१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
कमलराज भट्ट काठमाडाैं
२०७९ फाल्गुण १४ आइतबार ०६:१५:००
Read Time : > 8 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

राष्ट्रपतिको प्रतिस्पर्धामा दुई पूर्वसभामुख

जितका लागि चाहिने २६,२७५ मत, पौडेलको पक्षमा आठदलीय गठबन्धनसँग ३२,१८८ मत, नेम्वाङलाई जितका लागि एमालेबाहेकका १०,८८४ मत आवश्यक

Read Time : > 8 मिनेट
कमलराज भट्ट, काठमाडाैं
२०७९ फाल्गुण १४ आइतबार ०६:१५:००

आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ । दुवै पूर्वसभामुख हुन् । पौडेललाई आठदलीय गठबन्धनको समर्थन छ भने नेम्वाङ एमालेका एकल उम्मेदवार छन् । 

निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो । उम्मेदवारी दिन नेम्वाङ पार्टी अध्यक्ष केपी ओली, केही पदाधिकारी, सांसद र कार्यकर्ताको दलबलसहित संसद् भवन पुगेका थिए । १२ः४५ मा उनको उम्मेदवारी दर्ता भएको छ । उनको प्रस्तावकमा अध्यक्ष ओलीसहित पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुवीर महासेठ र छविलाल विक तथा समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहेका छन् । 

कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति र जनमोर्चाको समर्थनमा उम्मेदवार बनेका पौडेलले दिउँसो २ बजेपछि उम्मेदवारी दर्ता गरे । बिहान कांग्रेसको कार्यसम्पादन समितिबाट उम्मेदवार चुनिएका पौडेलको प्रस्तावक र समर्थक जुटाउन दिउँसो १ बजे संसद् भवनमै आठदलीय गठबन्धनको बैठक बसेको थियो । 

पौडेलको प्रस्तावकमा सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जसपा सांसद अशोक राई र जनमतका सांसद अब्दुल खान तथा समर्थकमा लोसपा अध्यक्ष महन्थ ठाकुर, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी र माओवादी प्रमुख सचेतक हितराज पाण्डे छन् ।

मनोनयन दर्ता गरेर समर्थकको भिडसँगै हलबाट बाहिरिएर पौडेल पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिए । नेपालको संविधानको अक्षर र भावनालाई अक्षरशः पालना गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रको सपना सकार गर्ने र गणतन्त्रलाई संस्थागत गर्न भूमिका खेल्ने उनले बताए । ‘नेपाली जनताको हातमा आएको सार्वभौमसत्तालाई बलियो गरी सुरक्षित राख्नुपर्नेछ । परिवर्तनको रक्षा गर्दै उन्नति, राष्ट्रिय एकता जोगाउने, राष्ट्रियता सबल बनाउने काममा मेरो सहयोगी भूमिका हुन्छ,’ उनले भने । 

एमालेले पनि आफूलाई सघाउने र आफ्नो नाम सर्वसम्मत हुने अपेक्षा रहेको पौडेलको भनाइ थियो । ‘एमाले अध्यक्ष पनि मसँगै जेल बस्नुभएको हो, पुरानो साथी हो, यो पदलाई राष्ट्रको साझा पद बनाउन उहाँले योगदान गर्नुहोला भन्ने विश्वास लिएको छु,’ उनको आशा थियो । 

एमाले उम्मेदवार नेम्वाङले पनि आफ्नो नाममा राष्ट्रिय सहमति हुन सक्ने दाबी गरे । ‘राष्ट्रपति निर्वाचनमा सम्मानका साथ अघि बढेको छु । प्रतिस्पर्धा भयो भने परिणामलाई स्वीकार गर्ने प्रणाली बनाएका छौँ । प्रतिस्पर्धामा आउनेलाई सम्मान छ । व्यवहारमा जनताको राष्ट्रपति अनुभूत हुने ढंगले काम गर्ने मेरो प्रयास हुनेछ,’ उनले भने, ‘हिजो संविधानसभामा ३१ दलको निर्विकल्प सर्वसम्मत संविधानसभाको अध्यक्ष भएर जसरी संविधान जारी गर्न भूमिका निभाएँ, त्यही संविधानको संरक्षक हुने एउटा मौका, अवसर प्राप्त गरेको छु । त्यसमा अग्रसर भएको छु । त्यो अवसर नेपाली जनता र मतदाताले मलाई दिनेछन् । त्यसलाई इमानदारिताका साथ पालना गर्नेछु ।’ 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित समर्थक र प्रस्तावकका साथमा पौडेल मनोनयन दर्ता गर्न पुग्दा ल्होत्से हल भरिभराउ भयो । कांग्रेस पदाधिकारीसहित अधिकांश सांसद तथा शुभेच्छुक उपस्थित थिए । एकीकृत समाजवादी, जसपा, लोसपाका धेरै सांसद पनि हलमा देखिए । आठदलीय गठबन्धनका नेताहरूलाई कैद गर्न क्यामेराको तँछाडमछाडको अवस्था बन्यो । बदलिएको राजनीतिक समीकरणका कारण एमाले नेता–कार्यकर्तामा भने त्यति उत्साह देखिँदैनथ्यो । 

नेम्वाङको उम्मेदवारी दर्तापछि एमाले अध्यक्ष ओलीले संविधानसभा अध्यक्षको हैसियतले संविधान निर्माणमा महŒवपूर्ण भूमिका निर्वाह गरेका नेम्वाङलाई आफ्नो पार्टीले राष्ट्रपतिमा अघि सारेको बताए । ‘हामीले दलीय स्वार्थ होइन, राष्ट्रिय स्वार्थ, जनताको हित, संविधान र प्रणालीको रक्षा, सही कार्यान्वयन र प्रयोगका लागि यो उम्मेदवारी दिएका हौँ,’ उनले भने, ‘हामीलाई विश्वास छ, हाम्रो उम्मेदवारी सर्वत्र स्वीकार्य मात्र होइन, स्वागतयोग्य बन्नेछ । हरेक मतदातालाई मतदानका निम्ति प्रेरित गर्न मिडिया, सामाजिक सञ्जाल सबैतिरबाट साथ–सहयोग प्राप्त गर्नेछौँ । सबै जनताको साथ–सहयोग हामीलाई प्राप्त हुनेछ । अत्यधिक मतले विजयी हुनेछौँ भन्ने विश्वास लिएको छु ।’ 

एकीकृत समाजवादीका प्रकाश ज्वाला, जसपाका प्रदीप यादवले राष्ट्रपतिमा पौडेल विशिष्ट उम्मेदवार भएको र जित सुनिश्चित भएको प्रतिक्रिया दिए । कांग्रेस नेता शेखर कोइरालाले प्रत्येक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको, खारिएको वरिष्ठ नेता पौडेल लोकतान्त्रिक गणतान्त्रिक संविधान रक्षा गर्ने उपयुक्त पात्र भएको बताए । पौडेलको जित सुनिश्चित रहेको उनको भनाइ थियो । एमालेका उम्मेदवार नेम्वाङ पनि बलियो पात्र भएको, तर तुलनामा पौडेल खरो रूपमा उत्रिन सक्ने कोइरालाले जिकिर गरे । 

पौडेलको पक्षमा स्पष्ट बहुमत
अहिलेसम्मको दलीय समीकरण हेर्दा आठदलीय गठबन्धनका उम्मेदवार पौडेल विजयी हुने लगभग निश्चितजस्तै छ । आठ दलको मात्रै ३२ हजार १८८ मतभार छ । कुल मतभार ५२ हजार ५४९ मध्ये जितका लागि कम्तीमा २६ हजार २७५ मत ल्याउनुपर्छ । संघीय संसद्का ३३१ (२७२ प्रतिनिधिसभाका र ५९ राष्ट्रिय सभाका) र प्रदेश सभाका ५५० सांसद राष्ट्रपति निर्वाचनमा मतदाता छन् । संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ हुन्छ । आठदलीय गठबन्धनका प्रतिनिधिसभामा १५६ र राष्ट्रिय सभामा ४० सांसद छन् । त्यस्तै, प्रदेश सभामा ३४८ सांसद छन् । एमालेका प्रतिनिधिसभामा ७९ र राष्ट्रिय सभामा १८ सांसद छन् । त्यस्तै, प्रदेश सभामा १६१ सांसद छन् । 

संघ र प्रदेशमा प्रतिनिधित्व रहेका पाँच दल अहिलेसम्म कतै खुलेका छैनन् । उनीहरूका प्रतिनिधिसभामा ३४ र प्रदेश सभामा ३४ सांसद छन् । उनीहरूले छलफलबाट क्रमशः निष्कर्षमा पुग्ने बताएका छन् । त्यस्तै, संघीय संसद्का चार (राष्ट्रिय सभामा रहेका वामदेव गौतमसहित) र प्रदेश सभाका सात स्वतन्त्र सांसद पनि सबै खुलिसकेका छैनन् ।

 सहयोग माग्दै ओलीले लेखे नेपाललाई पत्र
एकीकृत समाजवादी गठन गरेपछि अध्यक्ष माधवकुमार नेपालको नाम लिँदासमेत मुख कुल्ला गर्ने बताएका एमाले अध्यक्ष केपी ओलीले त्यसको डेढ वर्षपछि उनै नेपाललाई पत्र लेखेर राष्ट्रपति निर्वाचनमा सघाउन आग्रह गरेका छन् । ओलीले एमाले उम्मेदवार सुवास नेम्वाङको पक्षमा सहयोग गर्न नेपालसँग आग्रह गरेका हुन् । 

नेम्वाङ राष्ट्रपति पदका लागि अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार भएको दाबी पनि ओलीले पत्रमा उल्लेख गरेका छन् । ‘राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभाका माननीय सदस्यहरू मतदाता हुने यस निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट माननीय सुवासचन्द्र नेम्वाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ हार्दिक अनुरोध गर्दछु,’ ओलीले नेपाललाई लेखेको पत्रमा उल्लेख छ ।

उनले १० पुसको सहमतिअनुसार नेम्वाङलाई २५ फागुनको राष्ट्रपति निर्वाचनमा उम्मेदवार मनोनयन गरिएको पनि जनाएका छन् । यद्यपि, उक्त सहमतिमा एकीकृत समाजवादीको सहभागिता थिएन । राष्ट्रपति निर्वाचनको सन्दर्भमा पछिल्लोपटक ओली र नेपालबीच दुईपटक भेटवार्ता भएको थियो । ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्नसमेत प्रस्ताव गरेका थिए । नेपालले राष्ट्रिय सहमति बन्ने अवस्थामा मात्रै उम्मेदवार बन्ने बताएका थिए । नेपाल आठदलीय गठबन्धनबाट उम्मेदवार बनेका रामचन्द्र पौडेलको प्रस्तावक बनेका छन् । 

यसैबीच, एमालेले कांग्रेसबाहेक सबै दलसँग नेम्वाङलाई सघाउन आग्रह गर्दै पत्र पठाएको छ । कांग्रेसबाहेक संसद्मा रहेका सबै दल र स्वतन्त्र सांसदलाई सहयोग गर्न अनुरोध गर्दै पत्र पठाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । दल र स्वतन्त्र गरी १७ वटा पत्र पठाइएको उनले बताए । सबै दललाई पठाएको पत्रको व्यहोरा उस्तै रहेको उनको भनाइ छ । 

शनिबार बसेको एमाले सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । साथै, कांग्रेसबाहेकका दल र स्वतन्त्र सांसदलाई नेम्वाङलाई समर्थन गर्न अनुरोध गर्दै पत्र पठाउने निर्णय बैठकले गरेको थियो । नेम्वाङलाई निर्वाचित गराउने गरी २५ फागुनसम्मै निरन्तर पहल गर्ने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । १० पुसको सहमतिअनुसार नै दलहरू अगाडि बढ्नुपर्ने उनले दोहोर्‍याएका छन् । एमालेको पक्षमा नतिजा ल्याउने रणनीतिका साथ अगाडि बढ्ने उनले बताए । 

शनिबार बसेको सचिवालय बैठकले तत्काल सरकार नछाड्ने निष्कर्ष निकालेको हो । राष्ट्रपति निर्वाचनलाई केन्द्रमा राखेर तत्काल सरकार नछाड्ने निष्कर्ष रहेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । 

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्वारा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने–कांग्रेसलाई राष्ट्रपतिमा सिंगै राष्ट्रको सहमति हो
संंविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न नसक्नेसँगको सहकार्यले जटिलता, संशय, भ्रम मात्रै पैदा गर्छ । मैले दुई महिनाभित्रै त्यस्तो तीतो अनुभूति गरेँ । आठ दलबीचमा जे भयो, यो राष्ट्रिय सहमति नै हो भन्ने मेरो बुझाइ छ । किनभने अहिले हामी त मिल्नु जरुरी थियो नै । सबैलाई पनि यो राजनीतिक प्रक्रियामा इन्गेज गर्न जरुरी थियो । एमाले पनि अब कतै जान सक्ने स्थिति छैन । उहाँहरू प्रतिपक्षमा जान सक्नुहुन्छ, करिब–करिब जानुभयो । सम्भवतः अब कानुनी हिसाबले हामी एउटा नयाँ प्रक्रियातिर जानु नै पर्छ । सरकार नयाँ बन्छ, पुनर्गठन हुन्छ आदि–इत्यादि । तर, फेरि पनि एमालेको सभामुख त हुनुहुन्छ । उहाँहरू त्यहाँबाट फुत्केर जान सक्ने स्थिति हुँदैन । त्यसकारण यस अर्थमा आठ दलले कांग्रेसलाई राष्ट्रपतिमा सहमति गर्नु सिंगै राष्ट्रको सहमति हो ।

नेम्वाङको उम्मेदवारी दर्ता गरेपछि एमाले अध्यक्ष केपी ओलीले भने– हाम्रो उम्मेदवारी सर्वत्र स्वीकार्य मात्र होइन, स्वागतयोग्य बन्नेछ
हामीले दलीय स्वार्थ होइन, राष्ट्रिय स्वार्थ, जनताको हित, संविधान र प्रणालीको रक्षा, सही कार्यान्वयन र प्रयोगका लागि यो उम्मेदवारी दिएका हौँ ।

हामीलाई विश्वास छ, हाम्रो उम्मेदवारी सर्वत्र स्वीकार्य मात्र होइन, स्वागतयोग्य बन्नेछ । हरेक मतदातालाई मतदानका निम्ति प्रेरित गर्न मिडिया, सामाजिक सञ्जाल सबैतिरबाट साथ–सहयोग प्राप्त गर्नेछौँ ।

सबै जनताको साथ–सहयोग हामीलाई प्राप्त हुनेछ । अत्यधिक मतले विजयी हुनेछौँ भन्ने विश्वास लिएको छु ।

जनतामा आएको सार्वभौमसत्तालाई सुरक्षित राख्नुछ : रामचन्द्र पौडेल
अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा जुन अभूतपूर्व र अद्वितीय अधिकार प्रदान गरेको छ, त्यसको रक्षा गर्ने चुनौती छ । नेपालको संविधानको संरक्षण, राष्ट्रियताको संवद्र्धन, जनताको उन्नतिको रेखदेख गर्ने जुन अभिभारा, जिम्मेवारी मलाई आउन लागिरहेको छ, यसप्रति म सचेत छु । म सबैलाई आग्रह गर्न चाहन्छु, हामी सबै मिलेर यो राष्ट्रको जगेर्ना गरौँ । यो संविधानको रक्षा गरौँ । ७० वर्षसम्म लडेर प्राप्त गरेको व्यवस्थाको टुंगो लगाउन सफल भएका छौँ । यसको महत्व बुझौँ । यसको महत्व ज्यादै ठूलो छ । यसमाथि खेलबाड गर्ने प्रयास नितान्त स्वार्थी प्रयास हुन् ।

त्यसबाट सबै नेपाली सजग रहनुपर्छ । नेपाली जनताको हातमा आएको सार्वभौमसत्तालाई बलियो गरी सुरक्षित राख्नुपर्नेछ । परिवर्तनको रक्षा गर्दै उन्नति, राष्ट्रिय एकता जोगाउने, राष्ट्रियता सबल बनाउने काममा मेरो सहयोगी भूमिका हुन्छ । नेपालको संविधानको अक्षर र भावनालाई अक्षरशः पालना गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रको सपना सकार गर्ने र गणतन्त्रलाई संस्थागत गर्न भूमिका खेल्नेछु । सर्वसम्मत हुने मैले अपेक्षा गरेको हो । त्यो पनि चुनावको दिनसम्म हुन्छ कि ! एमाले अध्यक्ष पनि मसँगै जेलमा बस्नुभएको हो, धेरै पुरानो साथी हो । उहाँले पनि यो राष्ट्रमा साझा बनाउन योगदान गराउनुहोला भन्ने मैले विश्वास गरेको छु ।

अनुभव र अध्ययनका आधारमा राष्ट्रपतिको भूमिका राम्रोसँग निभाउनेछु : सुवास नेम्वाङ
राष्ट्रपति निर्वाचनमा सम्मानका साथ अघि बढेको छु । प्रतिस्पर्धा भयो भने परिणामलाई स्वीकार गर्ने प्रणाली बनाएका छौँ । प्रतिस्पर्धामा आउनेलाई सम्मान छ । व्यवहारमा जनताको राष्ट्रपति अनुभूत हुने ढंगले काम गर्ने मेरो प्रयास हुनेछ । हिजो संविधानसभामा ३१ दलको निर्विकल्प सर्वसम्मत संविधानसभाको अध्यक्ष भएर जसरी संविधान जारी गर्न भूमिका निभाएँ, त्यही संविधानको संरक्षक हुने एउटा मौका, अवसर प्राप्त गरेको छु । त्यसमा अग्रसर भएको छु ।

जनताको राष्ट्रपतिका रूपमा संस्थालाई स्थापित गराउनेछु । संयोगले संविधान मेरै अध्यक्षतामा निर्माण र जारी भयो । संविधानको संरक्षण गर्दै संरक्षकका रूपमा अगाडि बढ्नेछु । यो संविधान निर्माणको क्रमदेखि नै नजिकबाट नियालिरहेको छु । विश्वको अनुभव पनि मसँग छ । यसअघि दुई राष्ट्रपतिको कार्यकाललाई पनि मैले नजिकबाट हेरेको छु । यी सबै अनुभव र अध्ययनका आधारमा राष्ट्रपतिको भूमिका राम्रोसँग निभाउनेछु ।

जनताको राष्ट्रपतिका रूपमा काम गर्नेछु । संघीय संसद्का सांसद र प्रदेश सभाका सांसदले गोप्य मतदान गरेर राष्ट्रपति निर्वाचित गराउने हो । सांसदहरूसँग विभिन्न ढंगले मेरो सम्बन्ध रहेको छ । यसका साथै मैले संविधान निर्माणमा खेलेको भूमिका र मेरो अनुभवले पनि मेरो उम्मेदवारीलाई पुष्टि गर्छ । मेरो जित्ने आधार यिनै हुन् । 

 राष्ट्रपतिको उम्मेदवार बन्न तीन इच्छुक, जसले प्रस्तावक–समर्थक नै पाएनन्
राष्ट्रपतिको उम्मेदवार बन्न दलबाहेकका व्यक्ति पनि संसद् भवनको ल्होत्से हल पुगेका थिए । निर्वाचन अधिकृतको कार्यालयले उनीहरूलाई मनोनयनपत्रसमेत उपलब्ध गराएको थियो । तर, उनीहरूले प्रस्तावक–समर्थक नै पाएनन् । सांसदहरू मात्रै उम्मेदवारको प्रस्तावक र समर्थक हुन पाउने व्यवस्था छ । दलका सांसदहरूले प्रस्तावक–समर्थक बस्न उनीहरूलाई पत्याएनन् ।

कास्कीका मेघराज आचार्य, विस्तृत परिचय नखुलेका रामराजी यादव र पूरा नाम नखुलेका लक्ष्मीप्रसादले उम्मेदवारी दर्ताका लागि मनोनयनपत्र लगेको सहायक निर्वाचन अधिकृत अमृता शर्माले बताइन् । ‘उहाँहरूमध्ये एकजना जनआन्दोलनको घाइते र अर्काले पूर्वविद्यालय निरीक्षक भएको बताउनुभएको थियो,’ उनले भनिन्, ‘उहाँहरूले छुट्टाछुट्टै मनोयनपत्र लिएर जानुभयो । के–के डकुमेन्ट चाहिन्छ, भरेर आउँछौँ भन्नुभयो । प्रस्तावक र समर्थक खोज्न प्रयास गर्छाैँ भन्नुभएको थियो । तर, निर्धारित समयभित्र आउनुभएन ।’

 राष्ट्रपति निर्वाचनबारे अझै अनिर्णीत पाँच दलले कसलाई सघाउलान् ?
राष्ट्रपतिका दुई उम्मेदवारमध्ये कसलाई मत दिने भन्नेमा पाँच दल अझै अनिर्णीत छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टीले आन्तरिक छलफलपछि निर्णयमा पुग्ने जनाएका छन् ।

प्रतिनिधिसभामा १४ र प्रदेश सभामा २८ सांसद भएको राप्रपाले उपयुक्त समयमा निर्णय लिने जनाएको छ । प्रवक्ता मोहन श्रेष्ठले भने, ‘हामीले परिस्थितिलाई नजिकबाट नियालिरहेका छौँ । राष्ट्रपतिको निर्वाचनअगावै उपयुक्त समयमा कसलाई मत दिने भन्नेबारे निर्णय गर्छौँ । अहिले निर्णय भइसकेको छैन ।’ आठदलीय गठबन्धन बनेसँगै राप्रपा समर्थन फिर्तासहित सरकारबाट बाहिरिएको छ । 

प्रतिनिधिसभामा १९ सांसद रहेको रास्वपाले पनि राष्ट्रपतिमा कसलाई समर्थन गर्ने विषयमा निर्णय गरेको छैन । संसदीय दलको नेतासमेत रहेका पार्टी उपाध्यक्ष डोलप्रसाद अर्यालले पार्टी पर्ख र हेरकै अवस्थामा रहेको बताए । ‘राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्नेबारे हामी छलफलमै छौँ, निर्णय गरिसकेका छैनौँ । यसबारे छलफल गर्न सोमबार केन्द्रीय समिति बैठक बोलाएका छौँ । आज त मनोनयन मात्रै दर्ता भएको हो । चुनाव त हुन बाँकी नै छ । नेपालको राजनीतिमा ‘रात गए अग्राख पलाए’ हुने गरेको छ । तपाईं–हामीले अनुमान गर्नेभन्दा अलि फरक हिसाबले अघि बढिरहेको छ यहाँको राजनीति । त्यसैले हामी अहिले पर्ख र हेरकै अवस्थामा छौँ,’ उनले भने, ‘चुनावसम्म परिदृश्य जे पनि हुन सक्छ, त्यसैले हामीलाई निर्णय लिन हतार छैन ।’ 

त्यस्तै, प्रतिनिधिसभामा एक र प्रदेश सभामा तीन सांसद रहेको नेमकिपा पनि परिस्थिति नियालेर निर्णय लिने योजनामा छ । प्रतिनिधिसभा सांसद प्रेम सुवालले आफूहरूको एजेन्डा सम्बोधनको प्रतिबद्धता जनाउने उम्मेदवारलाई मत दिन सक्ने बताए । ‘कालापानीबाट सेना फिर्ता गर्नुपर्ने, असमान सन्धि खारेज, एमसिसी र एसपिपी खारेज, स्वास्थ्य शिक्षा निःशुल्कलगायत एजेन्डा सम्बोधनको प्रयत्न गर्ने प्रतिबद्धता गर्ने उम्मेदवारलाई सम्बोधन हुन सक्छ । व्यवस्थाविरोधी र पक्षधर दलहरू को कहाँ पुग्छन्, हेर्न बाँकी छ । चुनाव आउन अझै धेरै दिन बाँकी छ । यी सबै परिस्थिति नियालेर हामी निर्णय लिन्छौँ,’ उनले भने । 

कुनै पनि उम्मेदवारको पक्षमा नखुलेको अर्को दल हाम्रो नेपाली पार्टीसँग प्रदेश सभामा दुई सांसद छन् । बागमती प्रदेश सभा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले भने, ‘हाम्रो पार्टीबाट बागमती प्रदेश सभामा दुई सांसद छौँ । तर, राष्ट्रपतिको निर्वाचनमा कुन उम्मेदवारलाई मत दिने भन्ने निर्णय भइसकेको छैन । बदलिएको राजनीतिक परिस्थितिमा पार्टीभित्र छलफल भए पनि कसको पक्षमा मतदान गर्ने निर्णय भएको छैन । आइतबारसम्म निर्णय हुन्छ होला,’ उनले भने ।

संघीय समाजवादीले आइतबार निर्णय लिने
संघीय समाजवादी पार्टीको पनि मधेस प्रदेश सभामा मात्रै एक सांसद छन् । यो पार्टीले पनि राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भनेर निर्णय लिन बाँकी छ । पार्टी अध्यक्ष रिजवान अन्सारीले आइतबार निर्णय लिने बताए । ‘नयाँ गठबन्धन बनेकाले राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने भनेर हाम्रो पार्टीले अझै निर्णय गर्न सकेको छैन । आइतबार बिहान १० बजेसम्म छलफल गरेर निर्णयमा पुग्छौँ,’ उनले भने ।