मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ चैत १६ बिहीबार २०:१६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एक करोड व्यक्तिगत लगानीमा रामसीता मन्दिर निर्माण

Read Time : > 1 मिनेट
२०७९ चैत १६ बिहीबार २०:१६:००

प्रसिद्ध धार्मिकस्थल रेसुंगाको काखमा एक समाजसेवीले एक करोड रुपैयाँभन्दा बढीको लगानीमा मन्दिर निर्माण गरेका छन् । गुल्मीदरबार गाउँपालिका– ३ का सुब्बा बस्नेतले व्यक्तिगत लगानीमा रामसीता मन्दिर निर्माण गरेका छन् । 

उनले रामनवमीको अवसरमा स्वामी विवेकानन्दमार्फत मन्दिर उद्घाटन गराए । कार्यक्रममा संघीय सांसद ज्ञानबहादुर शाही, लुम्बिनी प्रदेश सभाका उपसभामुख मेनुका खाण, डिल्लीराज भुसाललगायत उपस्थित थिए । 

रेसुंगा नगरपालिका– १३ को राम्चे डाँडामा बस्नेतले मन्दिर बनाएका हुन् । स्थानीयका अनुसार त्रेतायुगमा रेसुंगामा भगवान श्रीराम जाने वेलाका पाइला छोडेका थिए । पछि सडक निर्माणको क्रममा पाइलाहरू फुटालिएपछि आफूले सोही ठाउँमा एक करोड खर्च गरेर मन्दिर निर्माण गरेको बस्नेतले बताए । 

स्थानीयले ती पाइलाहरू रहने वेलासम्म एकदशीका दिन पूजा गर्ने गर्थे । इन्जिनियर रहेका बस्नेत आफैँले डिजाइन गरेर मन्दिर बनाएका हुन् । आकर्षक मन्दिर बनेपछि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । 

‘मन्दिरले पर्यटन विकासलाई जोड्छ । आफ्नै डिजाइन र खर्चमा मन्दिर बनाएँ,’ उनले भने, ‘स्थानीयको सहयोगमा संरक्षण गर्ने हो ।’ उनले गाउँका अरू धेरै मन्दिरहरूको संरक्षण, मर्मत, गरिब तथा विपन्न परिवारलाई संरक्षण गर्ने गरेका छन् । 

पछिल्लो समय रेसुंगा क्षेत्रमा करोडौँका धार्मिक तथा पर्यटकीय संरचनाहरू थपिएका छन् । रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले मनकारी सुब्बा बस्नेतजस्ता मान्छे समाजमा बिरलै भेटिने बताए । उनले रेसुंगा क्षेत्रको विकासका लागि देखेको सपना र गरेको कार्य निकै उदाहरणीय रहेको भन्दै प्रशंसा गरे । 

मन्दिर परिसरमा रामसीता मूर्ति, त्रेतायुगमा रामले छोडेको पाइला, क्रृषिमहर्षीसहित सम्बन्धित चित्रहरू बनाइएकोले मन्दिर अवलोकन र अध्ययन गर्नेहरूको लागि राम्रो गन्तव्य रहेको गुल्मीदरबार गाउँपालिका–३ की भगवती श्रीसले बताइन् । 

उनले खुला स्थानमा मन्दिर भएकाले संरक्षणमा स्थानीय तहहरूले सहयोग गर्नुपर्ने सुझाव दिइन् । बस्नेतले मन्दिर उद्घाटनको लागि रेसुंगा र गुल्मी दरबारका स्थानीयलाई नि:शुल्क भोजन र यातायातको सुविधा दिएका थिए ।