मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १९ आइतबार १०:३५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वित्तीय साक्षरतामा डिजिटल बैंकिङ समेट्नुपर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १९ आइतबार १०:३५:००

बैंक तथा वित्तीय संस्थाले अब वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत युवालक्षित कार्यक्रम र डिजिटल (विद्युतीय) बैंकिङ सेवा पनि समावेश गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता मार्गदर्शन, २०७९ जारी गर्दै यस्तो  व्यवस्था गरेको हो ।

लक्षित वर्ग केन्द्रित वित्तीय साक्षरता अध्ययन सामग्रीको प्रयोग सुनिश्चित गर्न र त्यसको अनुगमनका लागि आधार निर्माण गर्ने उद्देश्यले मार्गदर्शन ल्याइएको राष्ट्र बैंकले जनाएको छ । अब बैंक तथा वित्तीय संस्थाले वार्षिक कार्यक्रम तयार पारेरै वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।     

वित्तीय ज्ञानको अभाव भएका व्यक्तिलाई औपचारिक प्रणालीमा आबद्ध गराउन बैंक तथा वित्तीय संस्थाको भूमिका रहने गरी मार्गदर्शन तयार पारिएको छ ।  योजना तयार पार्दा लक्षित वर्गको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहार हेरेर कार्यक्रम चलाउनुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।

लक्षित ग्राहकको वर्गीकरणसमेत गर्नुपर्नेछ । कुनै रोजगारमा आबद्ध भएका, कृषक, साना उद्यमी, विद्यार्थी, महिला, युवा, रेमिट्यान्स पाउने व्यक्तिका लागि फरक–फरक खालको वित्तीय साक्षरता आवश्यक पर्ने भएकाले ग्राहकको वर्गीकरण आवश्यक पर्ने राष्ट्र बैंकद्वारा जारी मार्गदर्शनमा उल्लेख छ ।

कार्यक्रम सञ्चालन गर्दा दुर्गम र वित्तीय पहुँच कम भएका स्थानलाई प्राथमिकतामा राख्नुपर्नेछ । वित्तीय साक्षरतासम्बन्धी सामग्री सम्प्रेषण गर्दा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने सेवाबारे स्पष्ट पार्नुपर्ने उल्लेख छ । संस्थाले वित्तीय साक्षरतासम्बन्धी कार्ययोजना आर्थिक वर्षको पहिलो त्रैमासभित्र राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखामा पेस गर्नुपर्ने व्यवस्था छ ।