2023-01-12-04-30-00.jpeg)
एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयको चालक अनुमतिपत्र कार्यालयले बिहान ८ बजेदेखि नै सेवा सुरु गर्ने तयारी गरेको छ ।
सधैँ कार्यालय समयभन्दा घन्टाैँ पहिले नै सेवाग्राही लाममा हुने गरेकाले भिडभाड व्यवस्थापनका लागि बिहान चाँडै सेवा सुरु गर्ने योजना बनाइएको कार्यालयले जनाएको छ । बिहान ८ बजेदेखि खुल्दा सेवाग्राही लाममा बस्नु नपर्ने र उनीहरूले थोरै समयमा काम गरिसक्ने कार्यालयका प्रमुख राजकुमार कपालीले बताए ।
‘लाममा बस्न नपरेपछि बिचौलियाले पनि ठग्न पाउँदैनन् । आउँछन् र खुरुखुरु जान सक्छन्,’ उनले भने । बिहानदेखि सेवा सुरु गर्नेबारे छलफल भइरहेको कार्यालयले जनाएको छ । सेवा प्रवाह कार्यालय समयमा हुने भए पनि सेवाग्राही बिहान ६ बजेदेखि लाममा बस्ने गरेको उनले बताए ।
कार्यालयले दैनिक तीनदेखि साढे तीन सय टोकन बाँड्ने गरेको छ । त्यसबाहेक टाढाबाट आएको जाममा परेको वा तुरुन्त अनुमतिपत्र चाहिने सेवाग्राहीलाई टोकन नभए पनि अवस्था हेरेर सेवा दिइने प्रमुख कपालीले बताए । उनले भने, ‘समस्या रहेकालाई टोकनविना ५० देखि एक सयसम्मलाई दिने गरिएको छ ।’
कार्यालयमा अहिले दरबन्दीअनुसार नै जनशक्ति कार्यरत रहेका छन् । ०७२ को दरबन्दीअनुसार ३५ जना र करारबाट २२ जना कार्यरत छन् । कार्यालयको व्यस्त समय ११ देखि २ बजेसम्म जनशक्ति कमी महसुस हुने भए पनि अरू समयमा जनशक्ति पर्याप्त नै रहेका कार्यालय प्रमुख कपालीले बताए ।
सेवाग्राहीको भिडभाड बिहानी समयमा बढी भए पनि दिउँसो कम रहेको छ । उनले भने, ‘३ बजेपछि कार्यालय नै सुनसान हुन्छ ।’ यातायात कार्यालय सधैँ नै सेवाग्राहीको भिडभाड बढी हुने कार्यालयका रूपमा रहेको छ । पहिले संघीय सरकारअन्तर्गत रहेको कार्यालय अहिले प्रदेश सरकारअन्तर्गत गएको छ । कार्यालयहरूले केही वर्षदेखि टोकन प्रणाली सुरु गरे पनि सेवाग्राही घन्टाैँ लाममा बस्नुपरेको छ । रासस