१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
जिल्ला ब्युरो नयाँ पत्रिका
२०७९ फाल्गुण २३ मंगलबार ०८:४३:००
Read Time : > 5 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कछुवा गतिमा आधारभूत अस्पताल

Read Time : > 5 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
२०७९ फाल्गुण २३ मंगलबार ०८:४३:००

तीन सय ९६ पालिकामा दुई वर्षभित्र निर्माण सम्पन्न गरेर सञ्चालन गर्ने गरी तत्कालीन प्रधानमन्त्री केपी ओलीले १७ मंसिर ०७७ मा आधारभूत अस्पताल शिलान्यास गरेका थिए । तर, २८ महिना हुँदा पनि अधिकांश ठाउँमा भवन बन्न सकेका छैनन् । निर्माण सुरु भएकाको पनि प्रगति कछुवा गतिमा छ । भवन नबन्दा स्वास्थ्यचौकीको स्तरोन्नतिसमेत हुन सकेको छैन । 

ताप्लेजुङ : जग्गा प्राप्तिमै समस्या
यहाँका सात पालिका एकसाथ शिलान्यास गरिएको अस्पताल अहिलेसम्म ठडिनसकेको छैन । कतै जग्गा प्राप्तिमा समस्या छ । कतै डिपिआर अलपत्र परेको छ भने केहीमा निर्माण जारी छ । फक्ताङलुङ गाउँपालिका अहिलेसम्म जग्गा प्राप्ति भएको छैन । जग्गा प्राप्त नहुँदा बर्सेनि अस्पताल बनाउन आएको रकम फ्रिज हुने गरेको गाउँपालिकाका स्वास्थ्य प्रमुख दिनेश भट्टराई बताउँछन् । उनका अनुसार अघिल्ला दुई वर्षमा एक करोड रकम फिर्ता भइसकेको छ । सिदिङ्वा गाउँपालिकामा डिपिआर बनेपछि परियोजना अलपत्र परेको छ । पालिकाका निमित्त प्रमुख रुद्र बेघा डिपिआर तयार भएपछि विभिन्न कारणले स्थगन भएको बताउँछन् । मिक्वाखोला गाउँपालिकामा भने निर्माण कार्य चलिरहेको छ । पाँच शड्ढयाको अस्पताल भवन आगामी असार मसान्तसम्ममा निर्माण सम्पन्न भइसक्ने पालिकाका निमित्त प्रमुख तथा स्वास्थ्य प्रमुख ललितनारायण यादवको भनाइ छ । 

झापा : दुई स्थानीय तहमा अझै सुरु भएन निर्माण 
कमल गाउँपालिका र गौरादह नगरपालिकामा १५ शड्ढयाको अस्पताल निर्माणका लागि संघीय सरकारले बहुवर्षे योजनामा बजेट विनियोजन गरेको थियो । तर, अहिलेसम्म अस्पताल निर्माणको थालनी हुन सकेको छैन । कमल गाउँपालिकालाई १५ शड्ढयाको अस्पताल निर्माण गर्न १८ करोड बजेट विनियोजन भएको थियो । आशिष–आशीर्वाद–स्वामीनारायण जेभीले १२ करोड ३९ लाखमा ठेक्का लिएको छ । निर्माण कम्पनीले मोबिलाइजेसनबापत करिब एक करोड रुपैयाँ रकमसमेत लगिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले जानकारी दिए । कम्पनीले दुई वर्षमा सक्ने गरी ०७८ वैशाखमा अस्पताल निर्माणको ठेक्का लिए अहिलेसम्म निर्माण अघि बढेको छैन । गौरादह नगरपालिकामा पनि अस्पताल निर्माण हुन सकेको छैन । जग्गा व्यवस्थापन नभएकाले शिलान्याससमेत हुन नसकेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले अझैसम्म अस्पताल निर्माण हुने जग्गा आफ्नो नाममा ल्याउन सकेको छैन । गौरादह– १ मा निर्माणका लागि जग्गा प्राप्ति भए पनि जग्गा नगरपालिकाको नाममा आइनसकेको नगरप्रमुख छत्रपति सुवेदीले जानकारी दिए । 

संखुवासभा : डिपिआर स्वीकृत भएनन्
संखुवासभामा आधारभूत अस्पताल निर्माण कार्य सुस्त गतिमा रहेको छ । जिल्लाका दुईवटा पालिकामा आधारभूत अस्पताल निर्माण गर्न स्वास्थ्य मन्त्रालयले डिपिआर नै स्वीकृत गरेका छैनन् । संखुवासभाका पाँचखपन, चैनपुर, धर्मदेवी र मादी नगरपालिका तथा सभापोखरी, चिचिला, भोटखोला, मकालु र सिलिचोङ गाउँपालिकामा भवन शिलान्यास गरिएका थिए । पाँचखपन, चैनपुर, धर्मदेवी नगरपालिका र सभापोखरी, चिचिला, भोटखोला गाउँपालिकामा निर्माण कार्य कछुवाको गतिमा छ । मकालु गाउँपालिकाले भर्खरै ठेक्का आह्वान गरेको र प्राविधिक मूल्यांकन हुन बाँकी रहेको गाउँपालिका अध्यक्ष ओङ्दीछिरिङ शेर्पाले जानकारी दिए । मादी नगरपालिका र सिलिचोङ गाउँपालिकामा जग्गा भिरालो भएको भन्दै स्वास्थ्य मन्त्रालयले डिपिआर अस्वीकार गरेको छ । सभापोखरी गाउँपालिकामा सुस्त गतिमा निर्माण चलिरहेको छ । चिचिला गाउँपालिकामा पाँचवटा बेडको अस्पताल बनाउने कार्य सुरु भएको छ । जग्गा विवादका कारण ढिलो गरी आधारभूत अस्पताल बनाउने काम सुरु भएको हो । भोटखोला गाउँपालिकामा पाँचवटा बेडको आधारभूत अस्पताल स्वीकृत भई निर्माण कार्य अघि बढेको प्रमुख प्रशासकीय अधिकृत फुर्पु भोटेले बताए । चैनपुर नगरपालिकामा निर्माण कार्य कछुवाको गतिमा छ । धर्मदेवी नगरपालिकामा पाँचवटा बेडको आधारभूत अस्पताल निर्माण चलिरहेको छ । 

मोरङ : थालिएका निर्माण पनि अधुरै
मोरङमा कतै भर्खर अस्पताल निर्माणका लागि टेन्डर प्रक्रिया सुरु भएको छ भने कतै डिपिआर स्वीकृतिको क्रममा छ । निर्माण अघि बढेका पालिकाहरूमा पनि अस्पताल अधुरा र अलपत्र अवस्थामा छन् । केही पालिकाले भर्खर निर्माण थाले पनि बजेट अभाव देखिएको छ । केहीले जमिन सुनिश्चित गर्न नसक्दा योजना नै फिर्ता पठाएका छन् । मोरङमा एउटा पनि निर्माण सम्पन्न भएका छैनन् । लेटाङ नगरपालिकाले भर्खर अस्पताल निर्माण थालेको छ । प्रमुख अधिकृत पुरुषोत्तम घिमिरेले अस्पतालको निर्माण कार्य टाइबिमसम्म पुगेको जानकारी दिए । बेलबारी नगरपालिकाका पनि धमाधम निर्माण चलिरहेको छ । तर, सम्पन्न भएको छैन । प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीका अनुसार सुरुमा बिजुलीको ट्रान्समिसन लाइनले गर्दा ढिलाइ भए पनि हाल निर्माण कार्य तीव्र रूपले भइरहेकोछ । पथरीशनिश्चरे नगरपालिकामा बजेट अभावले काममा तीव्रता आउन सकेको छैन । लेखा अधिकृत पीताम्बर वस्तीले भने, ‘माथिबाट एक किस्ता मात्र पैसा पठाएको हो, त्यसपछि पैसा नआउँदा निर्माण कार्यले गति लिन सकेको छैन ।’ बुढीगंगा गाउँपालिकाकामा भर्खर निर्माण सुरु भएको छ । नगर स्वास्थ्य संयोजक दीपकुमार शाहका अनुसार अस्पतालको पिलर खडा गरेर वाल निर्माण गर्ने काम भइरहेको छ । मिक्लाजुङ गाउँपालिकामा निर्माण अधुरो छ । स्वास्थ्य अधिकृत चिन्तामणि पोखरेलका अनुसार टाइबिमको काम भइरहेको छ । केराबारी गाउँपालिका– २ मा पिलर उठाउने काम मात्र भएको छ । ग्रामथान गाउँपालिकामा टेन्डर प्रक्रिया भर्खर सुरु भएको छ ।  

सिराहा : धेरैजसो पालिकामा सुरु भएन
औरही गाउँपालिका– ५ मा १५ शड्ढया क्षमताको आधारभूत अस्पताल भवन शिलान्यास भए पनि जग्गा विवादले निर्माण नै सुरु हुन सकेन । जसका कारण पटक–पटक बजेट फिर्ता भयो । त्यसपछि दुई महिनाअगाडि मात्र ६० लाख रुपैयाँमा औरही गाउँपालिकाले ११ कट्ठा जग्गा खरिद गरेर डिपिआर अघि बढाएको छ । डिपिआर अहिले स्वास्थ्य मन्त्रालयमा स्वीकृतको प्रक्रियामा रहेको औरहीका स्वास्थ्य संयोजक उपेन्द्र यादवले जानकारी दिए । विष्णुपुर गाउँपालिका– १ वा ५ मा अस्पताल बनाउने भन्ने विवाद अदालतसम्मै पुग्यो । सुरुमा दुवै वडामा १० शड्ढयाको अस्पताल निर्माणको शिलान्यास गरिएको थियो । पछि कता बनाउने भन्ने विवाद चल्यो । अदालतबाट अन्तिम फैसला आएपछि भने विष्णुपुर– ५ मा अस्पताल निर्माण हुने भएको छ । 

कल्याणपुर नगरपालिका– ११ मा १५ शड्ढयाको अस्पताल बनाउने डिपिआर भर्खरै निर्माण भएको छ । गोलबजार नगरपालिका– ७ पुरानो चोहर्वामा १५ शड्ढयाको अस्पताल निर्माणको टेन्डर ०७८ पुसमै लागेको थियो । रविना ओम गणेश जेभीले १५ कात्तिक ०८० मा निर्माण सक्ने गरी ११ करोड ११ लाखमा सम्झौता गरे पनि भर्खर वाउन्ड्री वाल लगाउन थालिएको छ । नगरपालिकाले समन्वय नगर्दा निर्माणमा ढिलाइ भएको कम्पनीका साइट इन्चार्ज दीपेन्द्र सिंहको दाबी छ । कर्जन्हा नगरपालिका– २ बन्दीपुरमा १० शड्ढयाको अस्पताल भवन शिलान्यास भए पनि अहिलेसम्म निर्माण कार्य अघि बढेको छैन । बरियारपट्टी गाउँपालिका– १ कचनारीमा अस्पताल बनाउन जग्गा खरिद भइसकेको छ । भर्खरै जग्गा खरिद प्रक्रिया टुंगो लागेकाले अस्पताल निर्माण कार्य पनि अगाडि बढ्ने बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोष महतोले बताए । सुखीपुर नगरपालिका– ८ मा १५ शड्ढयाको अस्पताल निर्माण कार्यको टेन्डर प्रक्रिया सुरु हुन लागेको छ । 

धादिङ : शिलान्यास भयो, निर्माण अघि बढेन
बेनिघाट रोराङ गाउँपालिका– ५ धादिङको बेनीघाट स्वास्थ्य चौकीको शिलान्यास भएको दुइ वर्ष बित्यो । न अस्पताल बन्यो, न शिलान्यास गरेको ठाउँको पहिचान बनिरह्यो । अस्पताल बन्नुपर्ने जग्गा पार्किङमा परिणत भयो । २७ महिनाअघि शिलान्यास कहाँ गरिएको थियो भन्ने छुट्याउन मुस्किल छ । धादिङका प्रायः सबै पालिकामा यस्तै अवस्था छ । बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद थपलिया विवेक जग्गा अभावमा योजना अलपत्र परेको बताउँछन् । शिलान्यास गरिएको स्थान अस्पताल निर्माणका लागि उपयुक्त नरहेको प्राविधिकहरूको भनाइ छ । ‘न योग्य जग्गा जमिन, न डिपिआर, न तयारी, यस्ता कारणले १० शड्ढयाको अस्पताल भवन निर्माण अघि बढ्न सकेन,’ थपलिया भन्छन् । उनले प्रदेश सरकारसँग समन्वय भइरहेको भन्दै यही वर्षबाट निर्माण कार्य अघि बढ्ने दाबी गरे । त्रिपुरासुन्दरी गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र भवन भने निर्माणाधीन चरणमा छ । फाउन्डेसनका कार्य भइरहेको स्वास्थ्य संयोजक यमबहादुर श्रेष्ठले बताए । ज्वालामुखी गाउँपालिका– २ सातदोबाटोमा शिलान्यास गरिएको अस्पताल पनि कछुवा गतिमा छ । १५ शड्ढयाको अस्पताल भवनको जगको काम भइरहेको छ । 

कञ्चनपुर : निर्माण कार्य कछुवा गतिमा 
कञ्चनपुरका कुनै पनि पालिकामा आधारभूत अस्पताल भवन बनिसकेका छैनन् । केही पालिकामा निर्माण जारी छ, बेदकोट नगरपालिकामा निर्माण कार्य अझै सुरु भएको छैन । पुनर्वास नगरपालिका– ५ त्रिभुवन बस्तीमा शिलान्यास गरिएको अस्पताल फाउन्डेसनमै सीमित छ । पुनर्वास नगरपालिका स्वास्थ्य शाखाप्रमुख राम बहादुर धामीले भने, ‘ठेकेदारले जग मात्रै निर्माण गरेको छ, बाँकी काम अघि बढेको छैन ।’ कृष्णपुर नगरपालिका ५ र ८ नम्बर वडामा निर्माण सम्झौता भएसके पनि काम सम्पन्न भएको छैन । कृष्णपुर नगरका प्रमुख प्रशासकीय अधिकृत शिवसिंह भण्डारीले सुरुवाती चरणमा दुई स्थानमा १५–१५ शड्ढयाको अस्पतालको योजना गरेको र पछि मन्त्रालयबाट एक पालिकामा एक मात्रै निर्माण हुने भन्ने निर्णय आएपछि ढिलाइ भएको बताए । बेलडाँडी गाउँपालिकामा गत वैशाखमा ठेक्का सम्पन्न भएको छ । बेलडाँडीका प्रमुख हरिशचन्द्र रानाले अब तीव्रगतिमा निर्माण अघि बढ्ने बताए । बेलौरी नगरपालिका स्वाथ्य शाखाप्रमुख मानबहादुर चन्दले २० प्रतिशत निर्माण कार्य सकिएको जानकारी दिए । दोधाराचाँदनी नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख जयबहादुर महराका अनुसार ४५ प्रतिशत काम भएको छ । लालझाडी गाउँपालिकामा पनि पहिलो तला ढलान भएको गाउँपालिका अध्यक्ष निर्मल रानाले बताए । 

गोरखा : चार पालिकामा योजना अलपत्र
गोरखाका आठवटा स्थानीय तह आधारभूत अस्पताल निर्माणका लागि छनोट भएका थिए । तीमध्ये आरुघाट, धार्चे, भीमसेनथापा र चुमनुब्री गाउँपालिकामा अझैसम्म निर्माण अघि बढ्न सकेको छैन । बारपाक सुलिकोट, अजिरकोट, सहिदलखन र सिरानचोकमा निर्माण चलिरहेको छ, पूरा भएको छैन । आरुघाट गाउँपालिकाको आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रूपमा विकास गर्ने गाउँपालिकाको योजना थियो । उक्त ठाउँ बुढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा परेकाले नयाँ अस्पताल भवन निर्माण गर्न समस्या भएको स्वास्थ्य शाखाका प्रमुख प्रवीन थापाले बताए । धार्चे गाउँपालिका– ५ माछाखोलामा पनि पाँच शड्ढयाको आधारभूत स्वास्थ्यचौकी निर्माण हुन सकेको छैन । 

तिब्बतसँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिका– ३ सिर्दिवासमा पाँचवटा बेडको अस्पताल शिलान्यास भइसकेको छ । तर, अहिलेसम्म अस्पताल भवन निर्माणका लागि सबै कागजपत्र मन्त्रालयमा पेस गरे पनि कुनै प्रक्रिया अगाडि बढाउन नसकेको गाउँपालिकाका प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले बताए । त्यस्तै, भीमसेन थापा गाउँपालिकाको पनि अहिलेसम्म भवन निर्माण हुन सकेको छैन । सहिद लखनमा गाउँपालिकामा अस्पताल भवन निर्माणका लागि जग्गा सम्याउने काम भइरहेको छ । डेढ महिनाअघि मात्र जग्गा सम्याउने काम सुरु भएको र तीन वर्षभित्र अस्पताल निर्माण सक्ने योजना रहेको उनले बताए । बारपाक सुलिकोट गाउँपालिका– ४ को हुँडीफाँटमा १५ बेड अस्पताल निर्माण भइरहेको छ । सिरानचोक गाउँपालिका– ८ जौबारीमा पनि भवन निर्माणाधीन छ । यस्तै, अजिरकोट गाउँपालिका– ३ को भच्चेकमा अस्पताल निर्माणधीन अवस्थामा छ ।

ताप्लेजुङमा केशवप्रसाद भट्टराई, झापामा चिरञ्जीवी घिमिरे, संखुवासभामा नवीन गुरुङ, विराटनगरमा गणेश लम्साल, सिराहामा सुरेन्द्रकुमार कामती, धादिङमा अर्जुन श्रेष्ठ, गोरखामा केशव गुरुङ र कञ्चनपुरमा मोहन विष्ट