मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ फाल्गुण ११ बिहीबार ०९:०१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चक्रपथको दोस्रो खण्ड विस्तार एक साताभित्रै थालिने

आज साइट भिजिट गर्दै भौतिक पूर्वाधारमन्त्री र चिनियाँ राजदूत

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ फाल्गुण ११ बिहीबार ०९:०१:००

चक्रपथको दोस्रो खण्ड कलंकी–महाराजगन्ज विस्तारसम्बन्धी काम एक साताभित्र सुरु हुने भएको छ । उक्त खण्डको काम एक साताभित्रै अघि बढाउनेबारे जानकारी चिनियाँ पक्षले नेपाल सरकारको भौतिक पूर्वाधार ताथा यातायात मन्त्रालयलाई मंगलबार गराएको हो । 

सडक निर्माण सुरु गर्नुअघि आज (बिहीबार) चिनियाँ राजदूत चेन सोङ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, सडक विभाग, काठमाडौं महानगरपालिकालगायतका निकायले साइट भिजिट गर्दै छन् । चिनियाँ पक्षले काम सुरु गर्नुअघि भिजिट गर्न खोजेपछि मन्त्री श्रेष्ठसहितको टोली साइट भिजिटमा जान लागेको हो । 

साइट भिजिटका क्रममा नेपाल पक्षले सडकआसपासका संरचना हटाएको नहटाएकोबारे चिनियाँ पक्षलाई जानकारी दिनेछ । त्यसैगरी, कहाँ–कहाँ कसरी काम गर्ने भन्नेबारे सडक विभागले चिनियाँ पक्षलाई देखाउनेछ । सडक साइट क्लियर भएको खण्डमा एक साताभित्र नै काम सुरु गर्ने चिनियाँ पक्षले प्रतिबद्धता जनाएकोे छ । यसअघि करिब डेढ महिनाअघि आएको चिनियाँ टोली अनुगमन गर्ने क्रममा ‘साइट क्लियर’ नभएको भन्दै फर्किएको थियो ।

नेपाल विद्युत् प्राधिकरण, सडक विभाग, नेपाल टेलिकमलगायतले सडकआसपासका संरचना हटाइसके पनि गोंगबुको एक मन्दिर र महाराजगन्ज क्षेत्रका केही संरचना हटाइएको छैन । महाराजगन्ज चोकस्थित २० वटाजति घरको मुआब्जा विवाद मिलेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जहाँ–जहाँ क्लियर भइसकेको छ त्यहाँ–त्यहाँ चिनियाँ पक्षलाई काम गर्न दिने बताए । उनले सहायक सडक निर्माणको काम नेपाल पक्षले सुरु गरिसकेको बताउँदै सबैजसो साइट क्लियर भइसकेको प्रस्ट पारे ।

चक्रपथवरिपरिको करिब ११.७ किमि सडकखण्ड आठ लेनमा विस्तार गर्ने गरी चिनियाँ कम्पनीले प्रतिबद्धता जनाउँदै आएको थियो । तर, कलंकी–महाराजगन्ज खण्डको काम अघि बढ्न सकेको छैन । महाराजगन्ज क्षेत्रका २० घरको मुआब्जा विवाद नमिल्दा यो क्षेत्र तत्काल खाली गर्न कठिन भएको छ । चीन सरकारकै सहयोगमा यसअघि कोटेश्वर–कलंकी खण्ड भने आठ लेनको बनिसकेको छ ।

 भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव  केशवकुमार शर्मा भन्छन् –जहाँ–जहाँ क्लियर भइसकेको छ त्यहाँ–त्यहाँ चिनियाँ पक्षलाई काम गर्न दिइनेछ । क्लियर नभएको बाँकी ठाउँमा पनि काम भइरहेको छ । चक्रपथको सहायक सडक निर्माण भने नेपाल पक्षले सुरु गरिसकेको छ । सबैजसो साइट क्लियर भइसकेको छ । 

चिनियाँ कम्पनीले यस खण्डमा आकासेपुलसहित मुख्य खण्डको मात्रै काम गर्नेछ । सहायक सडक, ढल निर्माण र व्यवस्थापनको काम नेपाली पक्षले गर्ने सहमति भएको छ । चक्रपथको दोस्रो खण्ड विस्तार गर्न तीन वर्षअघि चिनियाँ पक्षसँग सम्झौता भएको थियो । चिनियाँ पक्षले निर्माण सुरु गरेको चार वर्षभित्र काम सक्ने बताएको छ ।

 बालाजु ओभारपास र  महाराजगन्जमा अन्डरपास 
चीनले नै यसअघि विस्तार गरेको कोटेश्वर–कलंकी खण्डमा सडक वारपार गर्न यात्रुलाई कुनै सुविधा नभएको भन्दै आलोचना भएको थियो । सडकमा पर्याप्त आकासेपुल र जेब्राक्रससमेत नभएको भन्दै अहिले पनि आलोचना भइरहेको छ । अब दोस्रो खण्ड निर्माणमा भने त्यस्तो गल्ती गर्न नदिइने सडक विभागले जनाएको छ । यसबारे बिहीबार चिनियाँ राजदूतसँग भौतिकमन्त्री नेतृत्वको टोलीले छलफलसमेत गर्ने जनाइएको छ ।

यसअघि चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको कोटेश्वर–कलंकी खण्डमा हरियाली नभएको, वारपार गर्न कठिन भएको भन्दै नेपाली पक्षले चिनियाँ कम्पनीसँग डिजाइन परिवर्तन गर्न माग राखेका थिए । कोटेश्वर–कलंकी खण्डमा सडक वारपार गर्न कठिन भएको र दुर्घटना बढेकाले अबको खण्डमा डिजाइन फेर्न सडक विभाग तथा इन्जिनियरको टोलीले चिनियाँ पक्षसँग अनुरोध गरेको छ । यो खण्डमा बालाजु चोकमा ओभारपास र महाराजगन्जमा अन्डरपास राखिनेछ । त्यस्तै, चिनियाँ कम्पनीले जम्मा दुईवटा मात्रै आकासेपुल निर्माण गरिदिनेछ । अन्य तीनवटा आकासेपुल सडक विभागले निर्माण गर्नेछ । 

 सहायक लेन निर्माण सुरु 
सोही खण्डको सहायक लेन चक्रपथ सुधार आयोजनाअन्तर्गत चारवटा ठेकेदार कम्पनीमार्फत सुरु भइसकेको छ । चीन सरकारसँग सहायक सडक नेपाल सरकारले बनाउने र मुख्य सडक चीनले बनाउने सहमतिका आधारमा काम थालिएको आयोजना प्रमुख सजना अधिकारीले बताइन् । उनका अनुसार दुई वर्षमा सक्ने इस्टिमेटसहित ठेकेदार कम्पनीलाई ठेक्का दिइएको छ । उक्त खण्डको सहायक लेन निर्माणसहित, ढल, बाहिरी वाल निर्माणका लागि एक अर्ब बजेट विनियोजन गरिएको थियो ।