मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ फाल्गुण २४ बुधबार १०:५३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

घोराही–तुलसीपुर चार लेन ठेक्का रद्द प्रक्रिया अघि बढ्यो

Read Time : > 1 मिनेट
२०७९ फाल्गुण २४ बुधबार १०:५३:००

दाङको घोराही–तुलसीपुर चार लेन ठेक्का रद्द प्रक्रिया अघि बढेको छ । चार लेन परियोजना कार्यालय लमहीले सोमबार ठेक्का रद्द गर्न १४ दिने सूचना जारी गरेको हो । परियोजना प्रमुख अनिश थापामगरका अनुसार समयमा ठेकेदार सम्पर्कमा नआए सोही दिनदेखि नै ठेक्का रद्द हुनेछ । 

चार लेन ठेक्काको चौथोपटक थप गरिएको म्याद ०८० असारसम्म छ । तर, त्यो अवधिमा ठेक्का लिएको कम्पनीले काम गर्न सक्ने सम्भावना कम रहेकाले ठेक्का तोड्ने प्रक्रिया अघि बढेको हो । भारतीय तथ्य इन्जिनियरिङ एन्ड इन्फ्राले लिएको ठेक्काको काम पेटी ठेकेदारमार्फत हुँदै आएको छ । 

आठजना पेटी ठेकेदारलाई काम हुने भए पनि निर्माण सुरु भएको पाँच वर्षसम्म पनि १० प्रतिशतभन्दा बढी काम हुन सकेको छैन । जसले गर्दा यस क्षेत्रका जनप्रतिनिधि, विभिन्न संघ–संस्था तथा राजनीतिक दलले समयमा काम गर्न दबाब दिएका थिए । यदि काम गर्न नसके ठेक्का तोड्नुपर्ने माग राख्दै आएका थिए । 

पटक–पटक जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला समन्वय समितिको पहलमा छलफल भइरहेको थियो । तर, पनि सन्तोषजनक काम नगरेपछि ठेक्का तोडिएको परियोजना प्रमुख अनिश थापाले बताए । चार लेन सडक अलपत्र हुँदा अहिले नागरिकले सास्ती खेप्नुपरेको छ । सडकमा आवतजावत गर्दा यात्रुहरू, सडकवरपरका बासिन्दालगायतले निकै सास्ती खेप्नुपरेको छ । 

 लामो समयदेखि अलपत्र चार लेन  
घोराही–तुलसीपुर चार लेनको काम ०७५ माघदेखि सुरु भएको हो । ३० महिनामा काम सक्ने गरी सम्झौता भयो । उक्त सडकमा अहिलेसम्म सातजना पेटी ठेकेदार फेरिएका छन् ।   ०७८ जेठ ६ गतेभित्र काम सक्नुपर्ने भए पनि त्यसो हुन सकेन ।

काम सक्ने त टाढाको कुरा, ६ प्रतिशतभन्दा बढी प्रगति हुन सकेन । त्यसपछि ०७८ साउन २७ गतेसम्म काम सक्ने गरी पहिलोपटक, ०७८ पुस २८ गते सक्ने गरी दोस्रोपटक म्याद थप भयो । तर, काम अघि बढ्न नसकेपछि तेस्रोपटक ०७९ वैशाख २९ गते सक्ने गरी म्याद थप भएको थियो । त्यो समयमा पनि १० प्रतिशतभन्दा बढी काम हुन सकेन । अहिले खरिद ऐनको १२औँ संशोधनले चौथोपटकका लागि ०८० असारसम्म स्वतः म्याद थप गरेको छ ।

सुरुमा अष्ट भैरव निर्माण सेवाका अनुप पाण्डेले ठेक्का पाएका थिए । त्यसपछि सुवास श्रेष्ठ, जनक डाँगीले पेटी ठेकेदारका रूपमा जिम्मा पाए । त्यसपछि पुनः अनुप पाण्डे आए । उनले पनि गर्न नसकेपछि एकेन्द्र खड्का, विजय पाठक र रोशन श्रेष्ठले पनि प्रत्येकले पेटी ठेक्का पाए ।

उनीहरूबाट पनि काम हुन नसकेपछि अहिले सुनीलजंग रायमाझी आएका हुन् ।भारतीय एक्जिम बैंकको सहयोगमा चार लेन सडक भ्याटसहित करिब एक अर्ब २३ करोडमा निर्माण हुन लागेको हो । भारतीय तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले ठेक्का लिएको हो । तर, उसले विभिन्न पेटी ठेकेदारलाई जिम्मा दिने, तर समयमा काम नगर्ने अवस्था हुँदा नागरिकले निकै सास्ती खेप्नुपरेको छ ।

पछिल्लो समय पुस १८ देखि बुटवलका सुनीलजंग राइमाझीले पेटी ठेक्का पाएका छन् । तर, उनले पनि काम अगाडि बढाउन सकेका छैनन् । तोकिएको समयमा ठेक्काको ३० प्रतिशत काम नसकेकाले अहिले ठेकेदार कम्पनीलाई दैनिक करिब तीन लाख २१ हजार नौ सय नेपाली रुपैयाँ जरिवाना गर्ने गरेको छ । कुल रकमको १० प्रतिशतसम्म जरिवाना हुने व्यवस्थाअनुसार ठेकेदार कम्पनीलाई जरिवाना गरिएको हो ।