१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १o:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

पुराना शिक्षकमाथि शिक्षक सेवा आयोगको खेलबाड

स्थायी शिक्षकको अन्तिम परीक्षा उत्तीर्ण गरेर नियुक्ति पाउने वेला दरखास्त नै खारेज

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:१९:oo

१० कक्षा उत्तीर्ण गरेर विगतदेखि प्राथमिक विद्यालय तहको दरबन्दीमा अध्यापन गराउँदै आएका पुराना शिक्षकलाई शिक्षा मन्त्रालयले विशेष कोर्स गराई १२ कक्षा पासको मान्यता दियो । त्यही प्रमाणपत्र पेस गरेर उनीहरूले शिक्षक सेवा आयोगले लिएको परीक्षाबाट निम्न माध्यमिक विद्यालय तहको स्थायी अध्यापन अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरे ।

आयोगले दिएको शिक्षक लाइसेन्स र मन्त्रालयले दिएको १२ पासको सर्टिफिकेटकै आधारमा आयोगले नै लिएको निमाविको स्थायी शिक्षकको अन्तिम परीक्षासमेत प्रतिस्पर्धाबाटै उत्तीर्ण गरे । तर, परीक्षाका सबै प्रक्रिया सफलतापूर्वक पार गरेर नियुक्ति पाउने वेला आयोगले भने उनीहरूको दरखास्तै नै खारेज गरिदिएको छ । आयोगले शैक्षिक योग्यतामा प्रश्न उठाउँदै दरखास्त खारेज गरेको हो । 

त्यस्ता केही शिक्षक आयोगमा गुनासो गर्न पुगेका छन् । तर, आयोग पदाधिकारीले गैरजिम्मेवार जवाफ दिएको पीडित शिक्षकले बताए । आयोगले एक वर्षसम्म विभिन्न परीक्षण लिएर गत फागुनमा भएको अन्तिम नतिजापछि मात्रै शैक्षिक योग्यता नपुगेको भन्दै दरखास्त खारेज गरेको पीडित शिक्षक अर्जुनप्रसाद पनेरूले बताए ।

‘परीक्षाको तयारी गरेर, सबै परीक्षा दिएर उत्तीर्ण भएकाको अब अन्तर्वार्ता लिएर सिफारिस गर्नुपर्ने वेला शिक्षक सेवा आयोगले दरखास्त नै खारेज गर्‍यो,’ उनले भने, ‘सरकारले गरेको कानुनी व्यवस्थाअनुसार नै हामी योग्यता बढाएर परीक्षा पास गरी अन्तर्वार्तासम्म पुगेका हौँ, कुनै अब्जेक्सन भए पहिल्यै राख्नुपथ्र्यो, आयोगले बदमासी गर्‍यो, हामीमाथि अन्याय ग¥यो ।’ यस्ता पीडित शिक्षक देशभर कति छन् भन्ने यकिन नभए पनि हालसम्म आठजना नयाँ पत्रिकाको सम्पर्कमा आएका छन् । 

शिक्षक सेवा आयोगले भने अहिले आएर मन्त्रालयबाट १२ पासको शैक्षिक मान्यता पाएका उनीहरूलाई विश्वविद्यालयले स्नातक तहमा भर्ना नदिएकाले आफूहरूले पनि योग्यता नपुगेको ठहर गरेको तर्क गरेको छ । ‘उनीहरूलाई विश्वविद्यालयले स्नातक तहमा पढ्न दिएको भए हामीले पनि १२ पास भएको मान्थ्यौँ । तर, विश्वविद्यालयले मान्यता नदिएपछि हामीले पनि योग्यता नपुगेको ठहर गरेका हौँ,’ आयोगका प्रमुख प्रशासकीय अधिकृत केशव दाहालले भने, ‘हामीले निमाविका लागि न्यूनतम १२ पास हुनुपर्छ भनेका छौँ, तर विश्वविद्यालयले उनीहरूलाई त्योसरहको मान्यता नदिएपछि अब लाइसेन्सका लागि पनि योग्य भएनन् ।’ तर, आयोगले नै दिएको निमाविको लाइसेन्सबाटै उनीहरूले परीक्षा दिएका हुन् । 

एसएलसी पास गरेर प्राथमिक तहको शिक्षक बनेकालाई शिक्षा मन्त्रालयले ०६७ मा विशेष परीक्षाको व्यवस्था गरी योग्यता बढाएको थियो । शिक्षकले लिएको दशमहिने तालिमलाई कक्षा ११ सरह मानेर तथा अर्को ६ सय पूर्णांकको परीक्षा तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्ले लिएर उनीहरूको कोर्स पूरा गरिएको थियो । तालिम र परीक्षा पास गरेपछि परिषद्ले १२ पास गरेको प्रोभिजनल, ट्रान्सक्रिप्ट र माइग्रेसनसमेत दिएको थियो । 

त्यही आधारमा उनीहरूले आयोगबाटै सञ्चालन भएको कक्षा ८ सम्म पढाउने स्थायी अध्यापन अनुमतिपत्र (लाइसेन्स)को परीक्षा दिएका थिए । त्यसपछि उनीहरूले निमावि शिक्षकका लागि आयोगले लिएको परीक्षामा प्रतिस्पर्धा गरेका थिए । ०७८ चैतमा पहिलो पेपर परीक्षा दिएका उनीहरूको नतिजा गत वैशाखमा आएको थियो । १३ असारमा दोस्रो पेपरको परीक्षा दिएकामा माघमा नतिजा आयो । यी सबै परीक्षा पास भएर २१ माघमा अन्तर्वार्ता भएको थियो । अन्तर्वार्तापछि १० फागुनमा अन्तिम नतिजा प्रकाशन हुँदा भने आयोगले उनीहरूको उम्मेदवारी नै खारेज गरिदियो ।

ad
ad