Skip This
अब सार्वजनिक बिदामा पनि अत्यावश्यक सेवाका कार्यालय खुल्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १७ बुधबार
  • Saturday, 27 July, 2024
सुवास भट्ट काठमाडाैं
२o७९ फाल्गुण १७ बुधबार o६:१४:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अब सार्वजनिक बिदामा पनि अत्यावश्यक सेवाका कार्यालय खुल्ने

Read Time : > 2 मिनेट
सुवास भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o७९ फाल्गुण १७ बुधबार o६:१४:oo

कर्मचारीलाई सट्टा बिदा मिलाउने, भत्ता भने छैन 

अब सार्वजनिक बिदामा पनि अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालय खुल्ने भएका छन् । सरकारले अत्यावश्यक सेवा प्रदान गर्ने निकाय बिदाका दिन पनि खोल्ने गरी मोडालिटी नै टुंग्याएको छ । सार्वजनिक बिदामा केही अत्यावश्यक सेवा विगतदेखि सञ्चालन हुँदै आएकामा सरकारले अहिले दायरा विस्तार गरेको हो । 

नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, कन्सुलर, अध्यागमन, भन्सार तथा राजस्वका सेवा (राजस्व अनुसन्धानबाहेक) बिदामा पनि खुल्नेछन् । त्यस्तै, क्वारेन्टिन, सवारी अनुमतिपत्र दर्ता, नवीकरणलगायत यातायात व्यवस्थापनका सेवा पनि खुल्नेछन् । अस्पताल, खानेपानी, विद्युत्, सडक, ढललगायत सेवालाई पनि सार्वजनिक बिदाले प्रभाव पार्नेछैन । बिदामा खुल्नेमा उद्योग, वाणिज्य र कम्पनी प्रशासनका सेवा, वैदेशिक रोजगार सेवा, खाद्य गुणस्तर सेवा, भेटेरिनरीलगायत पनि छन् । स्थानीय तहले प्रदान गर्ने सेवादेखि नापी र मालपोतका काम पनि बिदाका दिन सञ्चालनमा रहनेछन् । 

सोमबारको मन्त्रिपरिषद् बैठकले यसबारे गरेको निर्णयको सूचना राजपत्रमा प्रकाशित गर्ने गृह मन्त्रालयको तयारी छ । शनिबार तथा दसैँ, तिहार, छठ र फागु पूर्णिमाबाहेकका राष्ट्रिय पर्व बिदामा यस्ता सबै सेवा निर्वाध सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय छ । 

अब रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, उधौली, उभौली, क्रिसमस, तमु ल्होसार, माघे संक्रान्ति, सोनाम ल्होसार, महाशिवरात्रि, ग्याल्पो ल्होसार, बकर इद (इद उल अजहा) र इद (इद उल फित्र)मा कार्यालय खुल्नेछन् । त्यस्तै, गणतन्त्र दिवस (१५ जेठ), प्रजातन्त्र दिवस (७ फागुन), अन्तर्राष्ट्रिय महिला दिवस (२४ फागुन), पृथ्वी जयन्ती अर्थात् राष्ट्रिय एकता दिवस (२७ पुस) र जनयुद्ध दिवस (१ फागुन) मा पनि ती कार्यालय खोल्ने सरकारको निर्णय छ । क्षेत्रीय बिदाका हकमा पनि अत्यावश्यक कार्यालय खुल्ने सरकारी निर्णयमा उल्लेख छ । 

सरकारले तोकेका कतिपय अत्यावश्यक सेवा अहिले पनि सार्वजनिक बिदामा सञ्चालन हुने गरेका छन्, तर त्यस्ता सेवा न्यून छन् । सरकारले यसलाई अन्य क्षेत्रमा पनि विस्तार गरेको हो । 

सार्वजनिक बिदामा पनि काम गर्ने कर्मचारीलाई सट्टा बिदा दिने सरकारको निर्णय छ । बिदामा काम गरेको अभिलेख राखेर सोबराबर अन्य दिनमा बिदा दिने सरकारी ढाँचा बनेको छ । अतिरिक्त भत्ताको व्यवस्था गरिएको छैन । भत्ताविना बिदाका दिन कर्मचारीले काम गर्नेमा आशंका गरिएको छ ।

वर्षमा कति हुन्छ बिदा ? 
वर्षभरि ५२ शनिबार (बिदा) पर्छ । पर्व बिदाअन्तर्गत १ वैशाख (नयाँ वर्ष), किराँत समुदायको उभौली पर्व तथा चण्डी पूर्णिमा, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, छठ, उधौली, क्रिसमस, तमु ल्होसार, माघे संक्रान्ति, सोनाम ल्होसार, महाशिवरात्रि, ग्याल्पो ल्होसार, इस्लाम धर्मावलम्बीको बकर इद (इद उल अजहा), स्लाम धर्मावलम्बीकै इद (इद उल फित्र) र फागु पूर्णिमालाई बिदा दिइएको छ ।

त्यस्तै, फूलपातीदेखि द्वादशीसम्मको दसैँ, लक्ष्मीपूजादेखि भाइटीकासम्मको बिदा तिहारमा पनि दिइएको छ । दिवसहरूमा १८ वैशाखलाई मजदुर दिवस, १५ जेठमा गणतन्त्र दिवस, ३ असोजमा संविधान दिवस, ७ फागुनमा राष्ट्रिय प्रजातन्त्र दिवस र २४ फागुनमा अन्तर्राष्ट्रिय महिला दिवसका लागि पनि बिदा दिइएको छ ।

यस वर्षबाट २७ पुसमा राष्ट्रिय एकता दिवस (पृथ्वी जयन्ती) र १ फागुनमा जनयुद्ध दिवसका लागि बिदा दिइन थालिएको छ । जन्मजयन्ती बिदामा बुद्ध जयन्तीमा बिदा दिइएको छ । यसबाहेक सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थानविशेष, महिला कर्मचारी, अपांगता भएका कर्मचारी, शिक्षण संस्था, काठमाडौं उपत्यकाका जात्रालगायतमा सम्बन्धितलाई बिदा दिइएको छ । 

सार्वजनिक बिदामा पनि खुल्नेछन् यी सेवाका कार्यालय
मन्त्रिपरिषद्ले बिदामा कुन–कुन कार्यालय खुल्ने भन्ने सम्बन्धमा पनि निर्णय गरेको छ । त्यसमा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, कन्सुलर, अध्यागमन, भन्सार तथा राजस्वका सेवा (राजस्व अनुसन्धानबाहेक) सार्वजनिक बिदामा पनि खुल्नेछन् । त्यस्तै, क्वारेन्टिन, सवारी अनुमतिपत्र दर्ता, नवीकरणलगायत यातायात व्यवस्थापनका सेवा पनि खुल्नेछन् । अस्पताल, खानेपानी, विद्युत्, सडक, ढललगायत सेवा पनि बिदामा खुल्नेछन् ।

त्यस्तै, उद्योग, वाणिज्य र कम्पनी प्रशासनका सेवा, वैदेशिक रोजगार सेवा, खाद्य गुणस्तर सेवा, भेटेरिनरीलगायत सेवा दिने कार्यालय पनि खुल्नेछन् । स्थानीय तहले प्रदान गर्ने सेवादेखि नापी र मालपोतका सेवा पनि बिदाका दिनमा सञ्चालन हुने निर्णयमा उल्लेख छ । सार्वजनिक बिदाको संख्या धेरै भएको र त्यसले सेवाप्रवाहमा असर पुर्‍याएको गुनासोपछि सरकारले बिदा कटौतीको विकल्पमा अत्यावश्यक सेवा कार्यालय सार्वजनिक बिदामा पनि सञ्चालन गर्ने निर्णय गरेको हो ।