मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ चैत १ बुधबार ०८:३४:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पहिलो दिन शुक्रलाई अग्रता

Read Time : > 1 मिनेट
२०७९ चैत १ बुधबार ०८:३४:००

सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको पाँचौँ प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन नेपाल नम्बर एक गल्फर शुक्रबहादुर तामाङ शीर्ष स्थानमा रहेका छन् । तामाङ सात अन्डर ६५ स्कोरका साथ शीर्ष स्थानमा रहेका हुन् ।

साबिक विजेतासमेत रहेका तामाङले भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पारेका छन् । भुवन अन्डर ६६ स्कोरका साथ दोस्रो स्थानमा छन् । पहिलो दिन जयराम श्रेष्ठ तेस्रो स्थानमा रहे । उनले चार अन्डर ६८ स्कोर गरे । जयराम शीर्ष स्थानमा रहेका खेलाडीसँग तीन स्ट्रोकले पछि छन् । 

प्रतियोगिताको पहिलो दिन एक अन्डर ७१ स्कोर गरेका नीरज तामाङ चौथो स्थानमा रहे । प्रोफेसनलद्वय सञ्जय लामा र बलभद्र राई पाँचौँ स्थानमा छन् । एमेच्योर खेलाडी सद्भाव आचार्य र सुवास तामाङले संयुक्त रूपमा पाँचौँ स्थान बाँडेका छन् ।

उनीहरूले पहिलो दिनसमान इभन पार खेल्दै ७२ स्कोर गरे । शिवराम पौडेल र एमेच्योर खेलाडी क्याप्टेन नोर्बु शेर्पा एक ओभर ७३ स्कोरसहित संयुक्त रूपमा नवौँ स्थानमा रहेका छन् । तीन प्रोफेसनल खेलाडी रमेश अधिकारी, रामे मगर र दिनेश प्रजापतिसँगै एमेच्योरद्वय निश्चयजंग रायमाझी र युवराज भुजेल दुई ओभर ७४ स्कोरमा संयुक्त रूपमा ११औँ स्थानमा रहेका छन् । भारतीय गल्फ टुरसमेत खेलिरहेका शुक्रबहादुरले पहिलो दिन सात अन्डरको उत्कृष्ट प्रदर्शन गर्ने क्रममा फ्रन्ट नाइन दुई अन्डर ३४ स्कोरमा सकाए । 

फ्रन्ट नाइनमा भुवन राम्रो
भुवनले फ्रन्ट नाइनमा ६ अन्डर ३० खेल्दै सानदार सुरुवात गरे । पहिलो, दोस्रो, तेस्रो र पाँचौँ होलमा समान एक सट बचाएर उनले पाँच पारको सातौँ होलमा इगल हात पारेका थिए । यसपछि ब्याक नाइनमा उनले सबै होलमा पार बचाए । जयरामले फ्रन्ट नाइन दुई अन्डर ३४ स्कोरमा सकाए । दोस्रो, तेस्रो र सातौँ होलमा बर्डी प्रहार गरेका जयरामले चौथो होलमा एक सट खेर फाले । चौथो स्थानमा रहेका नीरजले नवौँ होलमा एक सट बचाउँदै फ्रन्ट नाइन एक अन्डर ३५ स्कोर गरे । 

यसपछि ११औँ र १८औँ होलमा बर्डी प्रहार गरेका नीरजले १२औँ र १५औँ होलको बोगी सामना गरी ब्याक नाइन इभन पार खेल्दै ३६ स्कोर गर्न सफल भए । एमेच्योरतर्फ राष्ट्रिय टिमका सदस्य सद्भाव र नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास इभन पार ७२ सहित संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन् । क्याप्टेन नोर्बु एक ओभर ७३ स्कोरसहित तेस्रो स्थानमा छन् । 
३६ होलको समाप्तिमा कट लागू हुनेछ । जहाँ उत्कृष्ट २१ प्रोफेसनल र टाईमा पर्ने खेलाडी तथा कम्तीमा ६ एमेच्योर खेलाडीले अन्तिम दुई दिनका लागि स्थान बनाउनेछन् । आठ लाख नगद पुरस्कार राशिको प्रतियोगितामा‌ ३१ प्रोफेसनल र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रोफेसनलतर्फका विजेताले उपाधिसँगै एक लाख ४० हजार र उपविजेताले ९० हजार रुपैयाँ हात पार्नेछन् ।