१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १४:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वडाध्यक्षले पालिका अध्यक्ष र हाकिममाथि हातपात गरेको भन्दै कर्मचारीद्वारा सेवा ठप्प पार्ने घोषणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १४:१६:oo

शान्तिनगर गाउँपालिका वडा नं. २ का अध्यक्ष सुनील वलीले पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतमाथि हातपातको प्रयास गरेपछि कर्मचारीले सेवा ठप्प पार्ने घोषणा गरेका छन्।

शुक्रबार वडाध्यक्ष वलीले पालिका अध्यक्ष प्रमोद बस्नेत र प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्कामाथि कार्यकक्षमै दुर्व्यवहार गरेपछि कर्मचारीले शनिबार विज्ञप्ति जारी गर्दै अत्यावश्यकबाहेकका सेवा ठप्प पार्ने घोषणा गरेका हुन्। घटनाको सत्यतथ्य छानबिन नहुँदासम्म वडादेखि पालिकासम्मका सेवा ठप्प पार्ने उनीहरूको चेतावनी छ।

नेपाल निजामती कर्मचारी युनियन शान्तिनगरका अध्यक्ष कृष्ण कँडेल, नेपाल राष्ट्रिय कर्मचारी संगठन शान्तिनगरका संयोजक पृथ्वीनारायण पौडेल र नेपाल निजामती कर्मचारी संगठन शान्तिनगरका संयोजक देवराज आचार्यसहितका कर्मचारीले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका हुन्। पालिकाका जनप्रतिनिधिबाट पटक-पटक प्रमुख प्रशासकीय अधिकृतमाथि अभद्र व्यवहार, हातपात र सार्वजनिक सम्पति तोडफोड गरी आक्रमणको प्रयास भएको र यो समग्र कर्मचारीमाथिको आक्रमण भएको उनीहरूले प्रस्ट्याएका छन्।

शुक्रबार बिहान साढे ११ बजेतिर वडाध्यक्ष वलीले पालिका अध्यक्ष बस्नेत र प्रमुख प्रशासकीय अधिकृत खड्कामाथि हातपातको प्रयास गरेका थिए। ‘हामी पालिका अध्यक्षको कोठामा थियौँ,’ खड्काले भने, ‘एक्कासि वडाध्यक्षलगायतका व्यक्ति आएर हातपात गर्न खोज्नुभयो।’ गाउँपालिकाको वडा नं. २ र ५ को सिमानामा पर्ने बौलाहा खोलाको विष्णुपुर घाटमा भइरहेको उत्खननका विषयमा विवाद सिर्जना भएपछि हातपातको अवस्था सिर्जना भएको बताइएको छ। वडाध्यक्ष वलीले पालिका अध्यक्षको कोठामा रहेको चिया टेबल उठाएर हिर्काउन खोजेको अधिकृत खड्काको आरोप छ।

तर, वडाध्यक्ष सुनील वली भने नदीजन्य पदार्थ उत्खननको ठेक्का पाएको कम्पनीले तोकिएको क्षेत्रभन्दा बढी उत्खनन गरेको विषयमा ध्यानाकर्षण गराउँदा सुनुवाइ नभएको बताउँछन्। ‘मैले तोकिएको स्थानभन्दा बाहिर उत्खनन भएकाले सो क्षेत्रमा ध्यान दिन भनेको हुँ,’ उनले भने, ‘म जाँदा दुईजना सँगै हुनुहुन्थ्यो। त्यही क्रममा विवाद भएको हो।’ विष्णुपुर घाटमा गत पुस २१ गतेको कार्यपालिका बैठकले दंगीशरण– ३ स्थित सनलाइट निर्माण कम्पनीलाई उत्खननको ठेक्का दिने निर्णय गरेको थियो।

सो क्षेत्रमा तोकिएकोभन्दा बाहिर उत्खनन भइरहेको र ठेली नकाटेरै ओसारपसार भइरहेको वडाध्यक्ष वलीले बताए। ‘दिनमा १५ वटा टिप्पर चल्छन्। तर, एउटै ठेलीबाट काम भइरहेको छ। यही विषयमा मैले ध्यानाकर्षण गराएको हुँ,’ उनले भने। यस विषयमा आफूले यसअघि पनि ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको उनको भनाइ छ।

वडाध्यक्षले आफैँ उत्खनन गर्न खोजेका थिए : गाउँपालिका 
वडा नं. २ का वडाध्यक्ष सुनील वलीले नदीजन्य पदार्थ ठेक्कामा नभई जमानतमा पाउनका लागि पटक-पटक दबाब दिने गरेको गाउँपालिकाको आरोप छ। गाउँपालिकाले समेत शनिबार विज्ञप्ति निकाली सो क्षेत्रमा वलीले ठेक्का नभई जमानतमा आफूले नदीजन्य पदार्थ उठाउन पाउनुपर्ने माग राख्दै आएका दाबी गरेको छ।

सो ठेक्कापछि पनि उनले आफ्नो मान्छेलाई जागिर लगाउन दबाब दिएको गाउँपालिका उपाध्यक्ष प्रेमाकुमारी बुढाथोकी र प्रवक्ता मीनबहादुर केसीले विज्ञप्तिमा जिकिर गरेका छन्।

ad
ad