
चालू आर्थिक वर्षको ६ महिनामा वाणिज्य बैंकहरूमा लगानीयोग्य पुँजीको चाप कायमै रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय सूचकसम्बन्धी जानकारीअनुसार वाणिज्य बैंकहरूको कर्जा निक्षेपको अनुपात (सिडी रेसियो) ८६.५३ प्रतिशत पुगेको छ । यद्यपि, यो गत असोज मसान्तको तुलनामा भने कम हो । त्यस समयमा बैंकहरूको कर्जा निक्षेपको अनुपात ८७.२१ प्रतिशत थियो ।
पुस मसान्तसम्म १४ वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात ८५ प्रतिशतभन्दा माथि छ । कृषि विकास बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, एभरेष्ट, माछापुच्छ्रे, कुमारी, लक्ष्मी, ग्लोबल आइएमई बैंक, सिटिजन्स, प्राइम, सन्राइज, एनएमबि, प्रभु र सिभिल बैंकको यस्तो अनुपात ८५ प्रतिशतभन्दा माथि छ । प्राइम, नबिल बैंक र ग्लोबल आइएमई बैंकको सिडी रेसियो ९० प्रतिशतकै हाराहारी कायम भएको छ । कुमारी बैंकको सिडी अनुपात भने ९०.७० प्रतिशत छ ।
बैंकहरू एक–आपसमा गाभिएर एकीकृत कारोबार सुरु गरेकाले पनि अधिकांश बैंकहरूको सिडी रेसियो चापमा परेको देखिन्छ । मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाले कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सीमा नाघेमा उक्त सीमाभित्र ल्याउन दुई वर्षको समय पाइसकेका छन । राष्ट्र बैंकले वित्तीय संस्था एक–आपसमा गाभ्ने–गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन)सम्बन्धी विनियमावली, २०७३ पाँचौँ संशोधन गर्दै उक्त व्यवस्था गरेको थियो ।
चालू आर्थिक वर्ष सुरु हुनुभन्दा अगाडिदेखि नै तरलताको अभाव झेल्दै आएका बैंकहरूमा अझै पनि तरलता सहज हुन सकेको छैन । निक्षेप संकलन उल्लेख्य बढ्न सकेको छैन भने चर्को ब्याजदरलगायतका कारण देखाउँदै कर्जा प्रवाह हुन सकेको छैन । राष्ट्र बैंकका अनुसार एकै दिन बैंक तथा वित्तीय संस्थाको निक्षेप ६ अर्बले घटेको छ । आइतबार समग्र बैंक तथा वित्तीय संस्थाको ५३ खर्ब ८३ अर्ब रुपैयाँ रहेको निक्षेप सोमबार ६ अर्बले घटेर ५३ खर्ब ७७ अर्ब छ । यस्तै कर्जा प्रवाह जम्मा दुई अर्बले बढेर ४८ खर्ब २१ रुपैयाँ पुगेको छ ।
पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप उल्लेख्य रूपमा वृद्धि नहुँदा बैंकहरू कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् । राष्ट्र बैंकका अनुसार नौवटा बैंकको सिडी रेसियो ८५ प्रतिशतभित्रै छ । सबैभन्दा सहज अवस्थामा स्ट्यान्डर्ड चार्टर्ड बैंक छ । यो बैंकको सिडी रेसियो ७८.७३ प्रतिशत रहेको छ । दुईवटा बैंकको ८६ प्रतिशतभित्र रहेको छ भने सातवटा बैंकको ८९ भित्र रहेको छ । नबिल बैंकको ८९.३६ र ग्लोबल आइएमई बैंकको ८९.४१ प्रतिशत रहेको छ ।
ग्लोबल आइएमईको ८९.४१ प्रतिशत, नबिलको ८९.३६ प्रतिशत, प्राइमको ८८.८८ प्रतिशत, लक्ष्मीको ८७.८७ प्रतिशत, कृषि विकासको ८७.५ प्रतिशत, सिटिजन्सको ८७.४७ प्रतिशत, सन्राइजको ८७.२७ प्रतिशत, एनएमबिको ८७.२४ प्रतिशत र हिमालयनको ८७.११ प्रतिशत सिडी रेसियो रहेको छ । यस्तै, एभरेष्ट बैंकको ८६.९८, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८६.९८, प्रभु बैंकको ८५.८३, सिभिल बैंकको ८५.६८, माछापुच्छ्रे बैंकको ८५.०२, सिद्धार्थ बैंकको ८४.१६, एनआइसी एसिया बैंकको ८४.११, नेपाल एसबिआई बैंकको ८४.०२, सानिमा बैंकको ८३.०९, नेपाल बैंकको ८२.९१ र राष्ट्रिय वाणिज्य बैंकको ८१.५९ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।