
तेह्रथुमको आठराई गाउँपालिका– ६ चुवानडाँडा हात्तीखर्कमा भीषण आगलागी भएको छ ।
आगोले अहिलेसम्म १४ घर जलेर नष्ट भएको छ भने जलेर एकजना घाइते भएका छन् । घाइते हुनेमा ६० वर्षीय याङ्दोल्मा योञ्जन छिन् ।
आगलागीबाट जलेका घरमध्ये नौवटा घर हाल बसोबास गर्दै आएका थिए भने पाँच घर बसाइ सरेर गएकाहरूको घर रहेको आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिम लिम्बूले जानकारी दिए ।
दिउँसो जंगलबाट शुरु भएको आगो चुवानडाँडाबाट हात्तीखर्कबस्तीमा पसेको थियो । अहिले आगो नियन्त्रण बाहिर रहेको छ ।
आगो हात्तीखर्कबाट वडा नम्बर ७ थोक्लुङतर्फ प्रवेश गरेको गाउँपालिका अध्यक्ष पाहिम लिम्बूले बताए ।
उनलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर पठाइएको अध्यक्ष पाहिम लिम्बूले बताए । आगो अर्को गाउँतर्फ प्रवेश गरेकाले आगो निभाउन दमकल तयारी अवस्थामा राखिएको छ ।
आगो सडकबाट माथि प्रवेश गरेमा ठूलो धनजनको क्षति हुन सक्ने अध्यक्ष पाहिम लिम्बूले बताए । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा आगो निभाउने प्रयास जारी रहेको छ ।
आगलागीबाट भएको क्षति विवरण आउन बाँकी छ । आगलागी के कारणले शुरु भयो भन्ने पनि अहिलेसम्म खुल्न नसकेको अध्यक्ष पाहिम लिम्बूले बताए ।