Skip This
तिलोत्तमा गोल्डकप उपाधि मनाङलाई 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
२o८१ बैशाख २९ शनिबार o६:४१:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

तिलोत्तमा गोल्डकप उपाधि मनाङलाई 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o६:४१:oo

बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा मनाङले सडनडेथमा सुदूरपश्चिम ११ लाई हरायो । ०३३ सालदेखि सुरु भएको तिलोत्तमा गोल्डकपको उपाधि मनाङले पहिलोपटक जितेको हो ।

मनाङ मर्स्याङ्दी क्लबले २२औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा सुदूरपश्चिम ११ लाई सडनडेथमा हराउँदै मनाङ च्याम्पियन भएको हो । ०३३ सालदेखि सुरु भएको तिलोत्तमा गोल्डकपको उपाधि मनाङले पहिलोपटक जितेको हो ।

काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिगका सुरुआती पाँच खेल खेलेपछि विश्रामको समयमा मोफसलमा प्रतियोगिता खेल्न पुगेको मनाङले पहिलो सहभागितामै उपाधि जित्न सफल भयो । यस सिजन मनाङको दोस्रो उपाधि हो । मनाङले यसअघि मकवानपुर गोल्डकपको उपाधि जितेको थियो । उपाधि जितेसँगै मनाङले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद प्राप्त गरेको छ । उपविजेता सुदूरपश्चिमले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँमा चित्त बुझायो । खेलको निर्धारित समय १–१ गोलको बराबरी र पेनाल्टी सुटआउटसमेत बराबर भएपछि खेलको छिनोफानो सडनडेथमा भएको थियो । 

खेलको ५८औँ मिनेटमा मनाङले विदेशी खेलाडी कोफी टिमोथेको गोलमा अग्रता बनाएको थियो । एक गोलले पछि परेको सुदूरपश्चिम ११ का लागि ७०औँ मिनेटमा फागुराम थारूले बराबरी गोल गरे । बाँकी समयमा कुनै गोल नभएपछि खेल सीधै पेनाल्टीमा पुगेको थियो । पेनाल्टी सुटआउटसमेत ४–४ को बराबरीमा टुंगियो । यसपछि खेल सडन डेथमा पुग्यो । मनाङ ९–८ ले विजयी भयो । सडन डेथमा सुदूरपश्चिमका दीपेन्द्र मलासीको प्रहार पोस्टबाहिर जाँदा मनाङले उपाधि चुमेको हो ।

पुलिस क्वार्टरफाइनलमा
धनगढी-
 विदेशी टोली जर्जियनलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लबले छैटौँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ । पुलिसले सेमिफाइनल प्रवेशका लागि चैत १४ गते आयोजक सुदूरपश्चिम–११ सँग प्रतिस्पर्धा गर्नेछ । शनिबार पुलिसले दार्जिलिङको जर्जियन एफसीलाई पेनाल्टी सुटआउटमा ३–० ले हरायो । 

धनगढी रंगशालामा निर्धारित समय १–१ गोलको बराबरी भएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । पुलिसका मनोज राईले आत्मघाती गोल गरेपछि विदेशी टोली जर्जियनले आठौँ मिनेटमा अग्रता लिएको थियो । अनुभवी खेलाडी भोलानाथ सिलवालले ४२औँ मिनेटमा गोल गरेपछि खेल १–१ मा अगाडि बढ्यो । पेनाल्टीमा पुलिसका भोला, पृथ्वी चौधरी र सुमन सुवेदी सफल भए । विदेशी टोली जर्जियनका प्रवेश रोय, प्रणय मुखिया र सोनम लेप्चाको प्रहार असफल भयो ।  

एपिएफ सेमिफाइनलमा
विराटनगर- 
विराटनगरमा जारी विराट गोल्डकपको सातौँ संस्करणमा एपिएफ क्लब सेमिफाइनलमा पुगेको छ । शनिबारको खेलमा एपिएफले भुटानको ड्रुक लयोग एएफसी क्लबलाई २–१ ले हराएको हो । 

खेलको तेस्रो मिनेटमा एपिएफका सविन थापाले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । सविन थापाले ३० यार्डदेखि निकालिदिएको पास युवराज खड्काले हेडमार्फत गोलमा परिणत गरेका थिए । सुरुआतमै गोल खाएपछि आक्रामक रूपले प्रस्तुत भएको भुटानका लागि फोडे फोफाना पहिलो हाफको ३३औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । 

ड्रुकविरुद्ध एपिएफले लगातार आक्रमण गरे पनि ड्रुकका गोलरक्षक हरि गुरुङले त्यसलाई जोगाएका थिए । खेलको इन्जुरी समयमा एपिएफले पेनाल्टी प्रहारको मौका पाएको थियो । एफिएफका अरमान बेजोङले गोल गरेर आफ्नो टिमलाई जित दिलाएका थिए । अरमान नै खेलको म्यान अफ दी म्याच घोषित भए । 

जितपछि प्रतिक्रिया दिँदै सशस्त्र प्रहरीका प्रशिक्षक रतनराज महर्जनले खेलाडीको मिहिनेतका कारण पाहुना टिमलाई हराउन सफल भएको बताए । ‘जित संघर्षपूर्ण रह्यो,’ उनले भने, ‘आएको अवसर निर्धारित समयमै सदुपयोग गर्न नसक्दा अतिरिक्त समय कुर्नुपर्‍यो । आज खेलाडीले निकै मिहिनेत गरे ।’

यता, भुटानका प्रशिक्षक डिर्जेले नयाँ खेलाडी र नयाँ ठाउँ भएको कारणले पाएको अवसर सदुपयोग गर्न नसकिएको बताए । ‘नयाँ खेलाडी र नयाँ ठाउँ भएकाले सोचेजस्तो खेल्न सकिएन । प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा हार्नुपर्‍यो,’ उनले भने ।  आइतबारको खेल नेपालको संकटा फुटबल क्लब र भारतको लुका फुटबल क्लबबीच हुनेछ । 

थ्री नेसन्स कपमा लाओस विजयी
प्रधानमन्त्री थ्री नेसन्स कपमा लाओसले भुटानलाई २–१ ले पराजित गरेको छ । पहिलो खेलमा नेपालसँग २–० ले पराजित भएको लाओसले भुटानविरुद्धको जितसँगै फाइनल पुग्ने सम्भावना कायम राख्यो । हारका बाबजुद भुटानको पनि फाइनल पुग्ने सम्भावना कायम छ । फाइनल पुग्ने टोलीको टुंगो समूह चरणको अन्तिम खेलबाट लाग्ने भएको छ । समूह चरणको अन्तिम खेलमा नेपाल र भुटानबीच मंगलबार प्रतिस्पर्धा हुँदै छ । 

जारी प्रतियोगितामा एक खेल खेलेको नेपालको तीन अंक छ । दुई खेलबाट तीन अंक जोडेको लाओस दोस्रो स्थानमा छ । पहिलो खेलमा पराजित भुटान विनाअंक पुछारमा छ । मंगलबारको खेलमा नेपाल विजयी भएमा वा बराबरी खेलेमा स्वतः फाइनल पुग्नेछ । भुटानसँग २–० को हार व्यहोर्दा पनि नेपाल फाइनल पुग्नेछ । तर, तीन गोलअन्तरको हार व्यहोरेमा ‘फेयर प्ले’ का आधारमा नेपाल र लाओसमध्ये एक टोली फाइनल पुग्नेछन् । हार वा बराबरी दुवैले भुटान प्रतियोगिताबाट बाहिरिनेछ भने लाओस समूहको उपविजेताका रूपमा फाइनल पुग्नेछ ।  यदि भुटान विजयी भएमा सबै टोलीको तीन अंक हुनेछ र ‘हेड टु हेड’मा समेत सबै टोली बराबरी अवस्थामा हुनेछन् । यस्तो परिस्थितिमा गोलअन्तरका आधारमा फाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ । त्यसैले फाइनल पुग्नका लागि भुटानले नेपालविरुद्ध कम्तीमा दुई गोलअन्तरको जित निकाल्नुपर्नेछ । फाइनल खेल १७ चैतमा हुनेछ । 

बोन्पाचानको दुई गोल 
पहिलो खेलमा पराजित लाओसलाई पुनरागमन गराउन बोन्पाचन बोन्कोङले दुई गोल गरे । दशरथ रंगशालामा भुटानविरुद्ध लाओसले बलियो पकड बनाएको थियो । यद्यपि, पहिलो हाफको खेल १–१ को बराबरीमा समाप्त भयो । खेलको तेस्रो मिनेटमै बोन्पाचानले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए । भुटानका रक्षक र गोलकिपरलाई बिट गर्दै बोन्पाचानले बक्सभित्रबाट सहज गोल गरेका थिए । यसपछि दबाबमा आएको भुटानले ३४औँ मिनेटमा बराबरी गोल गर्‍यो । भुटानका कप्तान चेन्चो ग्याल्त्सेनले लाओसका दुई रक्षक र गोलकिपरलाई बिट गर्दै गोल फर्काएका थिए । खेलको ७१औँ मिनेटमा बोन्पाचानले व्यक्तिगत दोस्रो गोल गरे । 

ad
ad