भरतपुर सुरक्षित छ । लगानीमैत्री वातावरण बनाउने, विकासको मोडेल देशव्यापी रूपमा पनि दिने हाम्रो लक्ष्य छ । आफ्नो लगानी यहाँ ल्याउन सक्नुहुन्छ भनेर हामी सन्देश दिन चाहन्छौँ । पर्यटन पूर्वाधारमा पनि हामीले विकास गरेका छौँ । 

बेरुजु कम हुने महानगरको चर्चा कमाउनुभएको छ । कसरी सफल हुनुभयो ?
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको पछिल्लो दुई वर्षका प्रतिवेदनअनुसार महानगरपालिकामध्ये भरतपुर नै सबैभन्दा कम बेजुरु भएको महानगरपालिका बनेको छ ।

यो वर्ष हामी महानगरपालिकामध्ये कम बेरुजु भएको नगर त भयौँ नै, सकेसम्म स्थानीय तहहरूमा नै कम बेरुजु भएको नगरपालिका बन्ने लक्ष्य हो । त्यो तयारीमा हामी छौँ । हामी आर्थिक पारदर्शिताको हिसाबले फजुल खर्च गर्दैनौँ । हामीलाई जनताप्रति उत्तरदायी भई राम्रोबाहेक केही गर्ने छुट छैन । 

आर्थिक पारदर्शिताको कुरामा नम्बर १ महानगर हुँदै छौँ । ऐन कानुन, कार्यविधि, मापदण्ड बमोजिम खर्च गर्ने परिपाटीले यो सफलता प्राप्त भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा पनि भरतपुर महानगरपालिका उत्कृष्ट देखिएको छ । हामीलाई यसमा गर्व छ ।