
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुक आगामी पाँच वर्ष रूपान्तरणको दिशामा नजाने बताएका छन् ।
वामपन्थीहरू सत्ताप्राप्तिलाई केन्द्रविन्दु बनाएर हिँडेको भन्दै उनले यस्तो दाबी गरेका हुन् । आइतबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै खनालले भने, ‘वामपन्थीभित्र अरू नै पन्थहरू विकसित भएकाले उनीहरू एक ठाउँमा आउने स्थिति अझै बनेको छैन ।’
वामपन्थीहरू यथास्थितिवादी वा पुनरुत्थानवादीहरूलाई अँगालाे नहाली अघि बढ्न सक्ने अवस्थामा नरहेको उनको आरोप छ । ‘उनीहरू एकताबद्ध नभएको हुनाले या त यथास्थितिवादीहरुसँग या पुनरुत्थानवादीहरुसँग अँगालो नहाली उनीहरू अघि बढ्न सक्ने अवस्था देखिँदैन । त्यसकारण मुलुक धेरै ठूलो रूपान्तरणको, गुणात्मक परिवर्तनको दिशातिर जाने म यो पाँच वर्ष देख्दिनँ ।’
दलहरू सत्ता प्राप्तिलाई केन्द्रविन्दु बनाएर हिँडे पनि आफू त्यसमा नलागेको नेता खनालको जिकिर छ । उनले भने, ‘सत्ता प्राप्तिको र्याल चुहाएर हिँड्ने खालको जुन प्रवृत्ति छ, त्यसमा मचाहिँ छैन । मेरो चर्चाहरू गर्छन्, तर मेरो कारणले चर्चा भएको छैन । म त्यो चर्चाको निम्ति मरिमेटेर हिँडेको पनि छैन । यसपालि यहाँ ठूलो दौडधुप भइरहेको थियो, म बंगलादेशमा थिएँ ।’