१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ८ सोमबार
  • Friday, 09 May, 2025
२o७९ फाल्गुण ८ सोमबार १३:३४:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

वडाध्यक्षकाे पहलमा ५५ मुसहर बालबालिकालाई ट्युसन कक्षा  

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ८ सोमबार १३:३४:oo

वडाध्यक्षको पहलमा मुसहर बालबालिकाका लागि ट्युसन कक्षाको व्यवस्था गरिएको छ। सिराहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिकाका एक वडाध्यक्षले आफ्नै पहलमा मुसहर बालबालिकाका लागि ट्युसन कक्षा सञ्चालन गरेका छन्।  

औरही गाउँपालिका– ४ इँटाटारका वडाध्यक्ष सुरेन्द्रप्रसाद यादवले विपन्न मुसहर बालबालिकाको शिक्षामा पहुँच बढाउन पछिल्लो करिब एक महिनादेखि वडा कार्यालयमा स्वयंसेवक शिक्षकमार्फत ट्युसन कक्षा चलाएका हुन्। 

गाउँपालिकामा वडा क्षेत्रको बाल विकास तथा अनौपचारिक शिक्षाका लागि साढे चार लाख रुपैयाँ विनियोजन गरिएको भए पनि ट्युसन कक्षा सञ्चालनसम्बन्धी कार्यविधि नभएकाले तत्काललाई रकम निकासा नगरिएपछि वडा कार्यालयको बरन्डामा ट्युसन कक्षा सञ्चालन गरेका हुन्। 

गाउँपालिका कार्यालयले दलित बस्तीमा ट्युसन कक्षा सञ्चालनसम्बन्धी कार्यविधि बनाएर दलित बालबालिकाको शिक्षामा पहुँच बढाउन पहल गर्ने अपेक्षा रहेको उनले बताए।  

‘निर्वाचनमा वडा क्षेत्रका दलित बालबालिकाको शिक्षाको अवस्था उकास्ने मुख्य प्रतिबद्धता थियो,’ वडाध्यक्ष यादवले भने, ‘निर्वाचित भएपछि आर्थिक वर्ष ०७९/८० को बजेटमा साढे चार लाख रुपैयाँ पनि छुट्याइयो, तर कार्यविधि नहुँदा रकम निकासा रोकिँदा पनि आफ्नै पहलमा ५५ जना मुहसर बालबालिकाका लागि ट्युसन कक्षा चलाएँदै आएको छु।’ 

उनका अनुसार स्वयंसेवक शिक्षकको रूपमा गणित विषयमा स्नातक उत्तीर्ण गरेका गाउँकै दलित युवक रामवृक्ष पासवानमार्फत सञ्चालन भइरहेको ट्युसन कक्षामा सार्वजनिक बिदाबाहेक हरेक दिन बिहान ७ देखि ९ बजेसम्म आधारभूत सिकाइसम्बन्धी कुरा सिकाउने गरिन्छ। 

ट्युसन कक्षा पढेर घर फर्किएका बालबालिकालाई खाना खाइवरी विद्यालयसम्म पुर्‍याउने जिम्मेवारी पनि स्वयंसेवक शिक्षकले नै गरिरहेको उनले बताए। 

सबै दलित बस्तीमा कक्षा चलाउने योजना  

औरही गाउँपालिका– ४ वडा क्षेत्रमा पर्ने तीनवटा आधारभूत तहका सामुदायिक विद्यालयमा दलित बालबालिकाको संख्या उल्लेख्य भए पनि पठनपाठन प्रभावकारी नहुँदा दलित बालबालिका त्यसमा पनि मुसहर बालबालिकाको विद्यालय बहिर्गमन बढिरहेको पाइएपछि तत्काल एक ठाउँबाट भए पनि ट्युसन कक्षा सञ्चालन गरिएको उनको भनाइ छ। 

‘वडा क्षेत्रमा पर्ने लवटोली पासवान टोल, इँटाटार, रामटोल, मुसहरटोल, कमलपुर, दासटोलका बालबालिकालाई लक्षित गरेर सबै ठाउँमा ट्युसन कक्षा चलाउने योजना छ,’ उनले भने, ‘तत्काल वडा कार्यालयछेउमै रहेको मुसहर बस्तीलाई लक्षित गरी सञ्चालन गरिएको छ।’ 

ट्युसन कक्षाबाहेक वडा क्षेत्रमा पर्ने सामुदायिक विद्यालय खुलेको दिन प्रायः कुनै न कुनै विद्यालयमा पुगेर विद्यार्थीसँग अन्तक्रिया गरी सिकाइ उपलब्धि जाँचेर शिक्षकलाई आवश्यक सल्लाह–सुझाव दिइरहेको वडा सदस्य परमेश्वर यादवले बताए।  

लागुऔषध नियन्त्रणका लागि सहकार्य  

भारतको बिहारसँग जोडिएको सीमावर्ती गाउँ भएकाले प्रायः विपन्न मुसहर किशोर युवा रोजगारीका लागि भारतलगायत खाडी मुलुक जाने र पढाइ छोडेर गाउँमै बसिरहेका लागुऔषधको दुर्व्यसनमा फस्दै गएकाले वडा कार्यालयको पहलमा स्थानीय प्रहरी, समाजसेवी तथा अगुवाहरूसँग सहकार्य गरी त्यसबाट मुक्त गराउने प्रयास थालिएको उनको भनाइ छ।
 

‘लागुऔषधको दुर्व्यसनमा फसेका युवाहरू खानपानमा ध्यान नदिने, प्रायः लामो कपाल पाल्छन्,’ उनले भने, ‘बस्तीमै गएर कैयौँपटक लागुऔषध सेवनले व्यक्तिगत जीवन र परिवार बर्बाद  हुने कुरा बुझाउने प्रयास गर्‍याैँ, पारिपट्टिबाट लुकीचोरी ल्याउँदा कानुनी फन्दामा पनि पर्न सकिन्छ भन्ने कुरामा सहमत भएपछि स्थानीय अगुवा युवाहरूको सहकार्यमा कपाल लामो भएका किशोर युवाहरूको कपाल काटेर लघुउद्यममा जोड्ने कोसिस गरिरहेका छौँ।’

व्यवस्थित योजनासहित दलित बालबालिकाका लागि सञ्चालन थालिएको ट्युसन कक्षालाई वडा क्षेत्रमा मात्र विस्तार गर्न सकिएको खण्डमा सिंगो गाउँपालिका क्षेत्रको शैक्षिक अवस्था फेरिन सक्ने स्थानीय युवा तथा विद्यार्थी नेता भोला यादवले बताए।

‘ट्युसन कक्षा चुनावमा दलित, विपन्न, सीमान्तकृत समुदायसँग गरेको प्रतिबद्धताको पहिलो खुड्किलोको रूपमा लिएर अगाडि बढिरहेका वडाध्यक्षसहित वडा कार्यालयलाई स्थानीय समाजसेवी, युवाहरूको पनि सहयोग रहने उनले बताए। 

तस्बिर : मणिलाल विश्वकर्मा/नयाँ पत्रिका