मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण १७ बिहीबार
  • Thursday, 29 February, 2024
सुहास पाल्सिकर
२०७९ चैत १२ आइतबार ०८:३१:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

भाजपाले किन रुचाउँदैन राहुल गान्धीलाई ?

देश/विदेश

Read Time : > 2 मिनेट
सुहास पाल्सिकर
२०७९ चैत १२ आइतबार ०८:३१:००

राहुल गान्धी अहिले सत्ताको विचार र राज्यशक्तिको नांगो प्रयोगलाई ललकार्दै छन्, जसले भाजपालाई परिबन्दमा पारेको छ

राहुल गान्धी राजनीतिक समाचार र बहसको केन्द्रमा छाइरहेका छन् । नकारात्मक टिप्पणीको लामो शृंखलापछि ‘पप्पु’ (राहुल गान्धीलाई खिसिट्युरीका लागि प्रयोग गरिने संज्ञा) को साटो राहुल गान्धी बहसका विषय बनेका छन् । ‘भारत जोडो’ यात्रा र भारतीय सत्ता एवं सत्ताधारीले बोक्ने विचारधारामाथिको अथक आलोचनाले पनि गान्धीलाई राजनीतिको केन्द्रमा ल्याइपुर्‍याएको छ । त्यसैगरी, मिडियाको तिरस्कारयुक्त कोकोहोलोका बाबजुद ‘वजुद’ जोगाउनमा उनको आकर्षक व्यक्तित्व मात्रै नभई, भारतीय जनता पार्टी (भाजपा) का नेताको अपमानजनक हमला र सामाजिक सञ्जालमा तथाकथित शिक्षित मध्यमवर्गको विद्वेषी अभियानको पनि ठूलो हात छ । 

हालैको बेलायत भ्रमणमा गान्धीले खस्किँदो भारतीय लोकतन्त्रबारे गरेको भाषण र संवादलाई लिएर भाजपाले गान्धीलाई विवादित बनाउने प्रयास गर्‍यो । यसो गर्नुका पछाडि भाजपाले आफू कमजोर रहेको अडानी मामिलामा हुने टीकाटिप्पणीलाई विषयान्तर गर्नु रहेको थियो । तर, भाजपाको प्रयासले प्रतिकूल परिस्थिति जन्मायो अर्थात् राहुल आमजनतामाझ थप छाए र आफू पीडित भएको भाव व्यक्त गर्न र बेलायतमा अभिव्यक्त विषयलाई दोहोर्‍याउन पाए । यो घटना यसअगाडिका घटनाको पुनरावृत्ति हो, जब गान्धीको भाषणको अंशलाई राष्ट्रपतिको सम्बोधनका दिन भाजपाले हटाएको थियो । र, अहिले सुरतको अदालतले मानहानिको मुद्दामा दोषी ठहर्‍याउनु र सांसदका लागि अयोग्य बनाइनुले फेरि गान्धीविरोधी र समर्थकमाझ चर्चामा छन् । 

प्रश्न अब राहुल गान्धीको राजनीतिक यात्राले कुन गति लेला भन्दा पनि भाजपाले राहुल गान्धीलाई किन तारो बनाउँछ भन्ने हो । तारो बनाउनुका पछाडि भाजपाले यहाँनेर तीन रणनीतिक लाभ देखेको छ । पहिलो, गान्धी कांग्रेस पार्टीका वास्तविक ‘छवि’ हुन् र उनको चरित्रहत्याले आमकांग्रेसी कार्यकर्ताको मनोबल गिर्छ । दोस्रो, चरित्रहत्याले गैरभाजपा मतदातालाई तपाईंको सम्भावित विकल्पमा आउने नेता र पार्टी पतित भइसकेको छ र त्यहाँबाट राजनीतिक आशा नराख्दा हुन्छ भनेर देखाउन मिल्छ । तेस्रो, राहुलको खिसिट्युरी गर्दा विपक्षी दलमाझ फुट आउन सक्ने सम्भावना हुन्छ (किनभने राहुलको जति धेरै चरित्रहत्या हुन्छ, कंग्रेसले त्यति नै राहुललाई मोदीविरुद्धको नेताका रूपमा उभ्याउन खोज्नेछ) । यी त भए रणनीतिक चाल, तर भाजपाले गान्धीलाई घृणा गर्नुका पछाडि दुई अन्तरसम्बन्धित ठोस वैचारिक कारण छन् । यो घृणा राहुल एक व्यक्तिलाई लिएर नभई एक शताब्दी पुरानो हिन्दुत्व परियोजनासँग जोडिन आइपुग्छ । 

राहुलले भारतीय समाज र त्यहाँ मौजुदा समस्याबारे विवेकयुक्त बुझाइ राख्छन् र यसलाई भारत जोडो यात्राले थप परिपक्व बनाएको छ । उनीसँग भारतीय समाजका समस्या समाधानका लागि ठोस योजना छन् वा छैनन् भन्ने विषय गौण हो । उनले गत एक दशकदेखि प्रोपगान्डाको हमलाबाट छायामा परेको भारतको सामूहिक विवेकलाई उजागर गर्ने प्रयास गरेका छन् । यो मुलुकका नागरिक यहाँको सत्ताबाट अनिर्णयका बन्दी र दिशाहीन बनेका छन् । गान्धीको यात्रा यो बन्धक बनेको विवेकलाई खलबल्याउने प्रयोग थियो, जहाँ सत्ताले फैलाएको अँध्यारोलाई इंगित गर्ने प्रयास गरिएको थियो । यो यात्राले कुनै विशाल सफलता ल्याएन, तर अँध्यारोले प्रकाशको क्षीण सम्भावनालाई पनि मन पराउँदैन र सहँदैन । तसर्थ, यसले सत्तारुढ पार्टी र यसका समर्थकलाई क्रुद्ध बनाएको थियो । राहुल नेतृत्वको यात्राले सामूहिक विवेक जाग्न सक्ने सम्भावना व्यक्त गरेको थियो ।  

यो त भयो पहिलो र तात्कालिक ठोस कारण । यो कारणले भाजपाको गान्धीप्रतिको शत्रुतापूर्ण आसक्तिलाई पूर्ण रूपले व्याख्या गर्दैन । दोस्रो कारण सामूहिक विवेकसँग जोडिए पनि यो राहुल वा सोनिया गान्धीमा सीमित रहँदैन । दोस्रो कारण राष्ट्र–राज्य भारतको आधार रहेको विविधता र लोकतन्त्रसँग जोडिन आउँछ । भाजपाको वैचारिक वृत्तका लागि गान्धी र नेहरू, गान्धी र अम्बेडकर, नेहरू र पटेललगायत व्यक्तित्वबीचको भिन्नतालाई बढाइ–चढाइ गर्नैपर्ने हुन्छ । यो वृत्तले उल्लिखित भारतीय राष्ट्र–राज्यका निर्माताले संविधानले निर्दिष्ट साझा आदर्शलाई मान्छन् भन्ने तथ्यलाई उपेक्षा गर्छन् । यस आदर्शले भारतमा निर्मित भारतीय सभ्यताको आधुनिक संस्करणलाई मलजल गर्छ । २०औँ शताब्दीको मध्यमा भारतले गौरवान्वित महसुस गर्ने विविधता पश्चिमबाट ल्याइएको थिएन र यो भारतकै इतिहास एवं अभ्यासको गर्भबाट जन्मेको थियो । त्यसवेला अपनाइएको भारतीय लोकतन्त्रले राजनीतिक समानताका आधुनिक सिद्धान्त र फरक मतलाई व्यवस्थापन गर्ने भारतको आफ्नै अभ्यासलाई कुशलतापूर्वक संयोजन गरेको थियो ।   

सय वर्षयता उल्लिखित संविधानमा आधारित साझा आदर्शको आधुनिक भारततर्फ जाने बाटो र भारतीय आदर्शको विविधता हरण गरेर र एकल जाति वा सम्प्रदायको आधिपत्य हुने गैरभारत बनाउने चेष्टाबीच युद्ध चलिरहेको छ । र, अहिलेको सत्ता गैरभारतीय भारत निर्माणमा उद्यत् छन् भने साझा आदर्शको भारततर्फ जाने मार्गको अभिभारा गान्धी र कांग्रेसको काँधमा आइपरेको छ । यसै कारणले भाजपा वृत्तमा साझा आदर्शको आधुनिक भारतको काल्पनिकी बोक्ने र रक्षा गर्ने नेहरूप्रति उत्कट घृणा देख्न सकिन्छ । 

पछिल्ला १० वर्षमा सत्तामा रहँदा भाजपाले साझा आदर्शको आधुनिक भारतलाई आमजनको मानसपटलबाट हटाउन हरसम्भव प्रयास गरेको छ । आमजनको मानसपटल परिवर्तन शक्तिशाली वैचारिक विपक्षी रहुन्जेल र राज्यशक्तिको चरम प्रयोग नहुन्जेल सम्भव देखिन्न । अहिले राहुल सत्ताको विचार र राज्यशक्तिको नांगो प्रयोगलाई ललकार्दै छन् । यसले भाजपालाई परिबन्दमा पारेको छ अर्थात् राहुल गान्धीलाई अनदेखा गर्ने हो भने उनले वैचारिक युद्ध लड्ने ठाउँ पाउँछन् र आक्रमण गर्दा भारतको सामूहिक विवेक उद्वेलित हुने सम्भावना देखिन्छ । राहुल गान्धीलाई आक्रमण गर्नुस् वा नगर्नुस् ‘पप्पुले केन्द्रमा पाइला टेकिसके’ । 

(पाल्सिकर वरिष्ठ राजनीतिशास्त्री हुन्) 
द इन्डियन एक्सप्रेसबाट