मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सुवास भट्ट काठमाडाैं
२०७९ फाल्गुण ९ मंगलबार ०७:२६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

त्रिभुवन विमानस्थल कार्यालयको घुस प्रकरणमाथि छानबिन गर्दै अख्तियार

Read Time : > 2 मिनेट
सुवास भट्ट, काठमाडाैं
२०७९ फाल्गुण ९ मंगलबार ०७:२६:००

त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुर संलग्न भएको आरोप लागेको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन थालेको छ । घुस लेनदेनको अडियो प्राप्त भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई निलम्बन गरेर छानबिन अघि बढाउन पत्राचार गरेको थियो ।

 गत २७ माघमा आरोपितलाई निलम्बन गरेर छानबिनका लागि मन्त्रालयले पत्राचार गरेपछि यो विषयलाई अख्तियारले सीधै विस्तृत छानबिनमा लगेको हो । एकजना सहसचिवलाई अनुसन्धान अधिकृत तोकेर छानबिन अघि बढाइएको अख्तियार स्रोतले बतायो । छानबिन टोलीले प्रकरणसँग सम्बन्धित प्रमाण जुटाउनेलगायतका काम अघि बढाएको छ । अख्तियारले घटनामा संलग्न आरोपितहरूसँग बयान पनि लिनेछ । 

महाप्रबन्धक ठाकुरमाथि थाई स्माइल एयरसँग १० लाख घुस मागेको आरोप छ । एयरले पाइरहेको ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’को नवीकरणसम्बन्धमा घुसको बार्गेनिङ भएको अडियो गत २७ पुसमा पर्यटन मन्त्रालयमै पुगेपछि मन्त्री सुदन किराँतीले भोलिपल्टै ठाकुरलाई निलम्बन गरेका थिए । थप छानबिनका लागि मन्त्रालयले अख्तियारलाई पत्राचार गरेको थियो । 

 यस्तो छ घुस प्रकरण 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्ड ह्यान्डलिङ’ को विषयमा घुसको बार्गेनिङ भएको देखिन्छ । विमानस्थलमा दुई विमान कम्पनीले मात्र ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’को सुविधा पाएका छन् । त्यसमा थाई एयरलाइन्स र एयर इन्डिया छन् । बाँकीको ग्राउन्ड ह्यान्डलिङ नेपाल वायुसेवा निगमले नै गर्छ । ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’को सुविधा पाएका कम्पनीले आफ्ना जहाजको ग्राउन्ड ह्यान्डलिङसँग सम्बन्धित मर्मत–सम्भार, सञ्चालनलगायतका काम आफैँ गर्न पाउँछन् । जसअन्तर्गत थाई एयरले आफ्ना विमानका लागि यस्तो काम आफैँ गर्न पाउँछ । थाई स्माइल थाई एयरको भगिनी संस्था हो । 

‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’को सुविधाका लागि कार्यालयबाट लाइसेन्स लिनुपर्छ अथवा वार्षिक रूपमा त्यसको नवीकरण गर्नुपर्छ । विमानस्थल कार्यालयका अनुसार थाई इमास्लले ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’को नवीकरण गरेको छैन । यही नवीकरणका सम्बन्धमा घुसको अडियो सार्वजनिक भएको हो । 

बाहिर सार्वजनिक भएको अडियो संवाद करिब १०–१५ दिनअघिको भएको विमानस्थल प्रमुख ठाकुरले नै बताएका छन् । तर, त्यो अडियो स्पष्ट छैन । रकम नदिए ग्राउन्ड ह्यान्डलिङ सुविधा नदिने ठाकुरले अडियोमा भनेका छन् । सार्वजनिक भएको अडियोमा तीन लाख रुपैयाँको कुरा थाई एयरका प्रतिनिधिले उठाएका छन् । आफूसँग त्यतिमात्र रकम रहेको, तर यसका लागि आफूलाई बिल भुक्तानीको कागज चाहिने कुरा ती प्रतिनिधिले भनेका छन् । यो अडियोमा ठाकुरले रकमको उच्चारण भने गरेका छैनन् । 

 ट्राभल कम्पनी पनि जोडिँदा थप जटिल 
घुस अडियोमा ट्राभल कम्पनीसमेत जोडिएको छ । थाई एयरका प्रतिनिधिसँगको अडियोमा ठाकुरले ‘रवि’को नाम लिएका छन् । मन्त्रालय स्रोतका अनुसार ती रवि भनेका सोसाइटी इन्टरनेसनल ट्राभलका अध्यक्ष रविचन्द्र सिंह हुन् । कम्पनीले नेपालमा विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सको टिकट बेच्छ ।

सात एयरलाइन्सको जिएसए (जेनेरल सेल्स एजेन्ट) हो । जसमा थाई स्माइलसहित सिचुवान एयरलाइन्स, जजिरा एयरवेज, भुटान एयरलाइन्स, गो फस्ट एयरलाइन्स, गरुड इन्डोनेसिया र विज एयर अबुधाबी छन् । ठाकुरले उनै सिंहमार्फत घुसको बार्गेनिङ गरेको मन्त्रालय स्रोत बताउँछ । यो अडियोमा पनि सुनिन्छ । घुसका दुईवटा अडियो छन्– थाई प्रतिनिधिसँग ठाकुरको एउटा अडियो र थाई प्रतिनिधिसँग सिंहको अर्को अडियो । 

अडियोहरूमा अन्य कम्पनीहरूले पनि मागिरहेकामा थाईलाई ग्राउन्ड ह्यान्डलिङ सुविधा दिएको भन्दै थाई प्रतिनिधिसँग घुसको बार्गेनिङ गरिएको स्रोत बताउँछ । ‘माथिसम्म मिलाउनुपर्छ भन्दै घुस मागेको अडियोहरूमा सुनिन्छ,’ मन्त्रालय स्रोत भन्छ, ‘धम्कीकै शैलीमा घुस मागिएको बुझिन्छ ।’ घुसको प्रमुख डिल भने रविमार्फत भएको देखिएको स्रोतको दाबी छ ।

अडियोमा ठाकुरले १० लाखसम्म घुसको बार्गेनिङ गरेको मन्त्रालय स्रोत बताउँछ । तर, यति रकम दिँदा आफूलाई रसिद चाहिने अड्डी थाई प्रतिनिधिले लिएका छन् । प्रारम्भिक रूपमा केही विषय हेर्दा भने थाई प्रतिनिधिमाथि पनि आशंका गर्ने ठाउँ देखिएको छ । विमानस्थल कार्यालयका अनुसार थाई एयरले ग्राउन्ड ह्यान्डलिङको वार्षिक नवीकरण गरेको छैन । यसका अलावा आफ्नो विमानका लागि मात्र पाएको थाई एयरले ग्राउन्ड ह्यान्डलिङको सुविधा पाएकामा अन्य कम्पनीलाई पनि यस्तो सुविधा दिएको छ । यस्तो काम गैरकानुनी हुने कार्यालय बताउँछ । 

अध्यागमनको सर्भर डाउन हुँदा विमानस्थलमा दुई घन्टा समस्या 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भरमा समस्या हुँदा सयौँ यात्रुले सोमबार समस्या झेलेका छन् । करिब दुई घन्टा अध्यागमनको प्रणाली डाउन हुँदा समस्या आएको थियो । इन्टरनेटको समस्या अध्यागमनको नेपाल पोर्ट सफ्टवेयरमा समस्या आएको प्रमुख अध्यागमन अधिकृत वासुदेव घिमिरेले बताए ।

उनका अनुसार अध्यागमनले नेपाल टेलिकम र वेबसर्फरको इन्टरनेट प्रयोग गर्दै आएको छ । ‘दुवै इन्टरनेट डाउन हुँदा हाम्रो सर्भर ठप्प भएको हो,’ उनले भने, ‘करिब दुई घन्टा सर्भरमा समस्या भयो, आधा घन्टा भने पूर्ण रूपमा सेवा अवरुद्ध हुनपुग्यो, पछि वैकल्पिक माध्यमबाट काम गर्‍यौँ ।’ सेवा अवरुद्ध भए पनि विमानको उडान तालिकामै असर भने नपरेको उनको भनाइ छ । पछि इन्टरनेट सेवा प्रदायक कम्पनीका प्राविधिक पुगेर समस्या समाधान गरेका थिए ।