
कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त भएका छन् । २२ जना उम्मेदवारहरूलाई पछि पार्दै गुरुङ नियुक्त भएका हुन् । शनिबार बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
पूर्वप्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले अवकाश प्राप्त गरेपछि यो पद रिक्त थियो । बोर्डबाट आफू नियुक्त भएको जानकारी पाएको गुरुङले जानकारी दिए । उनले भने, ‘सोमबार बिहान बोर्ड बैठक बसेपछि शपथग्रहण र पदभारको कार्यक्रम तय हुनेछ ।’ गुरुङ सिभिल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबिए उत्तीर्ण गरेका गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ करिअर सुरु गरेका हुन् ।
उनले हिमालयन बैंकमा साढे १० वर्ष काम गरेका थिए । त्यसपछि उनी ग्लोबल आइएमई बैंकको वरिष्ठ प्रबन्धक पदमा रहेर काम गरे । ग्लोबल आइएमई बैंकमा साढे तीन वर्ष काम गरेपछि उनी नायब महाप्रबन्धक पदमा मेगा बैंक प्रवेश गरेका थिए । उनले उक्त बैंकमा साढे दुई वर्ष काम गरे । विदेशी बैंकमा समेत काम गरेको अनुभव भएका गुरुङले चार वर्ष तीन महिना सिभिल बैंकमा सिइओ भएर पनि काम गरे ।