१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ फाल्गुण १७ बुधबार २२:४६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नामाकरण गर्ने कान्छो प्रदेश बन्यो ‘कोसी’

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ फाल्गुण १७ बुधबार २२:४६:००

अन्ततः प्रदेश १ ले नाम पाएको छ । प्रदेश सभामा आज भएको मतदानमा दुईतिहाइ सांसदले ‘कोशी’ नाममा मतदान गरेपछि प्रदेश १ ले नाम पाएको हो । 

सरकार र राजनैतिक दलहरूको राजनैतिक स्वार्थ र संवादहिनताले गर्दा पहिलो कार्यकालमा प्रदेश १ ले नाम पाएको थिएन । जबकी, बाँकी ६ वटै प्रदेशले आफ्नो पाँच वर्षे कार्यकालभित्रै आआफ्ना प्रदेशको नामाकरण गरेका थिए । 

एमालेले दर्ता गराएको ‘कोसी’ नामसम्बन्धी प्रस्तावको पक्षमा ८२ मत खसेको छ भने विपक्षमा ४ मत परेको छ । सभामुखसहित ९३ सदस्यीय प्रदेश सभाको आजको बैठकमा ६ सांसद अनुपस्थित थिए । 

एकीकृत समाजवादी र जसपाले भने प्रदेशको नाम किरात लिम्बुवान सगरमाथा प्रस्ताव गरेका थिए ।

अघिल्लो कार्यकालको अन्तिम अधिवेशनसम्म पनि ररकार र राजनैतिक दलहरूले जसरी पनि प्रदेशको नामाकरण गरेरै छाड्ने प्रतिबद्धता जनाएका थिए । तर, उनीहरू प्रतिबद्धता पूरा गर्न असफल रहे । 

पहिचान र गैरपहिचानबारे दलहरूले सहमति बनाउन नसक्दा त्यस्तो अवस्था आएको थियो । पाँच वर्षको अवधिमा प्रदेश सभामा प्रस्तावसमेत दर्ता हुन सकेन । बरु राजधानीका विषयमा दलहरूबीच सहमति जुटेको थियो । 

प्रदेश १ सभाले २२ वैशाख ०७६ मा प्रदेशको स्थायी राजधानी विराटनगर हुने र संरचनाहरू आसपासका क्षेत्रमा रहने सहमतिमा बहुमतले टुंगो लगाएको थियो । 

अन्तिमसम्म पनि तत्कालीन सत्ताधारी दल एकीकृत समाजवादी र माओवादीले प्रदेशको नाम बहुपहिचानका आधारमा मात्र हुनुपर्ने अडान लिएको थियो । संघीय लोकतान्त्रिक मञ्चले प्रदेशको नाम लिम्बुवान किराँत हुनुपर्ने अडान लिएको थियो । 

कांग्रेसले सुरुमा भुगोलका आधारमा नामाकरण गरिनुपर्ने भने पनि पछि सप्तकोशी र त्यसपछि पहिचान पनि भेटिने गरी नामाकरणमा सहमति गर्न तयार रहेको जनाएको थियो । एमाले सुरुदेखि नै प्रदेशको नाम कोशी हुनुपर्ने अडानमा थियो । 

त्यही अडानमा रहेको एमालेले यसपटक सरकारको नेतृत्व गरेका वेला कोशी नाम रहने गरी प्रस्ताव दर्ता गराएको थियो । माओवादी र कांग्रेससमेत सो नाममा सहमत भएपछि प्रदेश १ ले नाम पाएको हो ।