१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १३ सोमबार ०८:३१:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपालको उपाधि सम्भावना समाप्त

यू–१७ महिला साफ च्याम्पियनसिपको आइतबार भएको खेलमा नेपाल रसियासँग ३–० ले पराजित भएको छ । नेपालले तीन खेलबाट तीन अंक जोडेको छ ।

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १३ सोमबार ०८:३१:००

बंगलादेशमा सञ्चालन भइरहेको यू–१७ महिला साफ च्याम्पियनसिप प्रतियोगितामा नेपालको उपाधि जित्ने सम्भावना समाप्त भएको छ । प्रतियोगिताअन्तर्गत आइतबार ढाकाको बिएसएस मुस्तफा रंगशालामा रसियासँग ३–० ले पराजित हुँदा नेपाली टोलीको उपाधि जित्ने सम्भावना समाप्त भएको हो । चालू प्रतियोगितामा सबै खेलमा रसियाले जित निकाल्दै सर्वाधिक नौ अंक जोडेको छ । तीन अंक बटुलेको नेपाल तालिकाको चौथो स्थानमा छ । 

नेपालले अन्तिम खेलमा बंगलादेशलाई पराजित गरे पनि ६ अंक बटुल्नेछ । तीन खेलबाट ६ अंक जोडेका आयोजक बंगलादेश र भारत क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । चार खेल खेलेको भुटान अंकविहीन छ । पाँच टोली सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली सीधै च्याम्पियन घोषित हुनेछ । 

प्रतियोगिताको अन्तिम राउन्ड रोबिन लिगमा रसियाले भारतलाई बराबरीमा रोक्दा पनि च्याम्पियनसिप उपाधि जित्नेछ । भारत च्याम्पियन हुन रसियालाई हराएर मात्रै हुँदैन, भारत कम्तीमा ४–० को गोलअन्तरले विजयी हुनुपर्छ । बंगलादेशको पनि उपाधि जित्ने झिनो सम्भावना रहेको छ । बंगलादेश च्याम्पियन हुन नेपालविरुद्ध कम्तीमा १०–० को जित निकाल्नुपर्छ ।

 नेपालविरुद्ध रसिया हावी 
फिफा वरीयतामा २४औँ स्थानमा रहेको रसिया नेपालविरुद्ध पूरा समय हावी भयो । नेपाली महिला खेलाडी अधिकांश समय डिबक्समै बल क्लियर गर्न व्यस्त देखिन्थे । रसियाको जितमा इलिना गोलिकले दुई तथा पोलिना फिलसिनाले थप एक गोल गर्न सफल भए । पहिलो हाफमा नेपालले रसियालाई गोलरहित बराबरीमा रोक्न सफल भयो । खेलको ६३औँ मिनेटमा इलिनाले अग्रता दिलाइन् । दोस्रो गोल इलिनाले ७५औँ मिनेटमै गरिन् । पोलिनाले ८३औँ मिनेटमा गोल गर्दै ३–० को जित दिलाइन् ।