मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौंं
२०७९ फाल्गुण १९ शुक्रबार ०८:२७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राष्ट्रपति निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका सुवास नेम्वाङ घरदैलो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौंं
२०७९ फाल्गुण १९ शुक्रबार ०८:२७:००

आसन्न राष्ट्रपति निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका सुवास नेम्वाङले विभिन्न दलको कार्यालयमै पुगेर मत मागेका छन् । एमाले अध्यक्ष केपी ओलीले संस्थागत रूपमै पत्राचार गरेका दलका नेतालाई भेटेर नेम्वाङले मत मागेका छन् । २५ फागुनमा हुने निर्वाचनमा आठदलीय गठबन्धनबाट ‘क्रस भोटिङ’ गराउने एमालेको रणनीति छ । 

नेम्वाङले बिहीबार एकीकृत समाजवादी, रास्वपा र राप्रपाको कार्यालयमा पुगेर भोट मागेका हुन् । राजनीतिक दलका नेताहरूसँगको छलफल सकारात्मक रहेको उनले बताए । ‘दलका नेता र माननीय सांसदहरूलाई भेटेरै सहयोग मागेको छु । उहाँहरूले सकारात्मक जवाफ दिनुभएको छ । मैले संविधान निर्माणमा खेलेको भूमिका र अनुभवले पनि मेरो उम्मेदवारीलाई पुष्टि गर्छ भन्ने उहाँहरूको तर्क छ । छलफलबाट उत्साहित छु,’ नेम्वाङले भने । 

एकीकृत समाजवादीको कार्यालयमा पुगेर नेम्वाङले अध्यक्ष माधव नेपालसहितका नेतासँग सहयोग गर्न आग्रह गरेका थिए । नेम्वाङले नेपालकै कारण पुनस्र्थापित संसद्को सभामुख र संविधानसभाको अध्यक्ष भएको स्मरण गर्दै राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरेको एकीकृत समाजवादीका एक नेताले बताए । 

नेम्वाङसहित एमाले उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ र विमला राई पौड्याल एकीकृत समाजवादीको कार्यालय मीनभवन पुगेका थिए । अध्यक्ष ओली भने गएनन् । 

पौडेलले विगतमा नेपालकै नेतृत्वमा आफूहरूको राजनीति अगाडि बढेको र भविष्यमा एउटै पार्टी बन्नेतर्फ समेत सोच्न ढिला गर्न नहुने बताएका थिए । एमाले उपमहासचिव गुरुङले आफूहरूले नेम्वाङलाई मतदान गर्न आग्रह गरेको र छलफल सकारात्मक भएको बताए । ‘हामीले हाम्रो उम्मेदवारलाई मतदान गर्न आग्रह ग¥यौँ, कुराकानी सकारात्मक भयो,’ उनले भने, ‘यसलाई एकता अभियान शुभारम्भका रूपमा पनि बुझ्न सक्नुहुन्छ ।

भेटमा एकीकृत समाजवादीबाट अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल, महासचिव डा. बेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, जगन्नाथ खतिवडा र सचिवालय सदस्य रामचन्द्र झा सहभागी थिए । खतिवडाले मत माग्न आएकोमा धन्यवाद दिएर बिदा गरेको बताए । छलफलमा नेपालले छलफलको वातावरण बनेको र फेरि पनि छलफल हुन सक्ने बताएका थिए । नेपालको भनाइ उद्धृत गर्दै खतिवडाले भने, ‘सौहार्दपूर्ण वातावरणमा कुराकानी गर्ने आधार तयार गर्नुभएकोमा धन्यवाद छ । फेरि पनि छलफल हुन सक्छ ।’ नेपालले आफू आठदलीय गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेलको प्रस्तावक रहेको र पार्टीले पौडेलको पक्षमा निर्णय गरेको भन्दै सहयोग गर्ने परिस्थिति नरहेको बताएका थिए । 

रास्वपा सकारात्मक, राप्रपाले सघाउने विश्वास
नेम्वाङले रास्वपासँग पनि मत मागेका छन् । रास्वपाले आन्तरिक छलफलपछि निर्णय लिने जवाफ दिएको छ । भेटमा सहभागी एमाले सचिव योगेश भट्टराईले रास्वपा नेम्वाङप्रति सकारात्मक रहेको बताए । ‘रास्वपाको भनाइबाट हामीलाई समर्थन गर्ने बुझ्न सकिन्छ । मुलुकले खोजिरहेको पात्र नेम्वाङ नै हुनुहुन्छ । उहाँले राष्ट्रिय सहमति कायम गर्न सक्नुहुन्छ । सबैलाई मिलाएर लान सक्ने क्षमता उहाँसँग छ । हामी आन्तरिक छलफलबाट निर्णय लिन्छौँ भन्नुभएको छ,’ भट्टराईले भने । 

नेम्वाङले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टी कार्यालय धुम्बाराही पुगेर राष्ट्रपति निर्वाचनमा सघाउन आग्रह गरेका छन् । भेटमा सहभागी एमाले नेतृ विद्या भट्टराईले नेम्वाङप्रति राप्रपा सकारात्मक रहेको बताइन् । एमालेसँग राप्रपाले विगतदेखि नै सहकार्य गर्दै आएको र राष्ट्रपति निर्वाचनमा पनि सहकार्य हुने उनको विश्वास छ । ‘हाम्रो उम्मेदवारप्रति उहाँहरू सकारात्मक हुनुहुन्छ । हिजोदेखि हामीले सहकार्य गरेका हौँ । हामी सहकार्यको पक्षमा छौँ । सहकार्यलाई निरन्तरता दिने पक्षमा रहेको बताउनुभएको छ,’ भट्टराईले भनिन् ।