मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७९ चैत १ बुधबार ०९:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सवारी दुर्घटना हुँदा मकवानपुरमा दुईजनाको मृत्यु 

Read Time : < 1 मिनेट
२०७९ चैत १ बुधबार ०९:३५:००

मकवानपुरमा भएका दुईवटा  छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार बुधबार बिहान हेटौँडा उपमहानगरपालिका– ११ थानाभर्‍याङमा पैदलयात्रीलाई ट्रकले ठक्कर दिँदा एकजना महिलाको मृत्यु भएको छ ।

अन्दाजी ३५–४० वर्षीया महिलाको पहिचान भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी एवं प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । ट्रकको ठक्करबाट गम्भीर घाइते महिलालाई उपचारका लागि हेटौँडा अस्पतालमा पुर्‍याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । 

ती महिलालाई नवलपुरबाट हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ च ६९४३ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, हिजो मंगलबार साँझ मकवानपुरको बकैया गाउँपालिका– १२ खोरभञ्ज्याङस्थित भित्री कच्ची सडकखण्डमा ना.८ख ५३३५ नम्बरको टिपर दुर्घटना हुँदा एकजना मृत्यु भएको छ ।

शिवम् सिमेन्ट फ्याक्ट्रीको चक्ति ढुंगाखानीमा ढुंगा लोड गर्न जाँदै गरेको टिपर दुर्घटना हुँदा चालक मकवानपुरगढी– २ अदुवाखर्कका २८ वर्षीय चन्द्र योञ्जनको मृत्यु भएको हो । टिपर आफैँ अनियन्त्रित भई सडकबाट करिब आठ सय मिटर तल जंगलको खोल्सामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।