Skip This
जंगली जनावरबाट हुने नोक्सानी पनि कृषि बिमाको दायरामा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ११ शनिबार
  • Friday, 26 July, 2024
२o७९ चैत ११ शनिबार ११:o१:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जंगली जनावरबाट हुने नोक्सानी पनि कृषि बिमाको दायरामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ११ शनिबार ११:o१:oo

अब कुनै कृषि व्यवसायमा बाँदर, हात्तीजस्ता जंगली जनावरबाट हुने नोक्सानीलाई कृषि बिमाले रक्षावरण गर्ने भएको छ । पहिला यस मामिलामा स्पष्ट व्यवस्था थिएन । अब भने जंगली जनावरबाट हुने क्षतिलाई कृषि बिमाले अनिवार्य रूपमा रक्षावरण गर्नुपर्ने गरी नेपाल बिमा प्राधिकरणले नयाँ व्यवस्था गरेको हो । 

बाँदर, हात्तीजस्ता विभिन्न जंगली जनावरले विभिन्न खेती खाएर, कुल्चिएर, माडेर, खोस्रेर नोक्सानी गर्दै आएका छन् । तर, त्यसबापतको बिमा दाबी भुक्तानी दिने विषयमा भने स्पष्ट व्यवस्था नहुँदा किसानहरू मर्कामा पर्दै आएका थिए । सोही अवस्थालाई  दृष्टिगत गर्दै जंगली जनावरबाट हुने नोक्सानीलाई कृषि बिमाले कभर गर्ने गरी नयाँ व्यवस्था गरेको प्राधिकरणकी उपनिर्देशक पुनम ज्ञवाली श्रेष्ठले बताइन् ।

पुनम ज्ञवाली श्रेष्ठ, उपनिर्देशक, नेपाल बिमा प्राधिकरण
पहिला खाद्यान्न बालीमा धानको मात्रै बिमा गर्न पाउने सुविधा थियो, अब उत्पादनका आधारमा पाँच खाद्य बालीको बिमा गर्न सकिनेछ । आमकिसानले सामूहिक रूपमा पनि यस्तो बिमा गर्न सक्नेछन् ।

प्राधिकरणले हालै जारी गरेको खाद्यान्न बाली बिमालेखमा जंगली जनावरबाट हुने क्षतिलाई बिमाले रक्षावरण गर्ने नीति ल्याएको छ, जुन नीति सबै प्रकारका कृषि बिमालेखमा लागू हुने उनको भनाइ छ । ‘जंगली जनावरबाट पनि विभिन्न खेतीपातीमा ठूलो मात्रामा नोक्सानी हुँदै आएको छ । तर, त्यसलाई कृषि बिमाले कभर गर्ने कि नगर्ने भनेर स्पष्ट व्यवस्था थिएन । फलस्वरूप कपितय किसानले यस्तो घटनामा भुक्तानी पनि पाउन सकेका थिएन,’ उनले भने, ‘त्यसपछि यस्तो व्यवस्था गरेका हौँ । अब यसरी हुने नोक्सानीमा किसानले बिमा दाबी पाउनेछन् ।’

अब पाँच खाद्यान्न बालीको बिमा
अब खाद्यान्न बाली धान, मकै, गहुँ, जौ र कोदोखेतीको पनि बिमा गर्न पाइने भएको छ । प्राधिकरणले खाद्यान्न बाली बिमालेख जारी गरेपछि उक्त बालीहरूको बिमा गर्न मिल्ने भएको हो । पहिला लागतका आधारमा धानको मात्रै बिमा गर्न सकिने व्यवस्था थियो । अब भने उत्पादनका आधारमा धानसहित मकै, गहुँ, जौ र कोदोको पनि बिमा गर्न मिल्ने भएको छ । 

‘पहिला खाद्यान्न बालीमा धानको मात्रै बिमा गर्न पाउने सुविधा थियो, त्यो पनि लागतका आधारमा मात्रै गर्न सकिन्थ्यो,’ कृषि बिमा विभागका प्रमुखसमेत रहेकी श्रेष्ठले भनिन्, ‘अब उत्पादनका आधारमा पाँच खाद्य बालीको बिमा गर्न सकिनेछ । आमकिसानले सामूहिक रूपमा पनि यस्तो बिमा गर्न सक्नेछन् ।’

बिमालेखअनुसार आगलागी, हुरीबतास, आँधीबेहरी, बैमौसमी वर्षा, असिना, हिउँ, बाढी, खडेरी, तुसारो, चट्याङ, रोग तथा भूकम्पका कारण हुने क्षतिलाई यस बिमाले कभर गर्नेछ । साथै, आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षतिलाई पनि यस बिमाले रक्षावरण गर्ने व्यवस्था गरिएको छ । यसैगरी, जंगली जनावरहरूको आक्रमणबाट हुने क्षतिलाई पनि यस बिमाले रक्षावरण गर्नेछ ।

यद्यपि, चोरीबाट हुने नोक्सानी तथा किसानको लापारबाहीले हुने क्षतिलाई भने बिमाले रक्षावरण नगर्ने बताइएको छ । साथै, विकिरणयुक्त पदार्थबाट हुने क्षति, विनाशकारी हतिहारको प्रयोगबाट हुने क्षतिलाई यस बिमाले जोखिम वहन गर्नेछैन । यसैगरी, सैनिक विद्रोह, शक्ति अपहरण, गृहयुद्ध, सैन्य कारबाही, घेराबन्दी वा युुद्धबाट हुने क्षतिलाई पनि यसले रक्षावरण नगर्ने बताएको छ । 

खाद्यान्न बालीको किसिम, जात, बाली लगाइएको क्षेत्रफल, जिल्लाको उत्पादकत्व, समर्थन मूल्यका आधारमा बिमाको बिमांक निर्धारण गरिनेछ । यसमा धान, मकै र गहुँ बाली बिमाको शुल्क बिमांकको ५ प्रतिशतका दरले तिर्नुपर्नेछ ।