मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ फाल्गुण २३ मंगलबार १६:२५:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

सँघारमा स्ववियु निर्वाचन, गुल्मीमा छैन रौनक

विद्यार्थी सिद्धान्त र विचारविहीन, नेता अलमल र छलफलमा

Read Time : > 2 मिनेट
२०७९ फाल्गुण २३ मंगलबार १६:२५:००

स्ववियु विद्यार्थीको साझा संस्था हो। स्ववियुसँग बलिदानको ओझपूर्ण इतिहास छ। ठूला जनआन्दोलन र राजनीतिक परिवर्तन लागि विद्यार्थी र संगठनको निर्णायक भूमिका नेपाली राजनीतिक इतिहास कोरिएका छन्। 

पछिल्लो समय भने विद्यार्थी संगठनहरू आ-आफ्नो व्यक्तिगत र दलगत स्वार्थमा केन्द्रित छन्। जसका कारण विद्यार्थीको हकहित र अधिकार प्राप्तिको साझा थलो स्ववियुप्रति विद्यार्थीमा ऊर्जा भेटिँदैन। क्याम्पसमा निर्वाचनको रौनक छैन। 

पटक–पटकका स्ववियु चुनावमा निर्वाचित विद्यार्थी नेता र संगठनले शैक्षिक गुणस्तर र समानताका लागि केही पनि गरेनन् । विद्यार्थी संगठन र नेता पार्टीका सिपाही मात्रै हुने प्रवृत्ति हाबी भएकाले चुनावमा मात्रै प्रयोग र उपयोग हुने गरेका छन्। 

जिल्लाको पुरानो र स्ववियु निर्वाचनका दृष्टिकोणमा समेत सबै संगठनको केन्द्र मानिएको रेसुंगा बहुमुखी क्याम्पस नै सुनसान बनिरहेको छ। ‘विद्यार्थी छैनन्, आर्थिक अवस्था राम्रो नभएर रेसुंगा क्याम्पस ढल्यो। १० थरीका संगठनले केही गर्नेवाला छैनन्,’ एक विद्यार्थी नेताले भने, ‘पार्टीले तोक्ने र पार्टी सिद्धान्त नै घोक्नेहरूबाट केही हुँदैन।’

उनले अहिलेको स्ववियु निर्वाचनमा आफू कुनै पनि पक्षमा सहभागी नहुने बताए। निर्वाचन आउन दुई साता मात्र रहे पनि क्याम्पसहरूमा कुनै संगठनमा उत्साह रहेको छैन। ‘अहिलेसम्म क्याम्पस सुनसान छ। विद्यार्थी नेताहर नै सक्रिय छैनन्,’ रेसुंगा बहुमुखी क्याम्पसमा बिएड प्रथम वर्षमा अध्ययनरत करिश्मा थापाले भनिन्, ‘राजनीतिले सबै वाक्क छन् ।’

विद्यार्थी सिद्धान्त र विचारविहीन : गुणानिधि शर्मा, सहायक क्याम्पस प्रमुख 

देशको राजनीतिक खिचातानी र विद्यार्थी आन्दोलन नै कसरी अगाडि बढाउने भन्ने विषय नै अन्याेलमा परिरहेका वेला क्याम्पसहरूमा गठन हुने कमिटी सक्रिय छैनन्। 

०७३ पछि स्ववियु निर्वाचन भएको छैन। स्थानीय र संघ तथा प्रदेशमा दुई निर्वाचन भए। संगठन स्ववियुभन्दा दलगत निर्वाचनमा अभ्यस्त भए। 

लामो समय राजनीति शास्त्र विषय अध्यापन गराइरहेका रेसुंगा बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख गुणानिधि शर्माले स्ववियु निर्वाचन सँघारमा रहे पनि निर्वाचनको कार्यतालिका र संरचनाले मात्रै विद्यार्थीले भाग लिएको बताए।

उनले देशको मूल राजनीतिक प्रणाली नै अस्त–व्यस्त भएका कारण युवा विद्यार्थीमा सिद्धान्त र विचारविहीन हुँदा अहिलेको अवस्था आएको बताए। 

कमिटीहरू गठनसँगै विचार र दर्शनको प्रशिक्षणले मात्रै ऊर्जा प्राप्त हुने भएकाले दलहरूले विद्यार्थीलाई आफ्नो अभीष्ट पूरा गर्ने माध्यम बनाउँदा समस्या देखिएको शर्माले बताए। 

छलफल र अलमलमा संगठन

अनेरास्वावियु गुल्मीका अध्यक्ष शोभाखर गिरीका अनुसार कुनै क्याम्पसका उम्मेदवारको अझै टुंगाे लागेकाे छैन। 

भर्खरै कमिटीहरु विस्तार भए पनि राम्रो उपस्थिति छैन। कमिटीमै बस्न नमान्ने र उम्मेदवार हुने कुरामै थुप्रै दबाब सिर्जना गर्नुपर्ने अवस्था रहेको गिरीले बताए। 

उनले निरन्तर स्ववियु निर्वाचन नहुने र निर्वाचनकेन्द्रित अभियान मात्रै हुने भएकाले आकर्षण कम देखिएको स्वीकार गरे। उनले आफूहरू एकल प्रतिस्पर्धाकै योजनामा रहे पनि समीकरणको विकल्प पनि रहेको बताए। 

पछिल्लो दुई निर्वाचनमा विजयी प्राप्त गरेको रेसुंगा बहुमुखी क्याम्पससहित श्रृंगेश्वर बहुमुखी क्याम्पस, धुर्कोट परमानन्द, रुद्रावति र मानका टीकाराम बहुमुखी क्याम्पसमा आफूहरूको पकड रहेको दाबी गरे।

 नेविसंघ जिल्ला सभापति झविन्द्र पाण्डेयले रेसुंगा बहुमुखी क्याम्पसको हकमा उम्मेदवारको टुंगो करिब नजिक भए पनि अरू क्याम्पसका लागि गृहकार्य भइरहेको बताए । उनले आफूहरू केन्द्रीय समीकरणको पक्षमा रहेको बताए। 

निरन्तर स्ववियु निर्वाचन नभएका कारण आकर्षण कम भएको बताए। ‘उम्मेदवार म बन्छु भन्दा पनि तँ बन भन्नुपर्ने अवस्था छ। धेरै ठाउँमा विजयी बन्ने गरेर उम्मेदवार छनाेट गर्छौँ,’ उनले भने, ‘निरन्तर निर्वाचन नहुँदा बेवास्ता बढ्यो।’ अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष भरत चन्दले समीकरण टुंगाे लगाएर उम्मेदवार छनाेट गर्ने बताए। 

चन्दले केन्द्रीय वा जिल्लाको छुट्टै समीकरण हुने भन्ने विषयमा छलफल भइरहेकाले निर्वाचन हुने सबै क्याम्पसमा क्रान्तिकारीको पनि उम्मेदवार हुने बताए। उनले जनज्योति, श्रृगेश्वर, चन्द्रकोट र परमानन्द बहुमुखी क्याम्पसमा आफूहरूको पकड रहेको दाबी गरे।

नौ क्याम्पसमा निर्वाचन हुँदै

चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लक्षित गर्दै गुल्मीका नौ क्याम्पसमा विभिन्न विद्यार्थी संगठनले संगठन दर्ता गराएका छन्। 

कांग्रेसनिकट विद्यार्थीको संगठन नेपाल विद्यार्थी संघ, नेकपा एमालेनिकट विद्यार्थीको संगठन अनेरास्ववियु, नेकपा माओवादी केन्द्रनिकट विद्यार्थीको संगठन अनेरास्ववियु (क्रान्तिकारी), नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियुले विभिन्न क्याम्पसमा संगठन दर्ता गराएका छन्। 

जिल्लामा कुल ११ वटा क्याम्पस छन्। जसमध्ये नौ क्याम्पसमा संगठन दर्ता भएका छन्। त्यसमध्ये आठवटा क्याम्पसमा प्रमुख तीन संगठन नेविसंघ, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) मात्रै संगठन दर्ता गराएका छन्।

रेसुंगा बहुमुखी क्याम्पस, रुद्रावती बहुमुखी क्याम्पस, जनज्योति बहुमुखी क्याम्पस, मानका टीकाराम बहुमुखी क्याम्पस, श्रृंगेश्वर बहुमुखी क्याम्पसमा तीन संगठनले मात्रै संगठन दर्ता गराएका छन्।

त्यस्तै रिडीस्थित रिडी संस्कृत विश्वविद्यालय र दिगाम आदर्श बहुमुखी क्याम्पसमा निर्वाचन हुने सम्भावना कम छ। धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा चार संगठनले संगठन दर्ता गराएका छन्।