
अन्तर्राष्ट्रिय महिला दिवस एक यस्तो विश्वव्यापी कार्यक्रम हो, जसले विश्वभरका महिलाको उपलब्धिको खुसी मनाउँछ । राजनीतिदेखि सामाजिक जीवनसम्म सबै पक्षमा आफ्नो अलग छाप छाड्ने महिलालाई यस दिवसमा सम्मानित गरिन्छ । १९७५ यता संयुक्त राष्ट्रसंघले हरेक वर्ष एउटा विशेष मुद्दालाई अघि बढाउँदै यो दिवस मनाउने गरेको छ । यस वर्षको नारा ‘डिजिटअल : आविष्कार र प्रविधिमा लैंगिक समानता’ भन्ने रहेको छ ।
सन् १९०८ मा झन्डै १५ हजार महिलाहरूले अमेरिकाको न्युयोर्क सहरमा मतदान अधिकार, राम्रो तलब र काम गर्ने घन्टा कम गर्न माग गर्दै र्याली आयोजना गरेका थिए । यसको एक वर्षपछि ‘सोसलिस्ट पार्टी अफ अमेरिका’ले २८ फेब्रुअरीमा महिला दिवस मनाउने घोषणा गर्यो । यसरी पहिलोपटक अमेरिकामा महिला दिवस मनाइयो ।
अर्को वर्ष जर्मनीको सोसल डेमोक्रेटिक पार्टीकी महिला नेतृ क्लारा जेट्किनले डेनमार्कमा आयोजित अन्तर्राष्ट्रिय महिला सम्मेलनका दौरान अन्तर्राष्ट्रिय महिला दिवस मनाउनुपर्ने प्रस्ताव ल्याइन् । महिलाहरूको मागलाई अघि लैजानका लागि विश्वका सबै देशमा वर्षको एक दिन महिला दिवस मनाउनुपर्ने उनको प्रस्ताव थियो । यस प्रस्तावमा १७ देशका एक सयभन्दा धेरै महिलाले सहमति जनाए । त्यसपछि अन्तर्राष्ट्रिय महिला दिवस मनाउनका लागि समिति गठन भयो । १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्विट्जरल्यान्डले १९ मार्चमा अन्तर्राष्ट्रिय महिला दिवस मनाए ।
१९१३ मा अन्तर्राष्ट्रिय महिला दिवस १९ मार्चको साटो ८ मार्चमा मनाउने निर्णय गरियो । यसपछि हरेक वर्ष यही दिन महिला दिवस मनाउन थालियो । १९७५ मा संयुक्त राष्ट्रसंघले यस दिवसलाई मान्यता दियो र हरेक वर्ष एक विशेष नारासहित यो दिवस मनाउन थालियो । यस दिन विभिन्न देशमा सार्वजनिक बिदा हुन्छ । विश्वका धेरै ठाउँमा कला प्रदर्शनी, छलफल, र्याली तथा सम्मेलन आयोजना हुने गरेको छ ।
प्रविधिमा लैंगिक समानताको माग
संयुक्त राष्ट्रसंघले २०२३ मा प्रविधि क्षेत्रमा महिलाको समान सहभागिताको मुद्दालाई अघि बढाएको छ । प्रविधिमा समानता नभएसम्म लैंगिक विभेद अन्त्य नहुने राष्ट्रसंघको ठहर छ । राष्ट्रसंघका अनुसार पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रमा विश्वभर २२ प्रतिशत महिला मात्रै कार्यरत छन् । विश्वभरका एक सय ३३ आर्टिफिसियल इन्टेलिजेन्स प्रणालीहरूको विश्लेषण गर्दा ४४.२ प्रतिशत कम्पनीले लैंगिक विभेद गरेको राष्ट्रसंघको अध्ययनले देखाएको छ । त्यस्तै, एक सय २५ देशका महिला पत्रकारहरूले गरेको यस सर्वेक्षणमा ७३ प्रतिशतले आफ्नो कामका दौरान अनलाइनमार्फत हिंसा भोगेको उल्लेख छ ।
डिजिटल प्रविधिमा कायम लैंगिक खाडलले महिलाहरूलाई यसको लाभबाट वञ्चित गर्नेे राष्ट्रसंघले जनाएको छ । डिजिटल टेक्नोलोजीले महिला र अन्य सीमान्तकृत समुदायका लागि नयाँ ढोका खोलिरहेको र डिजिटल युगले असमानता र विभेदहरू हटाउनका लागि धेरै अवसर लिएर आएको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघले डिजिटल दुनियाँलाई सुरक्षित, थप सहभागितामूलक र समतामूलक बनाउनका लािग सबै देशका सरकार, अभियन्ता र निजी क्षेत्रलाई आग्रह गरेको छ । त्यस्तै, डिजिटल शिक्षालाई पनि अघि बढाउनुपर्ने आवश्यकता औँल्याएको छ । ‘कैयन् विश्वव्यापी संकटहरू सामना गर्दै राम्रो भविष्य बनाउनका लागि हामीसँग अवसर छ । केवल महिला र किशोरीहरूका लागि मात्रै होइन, सिंगो मानवता र पृथ्वीका सबै जीवनहरूका लागि,’ राष्ट्रसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
(एजेन्सीको सहयोगमा)