
दौरा सुरुवालमा चिटिक्क परेर एक हुल मान्छे बालमन्दिर छिरे । त्यो दृश्यले सर्वसाधारणदेखि वरिष्ठको ध्यान खिच्यो । हातमा तरबार र रुमाल छोपेका युवा र पाका पुस्ताका कलाकार पञ्चेबाजासहित जब नाच्न थाले । फागुन महिनामा पनि दसैँको झल्को आयो । सरायँ पश्चिम पहाडी जिल्लाहरूमा दसैँको बेला खेलिने प्रख्यात नाच हो।
रेसुंगा नगरपालिका २ का ५८ वर्षीय मीनबहादुर थापा १४ वर्षको उमेरदेखि सरायँ खेल्थे। गाउँमा दसैँ पूर्णिमाको दिन रातभर सरायँ खेल्ने चलन रहेको थापाले बताए।
ऐतिहासिक सरायँ नाच पुस्तान्तरण भएन। जसका कारण लोप हुने अवस्थामा पुगेको छ। लोकवार्ता परिषद् नेपालको ११ औँ राष्ट्रिय सम्मेलन थापासहितको समूहले सरायँ देखाएको हो।
रेसुंगा नगरपालिका ४ अर्खलेका स्थानीयले मनमोहक भजन र फागु गीत प्रस्तुत गरे। वर्षौँदेखि अर्खलेका स्थानीय भजन समूहले मौलिक लोक भजन गाउँदै आएका छन्।
६० वर्षीय हरि पन्थीले भजन गाउन थालेकाे तीन दशक भयो। उनका पुर्खाले पनि भजन गाउँथे। यो समूह भजन गाउन नपुगेका जिल्लाका कुनै स्थान बाँकी छैनन्। तर, पुस्ता निकै पुराना छन्। जमना फेरियो, उमेर घर्कियो। पहिले–पहिले पूजाहरूमा भजन गाएर रात बिताएको अनुभव पन्थीसँग छ। तर, नयाँ पुस्ता दोहाेरी र पपसँग रमाउन थालेकाले भजन संकटमा परेको छ।
त्यस्तै कार्यक्रममा निकै पुरानो रविकृत रामायणको एकतारे भजन राधा बेलबासे र मानकुमारी भुसालले प्रस्तुत गरेका थिए। रुरु क्षेत्र गाउँपालिका १ मा भार्सेली कलाकारले सोरठी र कृष्ण चरित्र प्रस्तुत गरे । सयौँ वर्ष पुरानो यो कलामा नाच्ने बच्चादेखि वृद्धसम्म हुन्छन्।
कृष्ण जन्माष्टमीमा कृष्ण चरित्र गाउने र देखाइने गरिन्छ । यो प्रकारकाे कला, संस्कृति र परम्परा जिल्लाका अधिकांश ठाउँमा संकटमा परिरहेका छन्।
कार्यक्रममा सरायँ, भजन, सोरठी र कृष्ण चरित्रसहित रेसुंगा नगरपालिका–१३ भँगारीको तर्फबाट सती घाटु नाच, वडा नं ११ को कालिका युवा क्लबद्वारा कालिका नाच, नेवा खलको तर्फबाट लाखे नाच प्रस्तुत भएका थिए।
जिल्लाको सभ्यता, सांस्कृतिक सम्पदाको संरक्षण र पहिचान स्थापित गर्ने उद्देश्यका साथ तम्घासमा लोकवार्ता परिषद् नेपालको सम्मेलनको आयोजना गरेर विभिन्न कला संस्कृतिको प्रस्तुति राखिएको परिषद्का जिल्ला संयोजक प्रध्यापक शशी पन्थीले जानकारी दिए।
संयोजक पन्थीका अनुसार सम्मेलनमा लोकवार्ता, इतिहास, पुरातत्व, भाषा, साहित्य, कला संस्कृति, परम्परा, गीत संगीत, मान्यता, रहन–सहन, रीतिरिवाज, प्रविधि, शैली र लोक जीवनको समग्रताको विमर्श गरिएको थियो।
मौलिक पहिचानको आधार मानिने लोक साहित्य तथा परम्परा, लोक प्रविधि, लोक जीवन, लोकोक्ति, लोक दर्शनलगायतको अध्ययन अनुसन्धान कार्य गर्नु र प्रकाशन गर्नु लोकवार्ता परिषद्को उद्देश्य रहेको पन्थीले बताए।
सम्मेलनले विभिन्न ऐतिहासिक धार्मिक भौगोलिक प्राकृतिक पुरातात्विक तथा पर्यटकीय क्षेत्रको पहिचान संरक्षण र प्रचार–प्रसारमा सहयोग पुग्ने विश्वास लिएको प्रचारप्रसार संयोजक रेशम कुँवरले बताए। उनले सम्मेलनमा लोकवार्ताका विभिन्न विषयका डेढ दर्जन कार्यपत्रहरू प्रस्तुत गरिएको थियो।
लोकवार्ता परिषद्को लागि नेपालका दुई दर्जन बढी प्राध्यापक तथा लेखक सहभागी थिए। लोकवार्ता परिषद्का अध्यक्ष प्राध्यापक डाक्टर प्रेमकुमार खत्री, परिषद्का उपाध्यक्ष लेखक भवेश्वर पंगेनी, महासचिव प्राध्यापक डाक्टर धुर्व भट्टराई, प्राध्यापक माधवप्रसाद पोख्रेल, महेन्द्र संस्कृति विश्व विद्यालयका पूर्वउपकुलपति प्राध्यापक डाक्टर माधव गौतमलगायत नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्यहरू, विभिन्न क्याम्पसका प्राध्यापकहरू सम्मेलनमा सहभागी थिए।
केन्द्रीय टोलीले जिल्ला संयोजक शशी पन्थीलाई अभिनन्दन गरेकाे थियाे। सम्मेलनको व्यावस्थापकीय सहयोग किरण पुस्तकालयले गरेको थियो।