मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ चैत १३ सोमबार ०८:५७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संगठनको आन्तरिक शुद्धीकरण मूल प्राथमिकता : आइजिपी कुँवर

सहकर्मी अधिकृतलाई कुनै पनि पूर्वाग्रह र स्वार्थविना मिलेर अघि बढ्न आग्रह

Read Time : > 1 मिनेट
२०७९ चैत १३ सोमबार ०८:५७:००

 नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी संगठनको आन्तरिक शुद्धीकरण आफ्नो कार्यकालको पहिलो र मूल प्राथमिकता रहेको बताएका छन् । अहिले संगठनसामु समस्याका चाङ रहेको, संगठनको दुर्बल र सबल पक्षलाई सामूहिक रूपमा पहिचान गरी त्यसका निदानका उपाय अवलम्बन गर्नुको टड्कारो आवश्यकता रहेको उनको भनाइ छ । 

आइतबार प्रहरी प्रधान कार्यालयका पदबहालीपछि निर्देशनमा दिँदै उनले नेतृत्वको एक प्रयासले मात्र समस्याको हल हुन नसक्ने र यसका लागि सामूहिक प्रयास एवं सामूहिक प्रतिबद्धता जरुरी रहेको बताए । कुँवरले प्रहरी संगठनको साख र स्वाभिमान गुम्न नदिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

‘यो संगठनको स्वाभिमान र साख गुम्न नदिन यहाँहरू सबैसँग आ–आफ्नो क्षेत्रबाट रचनात्मक क्रियाशीलताको अपेक्षा गर्दछु । संगठनको हितप्रति केन्द्रित यहाँहरूको प्रयास र योजनाका लागि ढोका सदैव खुला रहने विश्वास दिलाउन चाहन्छु,’ उनले भने, ‘क्षमता गुमेपछि आत्मविश्वास गुम्छ, आत्मविश्वास गुमाएपछि त्यो संगठनमा आबद्ध व्यक्तिहरूको स्वाभिमान गुम्छ भन्ने कुरा सबैले मनन गर्नुपर्छ ।’ 

नेपाल प्रहरी नागरिक प्रशासनको सबैभन्दा संवेदनशील संस्था भएको, संगठन सदैव जनमुखी, पारदर्शी र कानुनले निर्देशित गरेको मूल्य–मान्यताका आधारमा सञ्चालित हुनुको अर्को विकल्प नभएको उनको भनाइ थियो । गैरव्यावसायिक आचरण र व्यवहार कुनै हालतमा सह्य नहुने बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भने, ‘अपराधीलाई कानुनको दायरामा ल्याउनेलगायत जिम्मेवारी बहनको सिलसिलामा प्रहरी कर्मचारीबाट अकर्मण्यता, लापरबाही र उदासीनता भएमा त्यो कुनै पनि हालतमा क्षम्य हुने छैन ।’

साथै, सहकर्मी अधिकृतलाई कुनै पनि पूर्वाग्रह र स्वार्थविना एकै साथ मिलेर, एकढिक्का भएर सांगठनिक दूरदृष्टि बनाएर सँगै हिँड्न कुँवरले अनुरोध गरे । संगठनमा रहेका मातहत दर्जाका प्रहरी कर्मचारीको भलाइका लागि गर्न सकिने सम्पूर्ण प्रयास गर्ने र जुनसुकै प्रहरी कर्मचारीले विनाहिच्किचाहट र व्यवधानका साथ आफ्नो वास्तविकता संगठन प्रमुखसमक्ष राख्न सक्ने मैत्रीपूर्ण व्यवहार र वातावरणको सुनिश्चितता हुने उनको प्रतिबद्धता छ । शुक्रबार महानिरीक्षकमा नियुक्त भएका कुँवरले आइतबार गृहसचिव विनोदप्रकाश सिंहबाट दर्जानी चिह्न लगाएका थिए ।