मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
भोजराज भण्डारी काठमाडाैं
२०७९ चैत १३ सोमबार ०७:५०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

१८ सयमा ओर्लियो नेप्से लगानीकर्ताले गुमाए १८ अर्ब

Read Time : > 1 मिनेट
२०७९ चैत १३ सोमबार ०७:५०:००

नेप्से परिसूचक साढे तीन महिनाअघिकै विन्दुमा आइपुगेको छ । आइतबार नेप्से २६ दशमलव ५ अंकले घटेर १८ सय ८८ दशमलव २९ विन्दुमा आएको हो । यसअघि २५ मंसिरमा नेप्से परिसूचक एक हजार आठ सय ८५ दशमलव ३१ विन्दुमा थियो । गत बिहीबार नेप्से सूचक एक हजार नौ सय १५ दशमलव १४ विन्दुमा पुगेर थामिए पनि आइतबार आएको उत्तारचढावबीच बजार घटेर १८ सय ८८ दशमलव २९ अंकमा बन्द हुन पुगेको हो । 

बजार १९ सयको मनोवैज्ञानिक विन्दुबाट तल झरेसँगै लगानीकर्ता आत्तिएका छन् । आइतबार ३७ लाख कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब २८ करोड रुपैयाँको कारोबार भएको छ ।२५ मंसिरयता नेप्से सूचक दुई हजार दुई सय ११ दशमलव ७६ को उच्चसम्म पुगेको थियो । त्यसयता बजारमा पुनः गिरावट आइरहेको छ । एमाले–माओवादीको गठबन्धन सरकार निर्माण हँुदा राजनीतिक स्थिरताको अपेक्षामा लगानीकर्ताको मनोबल बढेर नेप्से केही बढेको थियो । तर, मुलुक पुनः राजनीतिक अस्थिरतामा जान थालेपछि लगानीकर्ता हतोत्साहित भएका हुन् ।

बजार घट्न थालेपछि लगानीकर्ताले नियामक निकायले सेयर बजारलाई उपेक्षा गरेको बताउन थालेका छन् । लगानीकर्ता तथा सेयर बजार दबाब समूहका महासचिव नयन बाँस्तोलाले सरकारले अर्थतन्त्रलाई प्राथमिकता दिएर काम गर्न नसक्दा सेयर बजारमा प्रभाव परेको बताए । उनले भने, ‘राजनीतिक अस्थिरता छ, बैंकको ब्याजदरमा सुधार आउन सकेको छैन । महँगी पनि बढेको छ, यिनै कारण सेयर बजार घट्न पुगेको हो ।’ 

निरन्तर बजार घट्दा सेयरभाउ भने निकै सस्तो भइरहेको छ । विशेष गरी लघु वित्तका अधिकांश कम्पनीहरूको अहिले एक हजारभन्दा कम मूल्यमा पुगेका छन् । अर्को लगानीकर्ता छोटेलाल रौनियारले बजार घट्नुको मुख्य दोषी वर्तमान सरकार रहेको बताए ।

अर्थतन्त्र धराशायी भइरहेको र व्यापार घाटा बढेको अवस्थामा हालसम्म अर्थतन्त्रको नेतृत्व लिने सही व्यक्ति नियुक्त हुन नसक्दा त्यसको प्रभाव पनि बजारमा देखिएको उनको आरोप छ । रौनियारले भने, ‘राजनीतिक अस्थिरतालाई कारण देखाउँदै सीमित व्यक्तिहरूले सेयर किनिरहेका छन् भने अधिकांश लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा देखिएका छन् । राजनीतिक रूपमा नयाँ अर्थमन्त्रीले पुँजीबारे लिने धारणाले अबको बजारलाई निर्धारण गर्नेछ ।’   

लगानीकर्ताले गुमाए १८ अर्ब 
चार महिनाको बीचमा सेयर लगानीकर्ताले १८ अर्ब १९ करोड रुपैयाँ गुमाएका छन् । सेयर बजारमा आएको गिरावटसँगै लगानीकर्ताले आफ्नो हिस्सा गुमाएका हुन् । साढे तीन महिनाअघि २५ मंसिरमा बजार पुँजीकरण २७ खर्ब १४ अर्ब ९६ करोड रुपैयाँ रहेकोमा  आइतबारसम्म आइपुग्दा बजार पुँजीकरण २७ खर्ब ३३ अर्ब १६ करोड ४८ लाख रुपैयाँमा आइपुगेको छ ।

 सांसदको प्रश्न : लगानीकर्ताले १४ खर्ब गुमाइसके, थप कति गुमाउनुपर्ने हो ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले प्रतिनिधिसभा बैठकमा सेयर बजारबारे प्रश्न उठाएका छन् । सेयर बजार निरन्तर घट्दा सरकार गम्भीर नभएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद ढकालले शून्य समयमा बोल्दै लगानीकर्ताले १४ खर्ब रुपैयाँ गुमाइसकेको बताउँदै अब कति रकम गुमाएपछि सरकारको ध्यान जाने हो ? भन्दै प्रश्न गरेका हुन् । सांसद ढकालले भने, ‘लागातर १९ महिनादेखि ओरालो लागेको सेयर बजारमा लगानीकर्ताले १४ खर्ब लगानी गुमाइसकेका छन् । अब कति खर्ब गुमाएपछि सरकारले ध्यान पुर्‍याउने हो, लगानीकर्ताले अब कति लगानी गुमाउनुपर्ने हो ?’