
लोकतान्त्रिक समाजवादी पार्टीले ८ दलीय गठबन्धनमा राष्ट्रपतिको उम्मेदवारको विषयमा मात्रै सहमति भएको जनाएको छ । पार्टीका नेता शरतसिंह भण्डारीले गठबन्धनमा अन्य विषयमा छलफल हुन बाँकी रहेको बताएका हुन् ।
जनकपुरधाममा ८ दलीय गठबन्धनको अभिमुखीकरण कार्यक्रममा जसपाका नेता हरिनारायण यादवले उपराष्ट्रपति जसपाले पाउनुपर्ने बताएपछि भण्डारीले अन्य विषयमा सहमति हुन बाँकी रहेको बताएका हुन् ।
‘अहिले हामी राष्ट्रपतिमा हाम्रो गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई निर्वाचित गराउने गृहकार्यमा लागेका छौँ । अहिले राष्ट्रपतिको विषयमा मात्रै सहमति भएको छ, बाँकी विषयमा पछि सहमति हुँदै जाला,’ उनले भने ।
नेता भण्डारीले गठबन्धन सरकार बनाउन वा राष्ट्रपति निर्वाचनसम्मका लागि मात्र नभई प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्नका लागिसमेत बनेको जिकिर गरे । शक्ति सन्तुलनको राजनीतिमा एमालेले विश्वास गर्न नसकेकै कारण एमाले सत्ता गठबन्धन बाहिर रहेको भण्डारीको भनाइ थियो ।