१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १९ आइतबार
  • Friday, 09 May, 2025
२o७९ चैत १९ आइतबार २१:१९:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

चर्च ब्वाइजले उचाल्यो जितपुर-सिमरा गोल्डकपको उपाधि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १९ आइतबार २१:१९:oo

पहिलो  सहभागितामै चर्च ब्वाइज युनाइटेड जगदम्बा १३औँ जितपुर–सिमरा गोल्डकपको उपाधि उचाल्न सफल भएको छ। सिमरा रंगशालामा शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २–० गोलले पराजित गर्दै चर्च ब्वाइजले उपाधि उचालेको हो।

चर्च ब्वाइजलाई उपाधि दिलाउने क्रममा मिलन राई र आशिष चापागाईंले एक– एक गोल गरे । चर्च ब्वाइजको लागि यो सिजनकै पहिलो उपाधि हो। यो उपाधि उचालेसँगै चर्च ब्वाइजले जितपुर–सिमरा गोल्डकप बिजेताको सूचीमा आफूलाई पनि उभ्याउन सफल भएको छ। 

प्रतिस्पर्धात्मक खेलमा छैटौँ मिनेटमा नै हिमालयन शेर्पाका दिवस उरावले रातो कार्ड पाएपछि हिमालयन १० खेलाडीमा सीमित बनेको थियो। सेन्टरलाइनबाट बल अघि बढाउँदै शेर्पाको डि–एरियाअघि चर्च ब्वाइजका रन्जित पान्द्रेलाई लडाएपछि हिमालयनका डिफेन्डर उरावलाई फिफा रेफ्री नवीन्द्र महर्जनले सीधै रातो कार्ड देखाएका थिए।

दश खेलाडीमा सीमित बने पनि शेर्पाले चर्च ब्वाइजलाई कडा चुनौती दिएको थियो । तर, ३५औँ मिनटमा मिलन राईले फ्रि–किकमार्फत गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाए। यस्तै, दोस्रो हाफको इन्जुरी समयमा आशिष चापागाईंले काउन्टर अट्याकमा गोल थप्दै जित सुनिश्चित गरे। 

विधागत पुरस्कारतर्फ पनि विजेता चर्च व्बाइजकै वर्चस्व रह्यो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका डिफेन्डर कमल श्रेष्ठ घोषित भए। उनले टिभिएस राइडर मोटरसाइकल प्राप्त गरे। उत्कृष्ट गोलरक्षक चर्चका युएस प्रिसो, डिफेन्डर फ्र्यांकलिन टाला, मिडफिल्डर सुवास गुरुङ र प्रशिक्षक प्रदीप हुमागाईं घोषित भए। उनीहरूले समान २०–२० हजार रुपैयाँ नगद प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ट फरवार्ड शेर्पाका सुशील राई घोषित भए । उनले पनि २० हजार प्राप्त गरे। 

सर्वाधिक गोलकर्ता भरतपुर फुटबल क्लबका सुनील श्रेष्ठ घोषित भए। उनले पनि २० हजार नगद प्राप्त गरे भने प्रतियोगिताको उदयमान खेलाडीको पुरस्कार नवजनजागृति युवा क्लब सिमराका दिलीप माझीले प्राप्त गरे। उनले नगद पन्ध्र हजार प्राप्त गरे। 

अनुशासित टिमको ट्रफी हेटौँडाको मकवानपुर ११ ले जित्यो। फाइनल खेलको म्यान अफ दी म्याच चर्च ब्वाइजका डिफेन्डर फ्र्यांकलिन टाला घोषित भए।