
आठपटकको च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिग ०७९/८० मा अपराजित यात्रा चार खेलसम्म पुर्याएको छ । लिगमा चर्च ब्बाइज र मनाङ मात्रै अपराजित क्लब हुन् । लिगअन्तर्गत बुधबार विभागीय डर्बीमा एपिएफ फुटबल क्लबसँग त्रिभुवन आर्मी फुटबल क्लब पराजित भएको छ ।
आर्मीको जित यात्रा टुंगिएको छ । चौथो चरणको खेल समाप्तिपछि एनआरटीलाई हराएको मनाङ शीर्ष तीन स्थानमा उक्लेको छ । चार खेलबाट मनाङले आठ अंक जोडेको छ । चर्च ब्वाइज १० अंकसहित शीर्ष स्थानमा छ । ९ अंकका साथ सातदोबाटो युथ दोस्रो स्थानमा छ ।
एनआरटीविरुद्धको जितमा मनाङका रोशन रानामगर, साइड्जामोल डेब्लातजोनोभ र कोफी कोडोले समान एक गोल गरेका थिए । एनआरटीका अशोक थापाले एक गोल फर्काए । पहिलो हाफमा एक गोल गरेको मनाङले दोस्रो हाफमा थप दुई गोल गरेको हो । खेलको ३९औँ मिनेटमा रोशनले रन्दिप पौडेलको पासमा सुन्दर गोल गरे । खेलको ६६औँ मिनेटमा पेनाल्टीमार्फत डेब्लातजोनोभले मनाङलाई २–० को अग्रता दिलाए । खेलको ८७औँ मिनेटमा कोडोले उत्कृष्ट गोल गर्दा मनाङले ३–० को अग्रता लियो । इन्जुरी समयमा एनआरटीका अशोकले हेडिङ गोल गरेका थिए ।
आर्मीको पहिलो हार
लिगको साबिक उपविजेता आर्मी एपिएफसँग १–० ले स्तब्ध भयो । चौथो खेलमा आएर आर्मीले पहिलो हार व्यहोरेको हो । एपिएफको यो दोस्रो जित हो । जितसँगै एपिएफले चार खेलबाट सात अंक जोडेर पाँचौँ स्थानमा छ । आर्मी पाँच अंकसहित नवौँ स्थानमा छ । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले फिनिसिङमा चुक्दा हारको सामना गरेको बताए । ‘हामी लगातार फिनिसिङमा चुकिरहेका छौँ,’ खेलपछि न्यौपानेले भने, ‘महŒवपूर्ण खेलाडी टोलीमा नहुँदा मिडफिल्डमा समस्या आएको हो ।’
गत सिजन आर्मीबाट खेलेका गौतम श्रेष्ठ, सन्तोष तामाङ, सुदिल राई, सुमन अर्याल विदेश पलायन भएका छन् । सुदिल दुबई पुगेका छन् । अन्य तीन खेलाडी अस्ट्रेलिया पुगेका छन् । बुधबार च्यासलस्थित च्यासल मैदानमा एपिएफलाई जित दिलाउन मिडफिल्डर मणिकुमार लामाले निर्णायक गोल गरेका थिए । खेलको ३७औँ मिनेटमा मणिले विपन श्रेष्ठको पास सदुपयोग गरेका हुन् ।