१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ८ बुधबार ०९:०१:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

भ्रष्टाचार मुद्दामा डिएसपी केसीविरुद्ध छानबिन गर्न अख्तियारलाई सिफारिस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ८ बुधबार ०९:०१:००

व्यवसायीको सुन गायब बनाएको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन डिएसपी ठगबहादुर केसीमाथि भ्रष्टाचारसम्बन्धी कसुरमा छानबिन गर्न प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ । प्रारम्भिक छानबिनमा उनले गलत नियतले सुन राखेको पाइएपछि भ्रष्टाचारसम्बन्धी कसुर आकर्षित भएको हो ।

एसएसपी चन्द्रकुवेर खापुङ नेतृत्वको छानबिन टोलीले गत साता प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई प्रतिवेदन बुझाउँदै डिएसपी केसीको बदनियत देखिएको निष्कर्ष निकालेको थियो । समितिले उनीमाथि विभागीय मात्र नभई कानुनी कारबाही नै गर्नुपर्ने औँल्याएको थियो । सोही आधारमा प्रतिवेदनसहित प्रहरी प्रधान कार्यालयले आयोगलाई पत्राचार गरेको छ ।

गत ११ पुसमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएको टोलीले केसीको निवासबाट स्रोत नखुलेको ३५ तोला सुन बरामद गरेको थियो । सो सुन बरामद गर्दा प्रक्रिया पूरा नगरेको र बदनियत राखी डिएसपी आफैँले राख्दै आएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । उनले बुटवलकै एक पसलेको सुन तस्करीको आरोपमा बरामद गरेका थिए । अवैध भएको पुष्टि भए राजस्व तथा कार्यालय बुझाउनुपर्ने तथा वैध देखिएमा सम्बन्धित व्यक्तिलाई नै बुझाउनुपर्नेमा आफैँसँग राखेकाले उनको बद्नियत देखिएको छानबिनको निष्कर्ष छ । 

१३ पुसदेखि नै डिएसपी केसी निलम्बनमा छन् । उनीमाथि सोही घटनाको विषयमा अख्तियारले पहिलेदेखि नै छानबिन गरिरहेको स्रोत बताउँछ । आयोगको छानबिनका क्रममा श्रीमतीको बैंक खातामार्फत उनले शंकास्पद कारोबार गरेको पाइएको छ । उनका तीनवटा घर र सम्पत्तिउपरसमेत छानबिन चलिरहेको आयोगका एक अधिकारीले बताए ।