
सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले पर्यटकीय नगरी पोखराको प्रमुख पर्यटकीयस्थल लेकसाइडमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । लेकसाइडमा सञ्चालनमा आएको बैंकको यो दुई सय २८औँ शाखा हो भने पोखरामा सञ्चालनमा आएको आठौँ शाखा हो ।
नयाँ शाखाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए । उद्घाटनपछि प्रमुख आचार्यले सेवाग्राहीको गुनासो नआउने गरी गुणस्तरीय सेवा प्रदान गर्न बैंकलाई शुभकामना दिएका थिए । बैंकले पोखराबाट आर्जन गरेको नाफा पोखरा र फेवातालको संरक्षण र संवर्द्धनमा खर्च गर्न उनको आग्रह थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले कर्जामा कम र निक्षेपमा धेरै ब्याज दिने बैंक नेपाल बैंक रहेको दाबी गरे । हाल बैंकले विदेशबाट फर्किएकालाई उद्यमी बनाउने उद्देश्यसहित कम दरमा कर्जा दिईरहेको उनको भनाइ थियो ।
नेपाल राष्ट्र बैंकका पोखरा कार्यालय प्रमुख आर्या जोशीले अबको केही दिनमा ब्याजदर घट्ने र कर्जा लगानी खुकुलो हुने बताइन् । कार्यक्रममा बैंकको प्रादेशिक कार्यालय गण्डकी प्रमुख सचिता पराजुली, लेकसाइड शाखाकी प्रबन्धक सीता राना शाह, पोखरा ६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराईलगायतले आ–आफ्नो भनाइ राखेका थिए ।