१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार o६:o८:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

शनिबारदेखि रसुवागढी र १८ वैशाखदेखि तातोपानी नाका खुल्ने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o६:o८:oo

नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्र बैठक

बैठकपछि ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले भन्यो–दुवै पक्षबीच १८ चैतदेखि रसुवागढी–केरुङ नाकामा दुईतर्फी व्यापार र जनताको आवतजावतका लागि पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको छ । यसैगरी, तातोपानी–झाङ्मु हुँदै दुईतर्फी व्यापार र जनताको आवागमन १८ वैशाखदेखि नियमित हुनेछ ।

कोरोना महामारीका कारण तीन वर्ष ठप्प भएका प्रमुख दुई नाका खोल्न चीन सहमत भएको छ । बुधबार ल्हासामा नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको पहिलो बैठकमा तत्काल रसुवागढी–केरुङ र वैशाख तेस्रो साता तातोपानी–झाङ्मु नाकामा आवतजावत नियमित गर्ने सहमति बनेको छ । 

सहमतिअनुसार शनिबार (१८ चैत)देखि रसुवागढी–केरुङ र आगामी १८ वैशाखदेखि तातोपानी–झाङ्मु नाकाबाट सामान तथा नागरिकको आवतजावत सुरु गर्ने सहमति भएको हो । बैठकमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनका तर्फबाट तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङ्छीले प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

‘दुवै पक्षबीच १८ चैतदेखि रसुवागढी–केरुङ नाकामा दुईतर्फी व्यापार र जनताको आवतजावतका लागि पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको छ । यसैगरी, तातोपानी–झाङ्मु हुँदै दुईतर्फी व्यापार र जनताको आवागमन १८ वैशाखदेखि सुरु हुनेछ,’ संयन्त्रको बैठकपछि बुधबार ल्हासास्थित नेपाली महावाणिज्य दूतावासद्वारा जारी विज्ञप्तिमा छ । 

बैठकमा सीमापार व्यापार र जनताबीचको आवतजावतलाई अधिकतम स्तरमा सुरु गर्ने, स्थल बन्दरगाहको सहज सञ्चालन, व्यापार सहजीकरण, भन्सार सहयोग, सीमा क्षेत्रको विकास, व्यापारसँग सम्बन्धित पूर्वाधारलगायत सीमा व्यापार र सहकार्यमा सहयोगका नयाँ उपाय खोज्ने विषयमा छलफल भएको थियो । 

बैठकमा नेपालको अनुरोधमा चिनियाँ पक्षले नेपाल–चीन सीमामा बहुउपयोगी प्रयोगशाला स्थापनाका लागि सकारात्मक जवाफ दिएको छ । सचिव मरासिनीले सीमापार विशेष आर्थिक क्षेत्र निर्माण गर्न र नेचुङ–लिजी सीमा बन्दरगाहमा नेपालतिर पूर्वाधार निर्माणका लागि प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउन आग्रह गरेका छन् । चीनले यो प्रस्तावलाई स्वागत गरेको महावाणिज्य दूतावासले जनाएको छ । 

चिनियाँ पक्षले नेपाल–चीन सीमामा मौसमी सीमा व्यापार नाका खोल्ने आश्वासन दिएको छ । कोभिड– १९ को महामारीसँगै मौसमी व्यापार नाका बन्दप्रायः छन् । 

बैठकमा दुई देशबीचको घनिष्ठ आर्थिक र व्यापारिक सम्बन्धको महत्वबारे चर्चा भएको थियो । बैठकमा चीनमा नेपालबाट फलफूल, ड्राई मिट र औषधिजन्य जडीबुटी, कृषि तथा पशुजन्य उत्पादनको निर्यातलगायतका क्षेत्रमा सम्भावित सहयोगबारे छलफल भएको थियो । 

बैठकमा नेपालको उत्तरी हिमाली क्षेत्रका सीमावर्ती जिल्लाहरूका बासिन्दाको जीवनस्तरमा सुधार ल्याउन सहयोगको स्तर बढाउन नेपालले अनुरोध गरेको थियो । बैठकमा चिनियाँ पक्षले नेपालमा उत्पादन, कृषि र गार्मेन्टजस्ता क्षेत्रमा लगानी गर्न आफ्ना व्यवसायीलाई प्रोत्साहित गर्ने आश्वासन दिएको छ । 

कोभिड– १९ पछि दुवै देशले अपनाएका स्वास्थ्य प्रोटोकललाई मध्यनजर गर्दै दुवै पक्षले ‘नेपाल–चीन संयुक्त महामारी रोकथाम तथा नियन्त्रण संयन्त्र’को नाम परिवर्तन गरी ‘सीमा व्यापार तथा सहयोगसम्बन्धी नेपाल–चीन समन्वय संयन्त्र’ राख्ने सहमति गरेका छन् ।

वार्तामा नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय, ल्हासास्थित नेपालको महावाणिज्य दूतावास, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारी सहभागी थिए । त्यसैगरी, चिनियाँ प्रतिनिधिमण्डलमा तिब्बत स्वायत्त क्षेत्रको वाणिज्य विभाग, भन्सार, एक्जिट–एन्ट्री र स्वास्थ्य विभागका विदेश मामिला कार्यालयका अधिकारी सहभागी थिए । 

बुधबारै सचिव मरासिनीले तिब्बत स्वायत्त क्षेत्रको जनसरकार अध्यक्ष महामहिम यान जिङहाईसँग शिष्टाचार गरे । भेटमा नेपाल र तिब्बतका पारस्परिक हितका विषयमा छलफल भएको थियो । अध्यक्ष यानले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा ल्हासामा रात्रिभोज आयोजना गरेका थिए । 

काठमाडौं–ल्हासा उडान सुरु गर्न नेपालको प्रस्ताव, चीन सकारात्मक
नेपालले कोभिड महामारीपछि बन्द भएको काठमाडौं–ल्हासा उडान सुरु गर्न पनि चीनसँग प्रस्ताव गरेको छ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले काठमाडौं–ल्हासा सीधा उडानको आवश्यकतामा जोड दिँदै चिनियाँ पक्षलाई तत्कालै सीधा उडान सुचारु गर्न आग्रह गरेका थिए । उनको प्रस्तावलाई चिनियाँ पक्षले सकारात्मक रूपमा लिएको जवाफ दिएका थिए । 

ad
ad