मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अनिल यादव काठमाडाैं
२०७९ चैत ५ आइतबार १०:२४:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

उपनिर्वाचन : बारा २ मा उपेन्द्रलाई कति सहज ? 

Read Time : > 2 मिनेट
अनिल यादव, काठमाडाैं
२०७९ चैत ५ आइतबार १०:२४:००

बारा २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई संसद् प्रवेशको बाटो खुला भएको छ । सप्तरी– २ जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएयता नै रामसहायलाई उपराष्ट्रपति बनाएर यादव उपनिर्वाचनमार्फत संसद् छिर्ने रणनीतिमा रहे पनि जसपाले औपचारिक निर्णय भने गरेको छैन । 

यादव स्वयंले पनि उम्मेदवारी दिनेबारे स्विकारेका छैनन् । तर, जसपाका नेताहरू संसद्मा यादवको आवश्यकता रहेकाले उनी उम्मेदवार बन्न सक्ने सम्भावनाबारे खुलेरै बोलिरहेका छन् । जसपाका प्रवक्ता मनीष सुमन पार्टीभित्र नेता–कार्यकर्ताको दबाब रहेको अवस्थामा यादव बारा–२ को उम्मेदवार बन्न सक्ने बताउँछन् ।

‘तर, अहिलेसम्म अध्यक्षले पार्टीभित्र उम्मेदवारी दिने इच्छा प्रकट गर्नुभएको छैन,’ उनले भने, ‘बाहिर मिडियामा अन्तर्वार्ता दिँदा पनि पाँच वर्ष पार्टीभित्रै काम गर्ने राय राखिरहनुभएको छ । यद्यपि, पार्टीभित्रबाट नेता–कार्यकर्ताको दबाब रह्यो भने उहाँ उम्मेदवार बन्ने सम्भावनालाई नकार्न सकिन्न ।’ 

जसपाको आन्तरिक विश्लेषणमा सप्तरीमा हारेका यादव बारामा निर्वाचनका लागि सहजता छ । प्रवक्ता सुमन भने जसपाबाट राम्रो उम्मेदवार उठेको अवस्थामा जसपाले जित्न सक्ने चार बलियो आधार छ । ‘पहिलो, जसपाको उम्मेदवार १० दलीय गठबन्धनको साझा उम्मेदवार हुनेछ,’ उनी भन्छन्, ‘दोस्रो, गत निर्वाचनमा बारा २ मा झरेको समानुपातिक मतमा पनि जसपा पहिलो छ । तेस्रो, सोही निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद उपराष्ट्रपति पदमा पुगेपछि यसले कार्यकर्तामा बढेको उत्साहले पनि अर्थ राख्छ । चौथो, विगतका दिनमा पार्टीबाट रुष्ट भई स्वतन्त्र उम्मेदवारी दिएका त्यहाँका प्रभावशाली नेता रामकिशोर यादव पनि पार्टीमा फर्किएर क्रियाशील हुनुभएको छ ।’ 

उपराष्ट्रपति निर्वाचनताका १० दलीय गठबन्धनमा रहेका लोसपा, जनमत र नागरिक उन्मुक्तिबीच आपसी समझदारीका आधारमा कार्यगत एकता गर्ने सहमति भएको थियो । सहमतिअनुसार लोसपा र उन्मुक्ति पार्टीको समर्थनमा जनमतले उपराष्ट्रपतिको उम्मेदवार नै खडा गरेको थियो । यद्यपि, अन्तिम समयमा लोसपा र उन्मुक्तिले गठबन्धनको साझा उम्मेदवारलाई नै मत दिने निर्णय गरेका थिए ।

यादव बारा २ को उम्मेदवार भएको अवस्थामा लोसपा र उन्मुक्ति पार्टीले मत हाल्नेमा विश्वस्त रहेको जसपा प्रवक्ता सुमन बताउँछन् । ‘उपराष्ट्रपतिको निर्वाचनमा लोसपा र नागरिक उन्मुक्ति पार्टीले अन्तिम समयमा आफूलाई सच्याएर गठबन्धनकै उम्मेदवारलाई मत हाल्नुभयो । त्यसैले उपनिर्वाचनमा पनि जसपाकै उम्मेदवार सघाउनुहुन्छ,’ उनले भने । तर, उपराष्ट्रपति निर्वाचनमा झैं जनमत पार्टीले असहयोग गर्न सक्ने सम्भावनाबारे पनि आफूहरू सचेत रहेको उनले बताए । 

यस्तो छ अंकगणित
गत निर्वाचनको अंकगणित केलाउँदा पनि उपेन्द्रलाई सहज हुने चार आधार अनुकूल नै देखिन्छ । त्यसो त प्रत्यक्षतर्फ बारा २ बाट रामसहायले ३५४ मतान्तरले मात्रै जित निकालेका थिए । एमालेको सहयोग पाएका उनले १३८२२ मत ल्याएर विजयी हुँदा तत्कालीन सत्तागठबन्धनका उम्मेदवार माओवादीका शिवचन्द्रप्रसाद कुशवाहाले १३४६८ मत ल्याएका थिए । तर, त्यतिवेला रामसहायको मत कम आउनुमा जसपाकै बागी उम्मेदवार प्रमुख कारण थियो । किनभने बारा २ मा राम्रो प्रभाव जमाएका रामकिशोरप्रसाद यादव रामसहायकैविरुद्ध त्यहाँबाट उम्मेदवार बनेका थिए । त्यतिवेला उनले ११ हजार ४३ मत ल्याउँदै तेस्रो स्थान बनाएका थिए । त्यसवेला असन्तुष्ट रामकिशोर अहिले पार्टीमा फर्किसकेका छन् । उनी घर फर्किनुलाई पनि उपेन्द्रले जितको बलियो आधार मानेको जसपाकै नेता बताउँछन् । 

बारा २ को समानुपातिक मतपरिणाम पनि जसपाकै पक्षमा देखिन्छ । परिणामअनुसार त्यहाँ १३ हजार २४२ मत सहित जसपा पहिलो स्थानमा छ भने कांग्रेस ११ हजार १७९ सहित दोस्रो स्थानमा । त्यसपछि एमालेले नौ हजार १९३, जनमत पार्टीले आठ हजार ८४६, लोसपाले ४ हजार २३५, नागरिक उन्मुक्तिले तीन हजार ७९४, माओवादीले तीन हजार २६५, नेपाल संघीय समाजवादी पार्टीले दुई हजार ३६६, एकीकृत समाजवादीले एक हजार ९९६, राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार ४५५ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ९९२ मत ल्याएको थियो ।

अहिले १० दलीय गठबन्धनकै साझा उम्मेदवार भएको अवस्थामा गत निर्वाचनमा आएका सबै दलको मत जोड्दा ४६ हजार ५५७ पुग्छन् । त्यहाँ जसपाबाहेक मधेसकेन्द्रित दलहरू जनमत, लोसपा र नागरिक उन्मुक्तिको समानुपातिक मत मात्रै १६ हजार ८७५ आएको छ । यी तीनवटै दलले जसपाका उम्मेदवारलाई मत हाल्न तयार नभएको अवस्थामा पनि गत समानुपातिक मतपरिणाम हेर्दा सत्तागठबन्धन अगाडि देखिन्छ । यसरी पनि गठबन्धनको मत २९ हजार ६८२ हुने देखिन्छ । उता, यसअघि जसपालाई सघाएको एमालेले तीन मधेसकेन्द्रित दलसँग गठबन्धन गर्ने सम्भावनाबारे पनि राजनीतिक वृत्तमा चर्चा छ । त्यस्तो भएको अवस्थामा सत्तागठबन्धनकै मत अगाडि हुने देखिन्छ । एमाले, जनमत, नागरिक उन्मुक्ति र लोसपाको समानुपातिक मत जोड्दा २६ हजार ६८ पुग्छ ।