१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
२o८१ जेठ १३ आइतबार १२:oo:oo
Read Time : > 2 मिनेट
ad
ad
फिचर डिजिटल संस्करण

माछा मार्ने पेसा संकटमा परेपछि दार्चुलाका बादी समुदायलाई दैनिक जोहो गर्नै समस्या 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १२:oo:oo

आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा पछाडि परेका दार्चुलाका बादीहरू आफ्नाे स्वामित्वमा जग्गा नहुँदा र रोजगारीको कुनै अवसर नपाउँदा समस्यामा परेका छन्। आर्थिक अभावका कारण दैनिकी कष्टकर बन्दै गएको छ। 

शैल्यशिखर नगरपालिका– ९ गोकुलेश्वर चमेलिया किनारमा बस्दै आएका ६० घरपरिवार बादी समुदाय समस्यामा परेका हुन्। उनीहरूको आफ्नो नाममा जग्गाजमिन नहुँदा र रोजगारीको अवसर नपाउँदा कष्टकर जीवनयापन गर्दै आएका छन्।

नेपालको संविधानले हरेक नागरिकलाई आवासको हक हुने उल्लेख गरेको छ। प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक उल्लेख छ। 

धारा ४० मा दलितको हकको व्यवस्था गरिएको छ। तर, यहाँका दलित समुदाय भनेर चिनिने बादी समुदायका नागरिकको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको सुनिश्चितता हुन सकेको छैन।

‘पहिले बगर थियो। बाजे–बाबु यही बस्थे। अहिले बजारीकरण हुँदै गएपछि मालिकले घर जमिन खाली गर्न भनेपछि निकै समस्यामा परेका छौँ,’ स्थानीय पुष्पा दमाईंले भनिन्, ‘आफ्नो भूमि छैन। अर्काकै भूमिमा बस्दै आएकोमा जमिन खाली गर्न भनेपछि कहाँ जाने के गर्ने भन्ने दोधारमा छौँ।’

चमेलिया किनारमा बालुवा निकाल्दै, गिट्टी कुट्दै जीविका चलाएका छन्। मालिकले घर जमिन छोड्न भनेपछि कहाँ जान्ने चिन्ताले उनलाई निद्रा लाग्न छोडेको छ। 

‘घर बनाउँ जमिन छैन, काम गर्न पनि अहिले पहिलेको जस्तो छैन,’ स्थानीय मुकुट बादी भन्छिन्, ‘बादी समुदायको समस्याबारे बुझिदिने कोही छैनन् ।’ झन्डै ५०–६० परिवार यही बगरमा बस्दै आएका छौँ । तर, थोरैसँग मात्र आफ्नो घर छ । घर, भएकाको पनि आफ्नो नाममा स्वामित्व छैन । अहिले घर छोड्न भनेपछि केहीले भाडाको घरमा बस्न थालेका छन्।

‘विगतमा माछा मार्ने, भारी बोकेर परिवार चलाउँथ्यौँ,’ उनले थपिन्, ‘अहिले नदीमा माछा छैन। चमेलिया खेलाभरि विद्युत् निकाल्न थालेपछि माछा लोप भए । करेन्ट लगाएर माछा मारियो हाम्रो पेसा नै संकटमा परेको छ।’

‘सडकको पहुँच विस्तारसँगै गोकुलेश्वर बजारमा भारी बोक्ने काम पनि पाउन छोड्यो। बालुवा, गिट्टी अलिअलि संकलन गरी बेचेर जीविका चलाउँछौँ। काम गर्न सक्ने छोराहरू मजदुरी गर्न भारततिर जान्छन् । यहाँ काम नपाएपछि अधिकांश युवाहरू गाउँमा छैनन्,’ उनले भनिन्। यहाँ रोजगार पाउन सकिँदैन । गाउँभरि सबै बेरोजगार छन्।  केटाकेटीहरू यही ढुंगा–गिट्टी कुटेर जीविका चलाउँछन्। 

बादी समुदायका लागि शौचालय खानेपानीको व्यवस्था छैन। अहिले पनि उनीहरू नदी किनार गएर शौच गर्न बाध्य छन्। गाउँभरिका लागि एक दुई खानेपानी धारा छ। त्यो पनि स्थानीय व्यापारीले पाइप दिएर व्यवस्थापन गरिदिएका छन्। हामीहरूको समस्याबारे लेख्नुहुन्छ, तर समाधान गर्न कोही आउँदैनन्, उनीहरूको गुनासो छ।

उपचार गर्नै समस्या

दार्चुलाको प्रवेशद्वारको रूपमा रहेको शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर चमेलिया नदी छेउमै छ बादी समुदायको बस्ती । त्यही बस्तीमा बस्छन्, ४५ कटेका राधा दमाईं । बादी समुदायको परम्परागत पेसा गिटी कुट्ने र माछा मार्ने हो। 

त्यही गिटी कुटेर जीविका चलाउँछन्, यहाँका बादी समुदाय । तर, पाँच वर्षअघि गिटी कुट्ने क्रममा ढुंगा उछिट्टिएर आँखामा लागेपछि राधाको आँखामा समस्या देखिएको छ। 

चोट लागेपछि उनले अहिलेसम्म राम्रो उपचार पाएका छैनन् । आँखा शिविर चलेको वेला एकपटक देखाए पनि पैसा अभावमा उनले थप उपचार गर्न सकेकी छैनन्। 

आफ्नो एउटा छोरा भारतमा मजदुरी गरेर फर्किएपछि मृत्यु भयो । उपचार गराउनै नसकी उनले छोरा गुमाउनुपर्‍याे । उनले भनिन्, ‘अहिले आफ्नो आँखामा समस्या बढ्दै गएको छ । कहाँ सहयोग मागु । पटकपटक विभिन्न निकायमा गएर सहयोग मागेपनि पाउँदिनँ।’

उनी मात्रै  हाेइन यो बस्तीमा थुप्रै महिलाका समस्या छन्। आर्थिक अभावका कारण पनि उपचार नगराएर रोग लुकाएर बस्ने गर्छन् । स्थानीय जिज्ञासु खत्री भन्छन्, ‘बादी समुदायभित्रको समस्या धेरैपटक उठान हुन्छ, तर समाधान हुन सकेको छैन। खानेपानी, विद्युत्, शौचालय यो बस्तीमा छैन। नदी किनारमा बस्छन् । बर्खामा कुन वेला बगाएर लिन्छ भन्ने चिन्ता उनीहरूको छ । । फोहोर नजिकै फालिएको हुन्छ । यहाँका बालबालिका विद्यालयभन्दा पनि मजदुरीमा बढी लाग्ने गरेका कारण बिरामी हुने गर्छन्।’
  
गिटी कुटेर जीविका चलाउँदै आएका उनीहरू त्यही ठाउँमा बालबालिका समेत राख्ने गर्छन्। दूधे बालकसँगै राखेर गिटी बालुवा कुट्नु उनीहरूको बाध्यता छ। नदी किनारमा खुला शौच हुन्छ। छुट्टै शौचालयको व्यवस्थापन छैन। 

‘दिनभरि मजदुरी गरेर कमाएको पैसाले चामल किन बालबालिकालाई खुवाउनुपर्छ,’ स्थानीय माया दमाईंले भनिन्, ‘छोराछोरी हुर्काउनै गाह्राे छ । पोषिलो खानेकुरा कहाँबाट ल्याउनु ।’ 

‘घर छैन भने शौचालय कहाँ बनाउनु । बजारको फोहोर यही फालिन्छ । बजारभरिको फोहोर, नदीमा बगेर आउने फोहोरले पूरै बस्ती प्रदूषण हुन्छ । धेरैजसो केटाकेटीहरू विद्यालय पढ्न पाउँदैनन्,’ स्थानीय अञ्जना दमाईं भनिन्।

शैल्यशिखर नगरपालिका प्रमुख विजयसिंह धामी भने बादी समुदायको उत्थानका लागि काम भइरहेको बताउँछन्। उनले भने, ‘सबैलाई रोजगार दिने सकिने अवस्था छैन, तर केहीलाई नगरपालिकामा रोजगार दिलाउने तयारीमा छौँ।’ बादी बस्तीको समस्या समाधानका लागि पहल भइरहेको उनको भनाइ छ।

ad
ad