मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ चैत २ बिहीबार १०:४४:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एकै खेलमा हाल्यान्डको पाँच गोल

युरोपियन च्याम्पियन्स लिगमा लियोनल मेसी र लुइज एन्ड्रिआनोपछि एकै खेलमा पाँच गोल गर्ने हाल्यान्ड तेस्रो खेलाडी

Read Time : > 1 मिनेट
२०७९ चैत २ बिहीबार १०:४४:००

नर्वेका स्ट्राइकर इर्लिन हाल्यान्डले मंगलबार राति युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा एउटा सुन्दर कथा रचेका छन् । भर्खरका २२ वर्षे ठिटो हाल्यान्डले च्याम्पियन्स लिगमा कम उमेरमै ३० गोल गर्छन् भनी कसैले सोचेकै थिएनन् । च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलमा जर्मन क्लब आरबी लेइपिजविरुद्ध हाल्यान्डले यो सफलता प्राप्त गरेका छन् । लेइपिजसँगको खेलमा उनले दुई रेकर्ड राखेका छन् । पहिलो कम उमेरमा ३० गोल, अर्को एकै खेलमा पाँच गोलको रेकर्ड हाल्यान्डले राखे । 

हाल्यान्डले २२ वर्ष २३६ दिनको उमेरमा यो सफलता हात पारेका हुन् । यसअघि यो कीर्तिमान फ्रेन्च पेरिस सेन्ट जर्मेन (पिएसजी)का केलियन एम्बाप्पेको नाममा थियो । हाल्यान्डले एम्बाप्पे भन्दा ११६ दिनले कान्छो उमेरमा च्याम्पियन्स लिगमा ३० गोल संख्या पुर्‍याए । हाल्यान्डले च्याम्पियन्स लिगको २५ खेलमा ३३ गोल गरिसकेका छन् ।

च्याम्पियन्स लिगको एकै खेलमा पाँच गोल गर्ने उनी अहिलेसम्मकै युवा खेलाडीमा परेका छन् । यसअघि लियोनल मेसी र लुइज एन्ड्रिआनोले एकै खेलमा पाँच गोल गरेका थिए । हाल्यान्डले म्यानचेस्टर सिटीबाट यस सिजनमा सबै खाले प्रतियोगितामा ३९ गोलसंख्या पुर्‍याएका छन् । यसक्रममा उनले पाँच ह्याट्रिक ठोकेका छन् । हाल्यान्डको यसै प्रेरणादायी प्रदर्शनको मद्दतमा इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले आरबी लेइपिजलाई ७–० को एकपक्षीय नतिजामा पराजित गर्‍यो । 

उनले खेलको २२औँ मिनेटमा पेनाल्टीबाट व्यक्तिगत पहिलो गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा थप एक गोल गर्दै लेइपिजविरुद्ध उनले ह्याट्रिक गरे । खेलको ५७औँ मिनेटमा हाल्यान्डले व्यक्तिगत पाँचौँ गोल गर्दा सिटी ६–० ले अघि रह्यो । समग्रमा सिटीले ८–१ ले विजयी भयो । च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको सिटीलाई क्वार्टरफाइनल खेल गाह्रो हुन सक्छ । सम्भवतः सिटीले सेमिफाइनल प्रवेशका लागि साबिक विजेता रियल म्याड्रिड वा लिभरपुलको सामना गर्नेछ । शुक्रबार च्याम्पियन्स लिगको ड्र निस्कनेछ । 

इन्टर मिलान १२ वर्षपछि क्वार्टरफाइनलमा
पूर्वविजेता सिरिए क्लब इन्टर मिलान १२ वर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । इन्टर मिलानले पोर्चुगिज क्लब एएफसी पोर्टोलाई समग्रमा १–० ले हराउँदै अन्तिम आठको स्थान पक्का गरेको हो । इन्टर मिलानले पहिलो लेगमा पोर्टोलाई १–० ले हराएको थियो । दोस्रो लेग गोलरहित बराबरी हुँदा पनि इन्टर मिलानले पहिलो लेगमा प्राप्त एक गोलको अग्रताकै आधारमा अन्तिम आठको स्थान सुरक्षित गरेको हो । 

इन्टर मिलानले अन्तिमपटक च्याम्पियन्स लिगको क्वार्टरफाइनल सन् २०११ मा खेलेको थियो । प्रतिस्पर्धामा पोर्टोका पेपे रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । इन्टर मिलानका गोलरक्षक आन्द्रे ओनानाले उत्कृष्ट बचाउ गरेका थिए ।