मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रमेश अधिकारी
२०७९ चैत १० शुक्रबार १०:२६:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

विदेशी मुद्रा आर्जनको भरपर्दो स्रोत बन्न सक्छ पस्मिना

ग्रामीण तथा दुर्गम क्षेत्रका महिला तथा युवालाई रोजगारी सिर्जना र गरिबी न्यूनीकरणमा योगदान दिन सक्ने क्षेत्र हो, पस्मिना उद्योग

Read Time : > 4 मिनेट
रमेश अधिकारी
२०७९ चैत १० शुक्रबार १०:२६:००

सन् १९९० को दशकमा नेपालबाट पस्मिना निर्यात सुरु भएको थियो । बेलायतकी तत्कालीन महारानी एलिजाबेथले नेपाली पस्मिनाको पहिरन लगाएपछि यसको व्यावसायिक सुरुवात भएको मानिन्छ । बेलायती महारानीले लगाएपछि नेपाली पस्मिना विश्वमै चर्चाको शिखरतर्फ लम्कियो । विश्व बजारमा नेपाली पस्मिनाको राम्रो ब्रान्डिङ भएको त्यही वेला हो ।एक समय नेपालबाट निर्यात हुने प्रमुख वस्तुमध्येमा पस्मिना हुन्थ्यो ।

सन् २००० मा वार्षिक १० अर्ब रुपैयाँसम्मको पस्मिना निर्यात भएको थियो । २००४ सम्म पस्मिनाको व्यापार निकै फस्टायो । तर, अन्तर्राष्ट्रिय बजारमा पस्मिनाको व्यापार चुलिँदै गर्दा देशमा राजनीतिक अस्थिरता र माओवादीको सशस्त्र द्वन्द्व उत्कर्षतर्फ लाग्यो । सन् २००४ मा नेपाल विश्व व्यापार संगठन (डब्लुटिओ)को सदस्य बन्यो । त्यसपछि अमेरिकालगायत देशले दिएको ‘ड्युटी फ्री, कोटा फ्री’ हटाउँदै गए ।

अमेरिकालगायत देशले दिँदै आएको सुविधा कटौती भएपछि पस्मिना निर्यात ओरालो लाग्न थाल्यो । त्यसयता पस्मिनाको निर्यात कहिल्यै पुरानो लयमा फर्किन सकेन । २०–२२ वर्षअघि पस्मिना वार्षिक १० अर्ब रुपैयाँबराबरको निर्यात हुने गरेकोमा पछिल्लो वर्षमा घटेर वार्षिक दुई–अढाई अर्ब रुपैयाँमा सीमित भएको छ ।

नेपालमा वार्षिक ५० लाख पिस पस्मिना उत्पादन क्षमता भए पनि अहिले २० देखि २५ लाख पिस मात्रै पस्मिना उत्पादन भइरहेको छ । पस्मिना उद्योग फस्टाउँदा रोजगारी सिर्जनामा ठूलो भूमिका खेल्छ । पस्मिना निर्यात बढाउन सके वैदेशिक मुद्रा भित्र्याउन सकिन्छ । जब कि अहिले नेपालको अर्थतन्त्रमा वैदेशिक मुद्रा सञ्चिति पर्याप्तता घट्नु मुख्य समस्या बनिरहेको छ । आयातमै रोक लगाउनुपर्ने अवस्था सिर्जना भयो । अब हामी फेरि पस्मिनाको गुमेको अन्तर्राष्ट्रिय बजार फर्काउन केन्द्रित हुनुपर्छ । पस्मिना देशमा विदेशी मुद्रा भित्र्याउन सक्ने प्रमुख उत्पादनमध्येको एक हो ।

च्याङ्ग्रा पस्मिना अन्तर्राष्ट्रियस्तरमा परिचित उच्च गुणस्तरको क्यासमेर र विश्वमा सबैभन्दा बढी मन पराइएको रेसाबाट निर्मित वस्तु हो । पस्मिनाको स्रोत नेपालको उच्च हिमाली भेगमा पाइने रैथाने च्याङ्ग्रा हुन् । कच्चा पदार्थ नै स्वदेशमै उत्पादन गर्न सकिने हुँदा पस्मिनामा तुलनात्मक लाभ पनि अत्यन्तै धेरै रहेको छ ।

नेपाल व्यापार एकीकृत रणनीति, २०७३ र वाणिज्य नीति, २०७२ ले च्याङ्ग्रा पस्मिनालाई प्राथमिकताप्राप्त निर्यात सम्भावना भएको वस्तुको रूपमा पहिचान गरेको छ । विशेषगरी, ग्रामीण तथा दुर्गम क्षेत्रका महिला तथा युवाका लागि निर्यात प्रवद्र्धन, रोजगारी सिर्जना र गरिबी न्यूनीकरणमा उच्च योगदान दिन सक्ने तुलनात्मक लाभ भएको क्षेत्र हो, यो ।

नेपाली पस्मिना उत्पादनमा पछ्यौरा, पन्जा, दोसल्ला, गलबन्दी, कम्बल र पूरा बाहुला भएका स्वेटरहरू हुन् । यिनीहरू विशेष खालको तान र मौलिक प्रविधि प्रयोग गरी परम्परागत रूपमा हातले बुनेका वस्तु हुन् । पस्मिनाको मूल्य र आकर्षण बढाउन बुट्टा भर्ने, रंगाउने, छाप्ने तथा गेडीहरू जडान गर्ने गरिन्छ । नेपालले पस्मिनाको कच्चा धागो थोरै मात्र उत्पादन गरे पनि पस्मिनाजन्य वस्तुको उत्पादनमा भने लामो अनुभव छ । नेपालका प्रमुख उत्पादकहरूले पस्मिना उत्पादन गर्न अन्य देश खासगरी चीनबाट पस्मिना धागो आयात गर्दै आइरहेका छन् ।

नेपालमा वार्षिक ५० लाख पिस पस्मिना उत्पादन क्षमता भए पनि अहिले २० देखि २५ लाख पिस मात्रै उत्पादन भइरहेको छ । यो उद्योग फस्टाउँदा रोजगारी सिर्जना गर्न र निर्यात बढाउन सके विदेशी मुद्रा भित्र्याउन सकिन्छ ।
 

पछिल्ला वर्षहरूमा उत्पादन प्रक्रियामा पनि उल्लेख्य सुधार भएको छ । यसमा पनि विशेष गरी निजी क्षेत्रका उद्यमीले पस्मिना बुनाइको आधुनिकीकरण र नयाँ बुनाइ विधिको विकासमा लगानी गरिरहेका छन् । हालका वर्षहरूमा बुनाइमा आधारित वस्तुको उत्पादन र निर्यात दुवै बढ्दै गइरहेको छ । नेपालको सबै प्रकारका बुनिएका च्याङ्ग्रा पस्मिना उत्पादन क्षमता वार्षिक करिब ५० लाख थान रहेको छ ।

नेपालमा हिमाली जिल्ला मुस्ताङ, मुगु, जुम्ला, डोल्पा, मनाङलगायतमा व्यावसायिक रूपमा च्याङ्ग्रापालन हुने गरेको छ । कृषकलाई तालिमको अभावका कारण ती च्याङ्ग्राबाट गुणस्तरीय ऊन उत्पादन हुन सकेको छैन । पस्मिनाबाट पछ्यौरा, पन्जा, दोसल्ला, गलबन्दी, कम्बल र स्वेटर उत्पादन गरिँदै आएको छ ।

नेपालले सन् २०२१ मा २ अर्ब ५३ करोड रुपैयाँ (करिब १ करोड ९३ लाख अमेरिकी डलर) बराबरको पस्मिना सल निर्यात गरेको थियो । सन् २०२६ सम्म पस्मिनाको निर्यात ७ करोड ५० लाख अमेरिकी डलर पुर्‍याउने लक्ष्यसहित ‘पस्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति’ सार्वजनिक गरिएको छ ।

४७ देशमा पस्मिना निर्यात :  विश्वका ४७ मुलुकमा नेपाली पस्मिना निर्यात हुने गरेको छ । पस्मिना उद्योगले २० हजारभन्दा बढीलाई रोजगारी दिएको र त्यसमध्ये ५० प्रतिशत महिला रहेका छन् । सरकारले सार्वजनिक–निजी साझेदारीको अवधारणाअनुसार रणनीति अघि बढाउन सकेमा पस्मिनाको बजार पुनः फर्कन सक्ने देखिन्छ । नेपालमा अहिलेसम्म पस्मिनाको मुख्य कच्चा पदार्थ अर्थात् ऊन विदेशबाट आयात हुँदै आएको छ । सरकारको अहिलेको रणनीतिले नेपालमा नै च्याङ्ग्रापालन गरेर ऊन प्रशोधन गर्न सकिने सम्भावना छन् ।

पस्मिना उत्पादनका लागि उद्यमीले कच्चा पदार्थका रूपमा ‘पस्मिना यार्न, सिल्क यार्न, रसायन चीन, भारत र युरोपबाट आयात गर्दै आएका छन् । नेपालको पस्मिना अमेरिका, जापान तथा युरोपमा लोकप्रिय छ । नेपालमा पस्मिनाबाट सल, महिला तथा पुरुषका लागि स्वेटर, कम्बल, टी–सर्ट, स्कार्फ, पन्जालगायत उत्पादन हुन्छ । 

नेपाली पस्मिना लोकप्रिय हुनुका आधार :  नेपाली पस्मिना संसारमा लोकप्रिय हुनुका केही प्रमुख आधारहरू छन् । नेपालीले पस्मिना बनाएरै आफ्नो परिवार पालिरहेका छन् । अर्थात्, यहाँ जीविकोपार्जनको स्रोतको रूपमा पस्मिना उद्योग रहेको छ । यस्तो उद्योगमा महिलाको सहभागितासमेत बढी हुने गरेको छ । खासगरी, नेपाली पस्मिना उद्योगले महिलालाई बढी अवसर प्रदान गरेको छ । 

अहिले पस्मिना उद्योग चलाउन समस्या भयो भन्ने छ, तर नेपाली उद्योग संकटमा परेको कारणले दक्ष जनशक्ति बाहिरिनुपरेको छ । नेपालमै बसेर कमाइ हुने भए पनि वेलाबखत राजनीतिक कारण अस्थिरता बढेकाले यहाँ उद्योगहरू समस्यामा पर्ने गरेका छन् । आफ्नो देशको श्रमिकलाई विदेश पठाउने सरकारको नीतिमै खोट छ । देशमा उद्योग स्थापना हुनु ठूलो विषय हो । नयाँ खुल्नु त कता हो कता, भएका उद्योगसमेत बन्द भइसकेका छन् । पस्मिना भनेको विलासिताको वस्तु हो । बुद्ध, सगरमाथा भनेजस्तै नेपाललाई चिनाउने प्रमुख वस्तुमध्ये पस्मिना पनि एक हो । 

अहिलेसम्मको अवस्था हेर्ने हो भने पस्मिना भनेको विदेशीले मात्रै लगाउने भन्ने बुझाइ छ । यो महँगो पनि छ । तर, यसलाई अन्तर्राष्ट्रिय तहमा पु¥याउन सकेको जस्तो देखिँदैन । नाइकी, एडिड्यास भनेजस्तो विदेशमा यसलाई ब्रान्डिङ गर्ने काम भएको छैन । हामी त्यही ब्रान्ड लिएर विदेशमा जानुपर्छ । हामीसँग यस्तो सम्पत्ति छ कि विदेशमा बेच्न सक्ने ठाउँ छ । 

पस्मिनाको माग किन उच्च भयो त ? यो दुई दशकभन्दा बढी समय लगाउँदा पनि टिकाउ हुन्छ । तापक्रम यसको यति राम्रो हुन्छ, कुनै ठाउँमा जनावरलाई चिसो धान्ने रौँ हो । तर, अहिले बजारमा फटाइ काम गर्न थाले । सबैले पस्मिना यथार्थ हो कि होइन, छुट्याउन सक्दैनन् । सरकारले पनि पस्मिानको गुणस्तर निर्धारण गरिदिनुपर्छ । यसको गुणस्तर निर्धारण भएन भने अन्तर्राष्ट्रिय बजारमा हाम्रो छवि बिगारिरहेको छ । पस्मिना भनेको एक प्रकारको धागो हो । यस्ता वस्तुमा खेलबाड गर्नुभएन । 

सर्वसाधारणले त पस्मिनाको गुणस्तर छुट्याउन सक्दैनन् । हामीकहाँ त्यस्तो प्रयोगशाला पनि छैन । हामीले पस्मिनाको गुणस्तर जाँच्न बेलायत र फ्रान्समा पठाउने गरेका छौँ । यसका लागि दुई सय पाउन्डसम्म खर्च लाग्ने गरेको छ । रगत टेस्ट गरेजस्तै पस्मिनाभित्रको तत्व पनि परीक्षण गरिन्छ । कच्चा पदार्थको मूल्य किलोको २३ देखि २४ हजार रुपैयाँसम्म पर्छ । 

एउटा सामान्य स्वेटरमा ३० ग्रामसम्म प्रयोग हुन्छ । यसले शरीरलाई पनि कुनै असर गर्दैन । पस्मिनाको रङ पनि असरदार हुँदैन । हामीले बनाएको पस्मिना हलिउडमा पनि गएको छ । एलिजाबेथ, अमेरिकी गायिका बेन हार्बरले नेपाली पस्मिना लगाएका छन् । तर, सामान आफ्नो भए पनि ब्रान्डिङ हुन सकेको छैन । अब हामीले ब्रान्डिङमा ध्यान दिनुपर्छ । क्यासमिर भनेपछि नेपाली उत्पादनबाहेक अरू दिमागमै आउँदैन । धागो सँगसँगै सेन्टिमेन्ट पनि जोडिएको छ । हातले बुनेको छ । महिलाले काम गर्ने गरेका छन् । 

पस्मिनामा पहुँचवालाले मात्रै लाभ लिने गरेका छन् । पस्मिना एसोसिएसनले च्यांग्रा पस्मिना भनेर ब्रान्डिङ गर्न खोजेको देखिन्छ । तर, त्यसको मापदण्ड कोसँग छ ? च्यांग्रा भनेर पठायो, तर ल्याब परीक्षणबारे एकजना विदेशी नागरिकले मलाई भनेका थिए– ५० हजार प्रति पस्मिनाको अर्डर दिएका थिए । तर, उनले ल्याब परीक्षण गर्न लगाए । त्यसपछि रिजेक्ट भएको थियो ।