१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
टोपलाल अर्याल टोपलाल अर्याल
२०७९ फाल्गुण १३ शनिबार १४:४८:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

खेलकुदको ‘दुर्दशा’ : जिल्लास्तरीय प्रतियोगिता गर्न ऋण खोज्नुपर्ने बाध्यता

Read Time : > 2 मिनेट
टोपलाल अर्याल, टोपलाल अर्याल
२०७९ फाल्गुण १३ शनिबार १४:४८:००

गुल्मीको तम्घासमा बिहीबारदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता जारी छ। जिल्ला खेलकुद विकास समितिका अनुसार जिल्लाका दुई नगर र १० गाउँपालिकाका एक हजार ३९२ खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन्। तर, झन्डै १४ सय खेलाडी सहभागी हुने जिल्लास्तरीय प्रतियोगिता सञ्चालन गर्न जिल्ला खेलकुद विकास समितिलाई ऋण खोज्नुपर्ने अवस्था छ।

जिल्लास्तरीय प्रतियोगिताका लागि पुरस्कार, रेफ्रीभत्ता र व्यवस्थापनसँगै प्रदेशको प्रतियोगितामा सहभागी खेलाडी र प्रशिक्षक गरेर ९० जनाको यातायात खर्च र पोसाकको लागि खेलकुद विकास समितिले आठ लाख खर्च हुने अनुमान गरेको छ। तर, प्रतियोगिता सञ्चालनका लागि संघको ससर्तअन्तर्गत साढे चार लाख मात्र बजेट छ। त्यो पनि कार्यालयमा कहिले आउँछ टुंगो छैन।

निकै छोटो समय र कम बजेटमा प्रतियोगिता गर्नुपर्ने भएकाले धेरै समस्या भएको जिल्ला खेदकुद विकास समितिका अध्यक्ष गिरीप्रसाद महाकिमले बताए। सरकारले दिने साढे चार लाख बजेटले पुरस्कार, भत्ता र पोसाकबाहेक अन्य काम गर्न नसकिने भएकाले कार्यालयको आन्तरिक स्रोत र स्थानीय तहसँग गुहार माग्नुपर्ने स्थिति रहेको उनले बताए। ‘तोकिएको बजेट पनि समयमै नआएर ऋण खोज्नुपर्ने बिडम्बना देखियो,’ उनले भने, ‘अहिलेको अवस्थाले खेल क्षेत्रको विकास कसरी हुन्छ?’

एकै वर्ष दुई प्रतियोगिता हुँदा झनै मुस्किल
यो वर्ष मात्रै जिल्लामा दुई प्रतियोगिता भएपछि समितिलाई झनै मुस्किल परेको छ। राष्ट्रपति रनिङसिल्ड र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण खेलकुद विकास समितिलाई व्ययभार थपिएको हो। लुम्बिनी प्रदेशमा २८ असोजदेखि ३ कात्तिकसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन भएको थियो। प्रतियोगितामा दुई सय बढी खेलाडी प्रदेशबाट सहभागी भए, जसमा १० स्वर्ण, पाँच रजत र १४ कास्य गरेर २९ पदक प्राप्त भयो। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पनि तीन लाख मात्र बजेट थियो। तर, नौ लाख खर्च हुँदा खर्च व्यवस्थापनमा निकै समस्या भएको खेदकुद विकास समितिका अध्यक्ष गिरीप्रसाद महाकिमले बताए।

खेलकुद विकास समितिको आफ्नै कार्यालय भवन छ। मासिक एक लाख सटर भाडा आउँछ। तर, केही व्यवसायीले समयमै भाडा तिर्दैनन्। उठेको भाडाबापतको रकमबाटै समितिले कार्यालय सहयोगीदेखि अन्य खर्च व्यवस्थापन गरिरहेको छ।

कार्यालय प्रमुख र सहयोगीबाहेक कर्मचारी नै छैनन्
जिल्ला खेलकुद विकास समिति गुल्मीमा ०५३ सालदेखि कार्यालय प्रमुखहरू आएका देखिन्छन्। पछिल्लो समय ३ असार ०७५ सालबाट कार्यालय प्रमुख डिल्ली विक र विकास समितिले राखेका एक कार्यालय सहयोगी छन्। अहिलेसम्म लेखा अधिकृत, कम्प्युटर अपरेटर र प्रशिक्षकहरू एकजना पनि कार्यालयमा छैनन्। समग्र जिल्लाको खेलकुद विकासको क्षेत्रमा काम गर्ने विकास समिति एक्लो कार्यालय प्रमुखको भरमा छ।

कार्यालय प्रमुख भए पनि लेखाको कामसँगै पत्र लेख्ने, दर्ता चलानी गर्ने र पत्र पुर्याउने कामसमेत गर्नुपर्ने बाध्यता रहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली विकले बताए। खेलकुदमा अझै संघीयता नआएको उनको गुनासो छ। उनले अझै पनि संघीय बजेट प्राप्त गर्न लुम्बिनी खेलकुद परिषदमार्फत सामाजिक विकास डिभिजन कार्यालय पाल्पा पुग्नुपर्ने अवस्था रहेको बताए ।

कार्यालय प्रमुख विकले अझै पनि कार्यक्रम सम्झौता गर्न पाल्पा पुग्नुपर्ने, राष्ट्रिय खेलकुद परिषद्को कर्मचारी प्रदेश मातहतको विकास समितिमा काम गर्नुपर्ने तथा राजनीतिक विषयका कारण समितिलाई अस्थिर र जनशक्तिविहिन बनाउनु निकै बिडम्बनाको विषय भएको बताए ।

खेलकुद पूर्वाधार अलपत्र, खेलाडीलाई सास्ती
इस्मा गाउँपालिका– ६ को अमरपुरमा निर्माणाधिन सहिद लखन थापा अन्तर्राष्ट्रिय रंगशाला अलपत्र अवस्थामा छ। सोही पालिकाको पालिका स्तरीय खेल मैदान वडा नं २ को छल्दीटारमा निर्माण भए पनि सबै खेलको लागि उपयोगी छैन। केही दिनअघि मात्र मालिका गाउँपालिकाले चारवटा ग्राउन्डमा राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सञ्चालन गर्यो। ‘एक पालिका एक खेल मैदान’ अन्तर्गत निर्माणाधीन खेल मैदान पूरा भएको छैन।

जिल्लास्तरीय खेलकुद हुने सदरमुकाम तम्घासस्थित चिदीचौरको विकल्प देखिएको छैन। चिदीचौर महेन्द्र नमुना माविको खेलमैदान हो। विद्यालय सञ्चालन भइरहेका बेला चिदीचौरमा हुने राजनीतिक, सांस्कृतिक तथा खेलकुदका कार्यक्रमले विद्यार्थीको अध्ययन प्रभावित हुने गर्छ। रेसुंगा नगरपालिकाले वडा नं ७ को उनायचौरमा निर्माण गरेको खेलमैदान निकै कम उपयोग भइरहेको छ।

पालिकास्तरमा करोडौँ खर्च गरेर निर्माण गरिएका खेलमैदान उपयोग नहुने तर खेलाडीहरू खोला, खोल्सा, बारी र खुला चौरमा खेल सिक्नुपर्ने अवस्था रहेको तेक्वान्दो प्रशिक्षक दीपक जिसीले गुनासो गरे। उनले आवश्यकता र भूगोलअनुसार खेल संरचना नहुँदा लामो समय खुला धुलेचौर र बगरहरूमा विद्यार्थी तथा खेलाडीहरू प्रशिक्षण लिन बाध्य भएको बताए।