मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १७ आइतबार
  • Sunday, 03 December, 2023
२०७९ फाल्गुण २२ सोमबार २२:२१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

झारफुकको बहानामा कुटपिट गरी बालिकाको लिइयो ज्यान

आफूलाई झाँक्री विद्या जानेको बताउने २२ वर्षीया महिला पक्राउ

Read Time : > 1 मिनेट
२०७९ फाल्गुण २२ सोमबार २२:२१:००

रुपन्देहीको सैनामैना नगरपालिका– १० झिमझिमेकी १४ वर्षीया सीता ज्ञवालीमा १५ फागुनदेखि कान दुख्ने समस्या देखियो । परिवारका सदस्यले अस्पताल लगी उपचार गराए । तर, कान दुख्न छाडेन ।  

गाउँकै केहीले सैनामैना– १० बेमतेनीकी २२ वर्षीया सोनिया रेश्मीलाई माता आउने गरेको र उनले झारफुक गरी निको पारिदिने गरेको बताए । यो सुनेपछि परिवारका सदस्यले शनिबार सीतालाई त्यहीँ लिएर गए । 

आफूले झाँक्री विद्या जानेको बताउने सोनियाँले झारफुक गर्ने नाममा सीतालाई लछारपछार पारिन् । भुइँमा लडाएर कुटपिट गरिरहिन् । निको हुनुको साटो बालिका झन् कमजोर बनिन् । राति साढे नौ बजेतिर सीताले प्राण छाडिन् । यसरी परिवारका सदस्य अन्धविश्वासको सहारा पर्दा स्थानीय विद्यालयमा कक्षा नौमा अध्ययन गर्दै गरेकी सीताले ज्यान गुमाइन् । 

दुई दिनपछि सोमबार प्रहरीले बालिका हत्यामा संलग्न रहेको आरोपमा आफूलाई माता बताउने सोनियाँलाई सार्वजनिक गर्यो । प्रहरीका अनुसार घटनापछि सोही राति परिवारका सदस्यले कपिलवस्तुको लक्ष्मणघाट लगेर अन्तिम संस्कार गरेका थिए । 

तर, केही स्थानीय घटनाबारे प्रहरीलाई जानकारी गराएपछि अनुसन्धान सुरु भएको थियो । त्यसक्रममा प्रहरीले घटनाको विषयमा स्थलगत अवलोकन, मुचुल्का, सीतामाथि भएको कुटपिटको भिडियो तथा शव जलाउन लैजाँदै गर्दा बाटोका सिसिटिभी क्यामेरामार्फत कैद भएका भिडियोहरू संकलन गरेको छ। 

यही क्रममा इलाका प्रहरी कार्यालय सालझन्डीको टोलीले सोनियाँलाइ पक्राउ गरेको हो । पक्राउपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट सात दिनको म्याद लिएर प्रहरीले रेश्मीमाथि अनुसन्धान अगाडि बढाएको छ । 

प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले आफूलाई माता र झाँक्री विद्या जानेको बताउने सोनियाँ रेश्मीले कुटपिट गर्दै गर्दा सीताको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट पाइएको बताए ।  ‘कुट्दा कुट्दै उनकै घरमा मृत्यु भएको रहेछ, घट्नाको अनुसन्धानमा खटिएका इलाका प्रहरी कार्यालय सालझन्डीबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

यसरी सार्वजनिक भयो घटना
सामाजिक सञ्जाल फेसबुकमा आइतबार झारफुक गरी बिरामीलाई सन्चो बनाउँछु भन्दै एक महिलाले बालिकालाई भुईंमा लडाई, घोप्टो पारी कुटपिट गरेको भिडियो सार्वजनिक भयो । भिडियो प्रहरीले पनि हेरे । 

बालिकाको शरीरमाथि बसेर हातमा घण्टी बजाउँदै महिलाले बालिकाको गालामा थप्पड हान्ने, आइज, आ देखिस्, कति खान्छस्, मेरो पावर देखिस् भन्दै रुद्राक्षको मालाले शरीरका जिभिन्न भागमा हान्ने, भुईंमा लडाउने, टाउको र घाँटीमा खुट्टाले टेक्ने, पटक–पटक जगले नाक र मुखमा पानी खन्याउने, कपाल समाई टाउको बटारी दिने, अनुहारको भागमा थुक्ने, खरानी खुवाइदिने  र लछारपछार गरी निर्मम यातना दिएको भिडियोमा देखिन्छ । 

भिडियो देखेलगत्तै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । घटना रुपन्देहीको सैनामैना नगरपालिका– १० मा भएको पत्ता लागेपछि झारफुक गर्ने विद्या जानेको बताउँदै यातना दिने महिलाको पहिचान खुलेको प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिए । 

इलाका प्रहरी कार्यालय सालझन्डीबाट उनकै नेतृत्वमा गएको प्रहरी टोलीले घटनास्थलको अध्ययन गरेको थियो । सोही टोलीले सोनियाँ भनिने ती महिलालाई घरबाट पक्राउ गरेको थियो । 

प्रहरी निरीक्षक मरासिनीले सोनियाँको घरबाट बालिकालाई लछारपछार, कुटपिट गर्दा प्रयोग भएका विभिन्न सामाग्री त्रिशूल, जग, रुद्राक्षको मालालगायत पनि बरामद गरिएको जानकारी दिए ।