मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ चैत १ बुधबार ११:२४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

६ महिनामा पाँच अर्बको अलैँची निर्यात

Read Time : > 1 मिनेट
२०७९ चैत १ बुधबार ११:२४:००

विदेश निर्यात हुने कृषि उत्पादनका रूपमा रहेको अलैँचीको निर्यात यस वर्ष उत्साहजनक देखिएको छ । चालू आर्थिक वर्षको ६ महिनामै काँकडभिट्टा नाकाबाट झन्डै पाँच अर्ब रुपैयाँको अलैँची निर्यात भएको हो । यो विगतमा एक वर्षभरिमा हुने निर्यातभन्दा धेरै रहेको मेची भन्सार कार्यालयले जनाएको छ ।

नेपालका ४३ जिल्लामा उत्पादन हुने अलैँची पूर्वीनाका काँकडभिट्टा भएर भारत निर्यात हुने गरेको छ । अलैँचीको राजधानीका रूपमा बिर्तामोडलाई लिइन्छ । पूर्वीनाकाबाट निर्यात हुने सामग्रीको सबैभन्दा धेरै हिस्सा ओगट्ने कृषिजन्य उत्पादन अलैँची हो । 

मेची भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्म ६० लाख ७३ हजार आठ सय ७३ केजी अलैँची भारत निर्यात भएको छ । उक्त अलैँचीको मूल्य चार अर्ब ८७ करोड ८५ लाख ६८ हजार रुपैयाँ रहेको भन्सार कार्यालयले जनाएको छ । 

विगतमा वर्षभरिमा यही अनुपातमा मात्र अलैँची निर्यात हुने गरेको भन्सारको तथ्यांकमा उल्लेख छ । आव ०७८/७९ मा चार अर्ब ७६ करोड ४३ लाख रुपैयाँको अलैँची भारत निर्यात भएको थियो । यस्तै, आव ०७७/७८ मा ६ अर्ब ८९ करोड ५४ लाख रुपैयाँको अलैँची निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । यस्तै, आव ०७६/७७ मा चार अर्ब १९ लाख रुपैयाँको अलैँची निर्यात भएको थियो भने आव ०७५/७६ मा दुई अर्ब ९७ करोड ८९ लाख रुपैयाँको मात्र अलैँची निर्यात भएको थियो । 

यस वर्ष सधैँको तुलनमा अलैँचीको भारत निकासी उत्साहजनक रहेको नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए । ‘यस वर्ष सधैँको तुलनमा अलैँचीको निर्यात उत्साहजनक छ,’ उनले भने, ‘विगतका वर्षमा वर्षभरिमा निर्यात हुने अलैँची यस वर्ष ६ महिनामै निर्यात भएको छ ।’ 

चालू आर्थिक वर्षमा आठ अर्ब रुपैयाँबराबरको अलैँची भारत निकासी हुने अनुमान गरिएको भट्टराईले जानकारी दिए । यस वर्ष विगतका तुलनामा नेपालमा अलैँचीको उत्पादन बढेको उनको भनाइ छ । ‘अलैँची उत्पादन गत वर्षभन्दा यसपटक ३० देखि ४० प्रतिशत वृद्धि भएको छ,’ उनले भने, ‘किसानबाट अलैँची अहिले व्यवसायीसम्म आइपुगेको छ । यसपटक सात हजार पाँच सय मेट्रिकटन अलैँची फलेको अनुमान गरिएको छ ।’ यस वर्ष भारतको आसाम र भुटानमा अलैँचीको उत्पादन घटेका कारण पनि नेपाली अलैँचीले बजार पाएको भट्टराईले बताए । ‘यसपटक नेपालको अलैँची होल्ड हुन पाएन,’ उनले भने, ‘त्यसकारण निर्यात बढेको हो ।’

मूल्य भने गत वर्षको तुलनमा यसपटक कम छ । गत वर्ष प्रतिमन ४८ हजार रुपैयाँ पुगेको अलैँचीको मूल्य यस वर्ष गुणस्तरका आधारमा ३५ हजारदेखि ३७ हजार रुपैयाँसम्म रहेको महासंघ अध्यक्ष भट्टराईले जानकारी दिए । यद्यपि, यो सिजनको सुरुवातीमा भन्दा पछिल्लो दुई महिनामा अलैँचीले मूल्य पाएको उनको भनाइ छ । सुरुवाती सिजनमा प्रतिमन २२ हजार रुपैयाँमा अलैँचीको कारोबार भइरहेको थियो । ‘दुई महिनायता मूल्य ३५ हजारदेखि ३७ हजार रुपैयाँ पुगेको छ,’ उनले भने, ‘भारतमा उत्पादन घटेकाले सिजनको अन्तिमसम्म मूल्य बढ्छ कि भन्ने अपेक्षा छ ।’