
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले देशको राजनीतिक स्थिरताका लागि तेस्रो दललाई प्रधानमन्त्री बनाएको बताएका छन्।
नेपाल पत्रकार महासंघ बागलुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री अधिकारीले पछिल्ला दिन भएको राजनीतिक परिवर्तनको हल्लासँगै देशको राजनीति कता जान्छ भन्ने केही थाहा नभएको बताए।
‘अहिले छिनछिनमा भइराखेको गठबन्धन र संरचना पनि परिवर्तन हुने हल्ला आउँछ । कतिवेला के हुने हो थाहा छैन,’ अधिकारीले भने, ‘पछिल्ला घटनाक्रमले देश झनै राजनीतिक अस्थिरतातिर जाने त हाेइन भन्ने चिन्ता छ । यसले मुलुककाे समृद्धि कसरी होला?’
अधिकारीले केन्द्रीय राजनीतिकाे प्रभाव प्रदेशमा पर्न नहुने बताए। ‘हामीले संघीयता कसैले दिएर ल्याएका हाेइनौँ, लडेर ल्याएका हौँ,’ उनले भने, ‘संघीयता आएसँगै प्रदेश आफ्नै हिसाबले चल्नुपर्ने हो। तर, केन्द्रीय राजनीतिकाे प्रभाव हुन्छ। एकल अधिकार थोरै छन्। स्वतन्त्र रूपमा न प्रदेश चल्न पाउँछन स्थानीय तह।’
उनले अन्तरप्रदेश समन्वय गरेर प्रदेशको सामर्थ्य बढाउनुपर्ने कुरामा जोड दिए। उनले प्रदेशलाई बलियो बनाउन साझा अधिकारका विषयमा कानुन बनाउन प्रधानमन्त्रीसँग आग्रह गरेकोसमेत बताए।
अधिकारीले प्रहरी तथा संघीय निजामती ऐन कार्यान्वयनजस्ता विषयमा तत्काल केन्द्र सरकार अगाडि बढ्नुपर्ने कुरामा जोड दिए। उनले प्रदेशमा आम्दानीको स्राेत पहिचाहन गरी उत्पादनतर्फ जोड दिनुपर्ने बताए।