१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन बेलौरी–बेल्डाँडी खण्ड । तस्बिर : मोहन विष्ट/नयाँ पत्रिका
२०७९ चैत ८ बुधबार १०:१२:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

हुलाकी राजमार्ग निर्माण अलपत्र : पाँचौँपटक थपिएको म्याद सकिन लाग्दा पनि ठेकेदार काममा फर्किएनन्

Read Time : > 3 मिनेट
२०७९ चैत ८ बुधबार १०:१२:००

पाँचौँपटक थपिएको म्याद सकिनै लाग्दा पनि कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणको कामले गति लिन सकेको छैन । निर्माण कम्पनीले काम नगर्दा राजमार्गको निर्माणाधीन तीनमध्ये दुई प्याकेजको काम ६ वर्षदेखि अलपत्र अवस्थामा छ । निर्धारित समयभन्दा दोब्बर बढी अवधिपछि एउटा प्याकेजको काम भने अहिले बल्ल सम्पन्न हुने चरणमा छ ।

कञ्चनपुरमा हुलाकी राजमार्गको ६२ किलोमिटरलाई तीनवटा खण्डमा छुट्याएर काम भइरहेको छ । बेलौरीदेखि बेल्डाँडीसम्म २० किलोमिटर दोस्रो र बेल्डाँडी–दैजीसम्मको २२ किलोमिटर लामो तेस्रो खण्डमा पाँचौँपटक थप भएको अवधि आगामी असारमा सकिँदै छ । तर, कामले तीव्रता पाएको छैन । लामो समयदेखि राजमार्ग निर्माणको काम बन्द रहेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार केही दिन काम गरेर ठेकेदार हराउने गरेका छन् । ‘कहिलेकाहीँ दुई–चार दिन अलिअलि काम गर्छन्, त्यसपछि लामो समयसम्म फर्केर आउँदैनन्,’ बेल्डाँडी गाउँपालिका– १ का स्थानीय दिनेश ठकुराठीले नयाँ पत्रिकासँग भने, ‘ठेकेदार आफू फिल्डमा आउँदैनन्, कामदारलाई भन्दाभन्दा थाकिसक्यौँ ।’ 

सर्वसाधारणलाई सास्ती
लामो समयदेखि सडक निर्माणकार्य अलपत्र हुँदा सर्वसाधारणले सास्ती खेप्नु परिरहेको छ । निर्माणाधीन सडकमा गाडी गुड्दा उड्ने धुलोले सडकवरिपरिका घर सेताम्य छन् । बेल्डाँडी– २ चवन्नीका जनक धामीले पानी पर्दा जम्ने हिलो र अरू वेला धुलोले हिँडडुल गर्न समस्या हुने गरेको बताए । उनले भने, ‘खाल्डाखुल्डीले गर्भवती, बिरामीलाई अस्पताल लैजान हामीलाई निकै समस्या छ । साढे दुई वर्षमा बन्नुपर्ने हो, ६ वर्ष भइसक्यो । ठेकेदार दोषी हो भने सरकारले कारबाही गर्नुपर्‍यो ।’

भुक्तानी लिने समयमा मात्र काम भइरहेको देखाउनका लागि ठेकेदारले केही दिन कामदार पठाउने गरेको उनले बताए । बेल्डाँडी क्षेत्रमा अहिले पनि राजमार्ग निर्माणको काम रोकिएको उनले जनाए । 

राजनीतिक पहुँच भएका ठेकेदार भएकाले सडक निर्माणमा चरम लापरबाही हुँदा पनि सरकारले कारबाही गर्नुको साटो म्याद थप गर्दै आएको स्थानीयको आरोप छ । ‘ठेकेदार पहुँचवाला भए, स्थानीय जनप्रतिनिधिबाट पनि काम छिटो गर्नका लागि पहल हुन सकेन,’ ठकुराठीले भने, ‘हामी जनताका कुरा कसले सुनिदिने ?’

पहुँचका आधारमा पटकपटक म्याद थप
पहिलो र तेस्रो खण्डमा काम गरिरहेको राजेन्द्र निर्माण सेवा नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदको कम्पनी हो । ०७४ को स्थानीय तह निर्वाचनमा डडेल्धुराको पर्शुराम नगरपालिकाको मेयर निर्वाचित भएपछि साउदले यो कम्पनी परिवारका सदस्यको नाममा सारेका थिए । हुलाकी राजमार्गअन्तर्गत डोकेबजारदेखि बेलौरीसम्म २० किलोमिटर लामो पहिलो खण्डमा पनि यो कम्पनीले काम गरिरहेको छ । यो खण्डमा पाँचौँपटक थपिएको म्याद गत पुसमा सकिएको छ । कालोपत्रेको काम सकिए पनि तारजाली राख्नेलगायत केही काम बाँकी रहेका आयोजना कार्यालयले जनाएको छ । यो खण्डमा पनि साढे दुई वर्षभित्र काम सक्ने गरी ३६ करोड ४७ लाख लागतमा १ चैत ०७३ मा निर्माण सम्झौता भएको थियो ।

सिद्धिशाही नेपाली कांग्रेस डोल्पाका सभापति दीपेन्द्रबहादुर शाहीको निर्माण कम्पनी हो । साढे दुई वर्षमा सक्नुपर्ने काम ६ वर्षसम्म पूरा नहुँदा पनि राजनीतिक पहुँचका आधारमा निर्माण कम्पनीलाई सरकारले कारबाही गर्नुको साटो म्याद थप्दै आएको स्थानीयको आरोप छ । चौथोपटक थप गरिएको अवधिमा पनि काम पूरा नभएपछि आयोजना कार्यालयले गत असारमा सिद्धिशाही–बाबाहंश जेभी र शर्मा–राजेन्द्र जेभीलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको थियो । 

आयोजना कार्यालयले तत्काल काम नगरे ठेक्का तोडिने सूचना प्रकाशित गरेको थियो, तर असारमै सरकारले सार्वजनिक खरिद नियमावली संशोधन गरेर पुराना सबै ठेक्काको म्याद एक वर्ष थप्ने व्यवस्था गरेपछि यी दुवै खण्डको अवधि पाँचौँपटक थप भएको हो । हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका प्रमुख सबिन जोशीले निर्माण कम्पनीलाई पटक–पटक ताकेता गर्दा पनि दोस्रो र तेस्रो खण्डको काम सुस्त रहेको बताए । ‘असारसम्म म्याद छ । हामी सकेसम्म काम गराउने कोसिस गरिरहेका छौँ,’ जोशीले भने, ‘काम अगाडि बढेन र त्यतिन्जेल सकिएन भने कारबाहीको प्रक्रियामा जान्छौँ ।’ 

थपिएको समयमा पनि सम्पन्न हुन कठिन
बेलौरीदेखि बेल्डाँडीसम्म २० किलोमिटर राजमार्ग निर्माणको ठेक्का सिद्धिशाही–बाबाहंश जेभीले लिएको छ । ४१ करोड साढे ४१ लाख लागतको यो सडकको काम ३० महिनाभित्र सक्ने गरी २ फागुन ०७३ मा सम्झौता भएको थियो । ६ वर्ष बित्दा भौतिक प्रगति ७५ प्रतिशत मात्र छ । त्यस्तै, बेल्डाँडी–दैजीसम्मको २२ किलोमिटर सडक शर्मा–राजेन्द्र जेभीले निर्माण गरिरहेको छ । ३८ करोड ५७ लाख लागतमा साढे दुई वर्षभित्र सक्ने गरी १ चैत ०७३ मा निर्माण सम्झौता भएको हुलाकी राजमार्ग आयोजना कार्यालयले जनाएको छ । यो खण्डमा पनि हालसम्म करिब ७५ प्रतिशत मात्र काम भएको आयोजना कार्यालयले जनाएको छ । 

यी दुवै खण्डमा पाँचौँपटक थपिएको म्याद आगामी असारमा सकिँदै छ, तर कामको गति हेर्दा असारसम्म पनि काम पूरा हुने नदेखिएको आयोजनाका सूचना अधिकारीसमेत रहेका इन्जिनियर दीपक सुनारले बताए । सडक निर्माणमा ठेकेदारले चरम लापरबाही गरिरहेको उनले बताए । ‘काम गरिरहेको छ भनेर देखाउन दुवै खण्डमा ठेकेदारले केही मान्छे खटाएका छन्, तर खासमा काम भइरहेको छैन ।’ सुनारले भने, ‘यही गतिमा बाँकी काम सक्न अझै चार वर्ष लाग्छ ।’ ‘आँखामा छारो हाल्ने गरी’ काम भइरहेको उनले बताए । 

देखाउनका लागि कहिलेकाहीँ मात्र काम भइरहेको आयोजना कार्यालयले जनाएको छ । ‘हामीले ठेकेदारसँग पटक–पटक छलफल गरेका छाँै । असारसम्म काम सक्ने प्रतिबद्धता पनि जनाएका थिए । तर, प्रतिवद्धताअनुसार काम भएको छैन ।’ सुनारले भने, ‘निर्माण अवधि बाँकी रहेकाले काम गर्न दबाब दिनेबाहेक अरू कारबाही गर्न सकिँदैन ।’ तेस्रो खण्डमा रूख कटान आदेशका कारण केही महिना ढिलाइ भए पनि त्यसपछि भने ठेकेदारको लापरबाहीले ढिलाइ भएको उनले बताए । आयोजना कार्यालयका अनुसार अन्य ठाउँमा साइट क्लियरको समस्या थिएन ।

कैलालीमा स्तरोन्नतिको काम सुस्त
कैलालीमा पनि हुलाकी राजमार्ग स्तरोन्नतिको काम सुस्त छ । हुलाकी राजमार्ग र राजमार्गको लिंक सडक गरी कैलालीमा साढे ७३ किलोमिटर सडकलाई एक लेनबाट सात मिटर चौडा गरी दुई लेनमा स्तरोन्नति गर्ने काम भइरहेको छ । यो सडक यसअघि भारत सरकारको सहयोगमा भारतीय कम्पनीले कालोपत्रे गरेको थियो । साढे ७३ किलोमिटर सडकलाई सातवटा खण्डमा छुट्याएर स्तरोन्नति भइरहेको हो । सबै खण्डको ३० महिनाको निर्माण अवधि सकिए पनि भौतिक प्रगति भने उत्साहजनक छैन ।

धनगढी क्याम्पस रोडदेखि पूर्व तीन किलोमिटर चार लेनसहित सात किलोमिटर खण्डको निर्माण अवधि गत पुसमा सकिएको थियो । निर्धारित अवधिमा करिब ६५ प्रतिशत मात्र काम भएपछि एक वर्ष थप गरिएको छ । धनगढीको कटैनी खोलादेखि फूलबारीसम्म १२ किलोमिटर खण्डमा ४५ प्रतिशत, फूलबारीदेखि कैलारीसम्मको १२ किलोमिटर खण्डमा ३० प्रतिशत र कान्द्रादेखि सत्तीबजार कर्णाली पुलसम्म १३ किलोमिटर खण्डमा हालसम्म २५ प्रतिशत मात्र प्रगति रहेको आयोजना कार्यालयले जनाएको छ । 

हुलाकी राजमार्गको लिंक रोडको रूपमा रहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत लम्कीदेखि टीकापुर सत्तीसम्मको साढे २९ किलोमिटर सडक स्तरोन्नतिको काम पनि सुस्त छ । यसमध्ये साढे सात किलोमिटर सडक चार लेनको बन्दै छ । ३० महिनाको अवधिमा लम्कीदेखि आठ किलोमिटरको पहिलो खण्डमा ७० प्रतिशत, १० किलोमिटर लामो दोस्रो खण्डमा ३५ प्रतिशत र साढे ११ किलोमिटर लामो तेस्रो खण्डमा ३० प्रतिशत मात्र भौतिक प्रगति भएको आयोजनाका सूचना अधिकारी सुनारले जानकारी दिए ।