
नेपाल सरकारले सन् १९६३ मा आर्थिक तथा योजना मन्त्रालय स्थापना गरेको हो । सन् १९६८ मा आर्थिक तथा योजना मन्त्रालयलाई विघटन गरेर अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा छुट्याइयो ।
मुलुकको वित्तीय तथा मौद्रिक क्षेत्रसँग सम्बन्धित सम्पूर्ण गतिविधिको व्यवस्थापन गर्ने दायित्व अर्थ मन्त्रालयमा रहको छ । सार्वजनिक खर्च व्यवस्थापन, वित्तीय व्यवस्थापन, राजस्व संकलन, समष्टिगत आर्थिक स्थायित्व र आर्थिक विकास, वैदेशिक सहायता व्यवस्थापन, विदेशी विनिमय तथा नेपाल सरकारको अल्पकालीन र दीर्घकालीन खर्च व्यवस्थापनसम्बन्धी कार्यका लागि यो मन्त्रालय स्थापना भएको हो ।
अर्थ मन्त्रालयअन्तर्गत महालेखा नियन्त्रक कार्यालय, सार्वजनिक सम्पत्ति व्यवस्थापन कार्यालय, आन्तरिक राजस्व विभाग, भन्सार विभागलगायत संरचना रहेका छन् ।