
ललितपुर महानगरपालिकाले नगर क्षेत्रका अव्यवस्थित तार व्यवस्थित गर्न अभियान चलाएको छ । यस्ता तारका कारण सहर कुरूप देखिनुका साथै दुर्घटनासमेत हुन थालेपछि महानगरपालिकाले बिहीबारदेखि अभियान सुरु गरेको हो ।
महानगरपालिकाका सूचना अधिकारी देवप्रसाद गुरागाईंका अनुसार बिहीबार अशोक स्तूपा क्षेत्रका पोल र घरका भित्तामा गुजुल्टिएका तार हटाइएको छ । ‘आज सम्पदा क्षेत्रमा छरिएका, गुजुल्टिएका तार व्यवस्थित बनाउन सुरु गर्यौँ,’ सूचना अधिकारी गुरागाईंले भने, ‘अव्यवस्थित तारका कारण आगलागीको जोखिम बढ्नुका साथै सहर नै कुरूप देखियो ।’ तार व्यवस्थापनका लागि यसअघि सार्वजनिक सूचनासमेत जारी भएको थियो भने बुधबार इन्टरनेट सेवाप्रदायक कम्पनी, नेपाल टेलिकम, विद्युत् प्राधिकरणलगायतलाई बोलाएर तार व्यवस्थापन गर्न बुधबार छलफल गरेको थियो ।
छलफलमा महानगरका मेयर चिरिबाबु महर्जनले १० दिनभित्र सम्पदा क्षेत्रका तार व्यवस्थित गर्न निर्देशन दिएका थिए । १० दिनभित्र तार व्यवस्थित नभएर महानगरले काटिदिने बताए । महानगरले सबैभन्दा पहिला अशोक स्तूपा क्षेत्रवरपर टाँगिएका तार, कुम्भेश्वर मन्दिरपरिसर, पाटन दरबार क्षेत्र र रातो मच्छिन्द्रनाथको रथ निर्माण गरिने ठाउँ पुल्चोकस्थित रथखेलमा टाँगिएका तार व्यवस्थित गर्ने भएको छ ।
ती क्षेत्रका तार व्यवस्थित भएपछि महानगरका अन्य क्षेत्रका तार व्यवस्थित गर्न लाग्नेछ । सूचना अधिकारी गुरागाईंका अनुसार सम्पदा क्षेत्रका तार व्यवस्थापनपछि महानगरभित्रका अन्य स्थानका तार व्यवस्थापन गरिनेछ । ‘त्यसपछि अन्य ठाउँका तार क्रमशः व्यवस्थापन गर्छाैँ । सम्बन्धित निकायले पनि यस कार्यमा पूर्ण सहयोग गर्ने बताएका छन्,’ उनले भने ।