मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ फाल्गुण ८ सोमबार ०८:५०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गोंगबु लुटपाट घटनामा संलग्न ५० जना पक्राउ : उपद्रव र चोरी तथा डाँका मुद्दा दायर

पक्राउ परेकामध्ये ३५ जना बालाजु र १५ जना महाराजगन्ज वृत्तको हिरासतमा, अपराध पुष्टि भए दुईदेखि ६ वर्षसम्म कैद सजाय

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ फाल्गुण ८ सोमबार ०८:५०:००

गत सोमबार (१ फागुन) गोंगबु बसपार्क क्षेत्रमा यातायात मजदुरको आन्दोलनको मौका छोपी चोरी र लुटपाट गर्नेहरूमध्ये ५० जना पक्राउ परेका छन् । पक्राउ परेका ४६ जनाविरुद्ध प्रहरीले ‘आपराधिक उपद्रव’ र ‘चोरी तथा डाँका’ कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ भने बाँकी चार जनामाथि अनुसन्धान जारी रहेको जनाएको छ ।

तोडफोड तथा आगजनीमा संलग्न ३५ जनालाई बालाजु वृत्तमा र बसर्पाकस्थित ल्होत्से मलभित्र चोरी तथा डकैतीमा संलग्न १५ जनालाई महाराजगन्ज वृत्तमा राखिएको छ । ल्होत्से मलभित्र मोबाइल तथा अन्य सामान चोरी गर्नेलाई मुलुकी अपराध संहिता, ०७४ को परिच्छेद २० चोरी तथा डाँकासम्बन्धी कसुरमा कारबाही हुने प्रहरीले जनाएको छ ।

त्यस्तै बस, एम्बुलेन्स, प्रहरी भ्यानलगायत तोडफोड र आगजनीमा संलग्नलाई सोही संहिताको परिच्छेद २६ ‘आपराधिक उपद्रव’ कसुरअन्तगर्तको मुद्दामा कारबाही हुने प्रहरीको भनाइ छ । यस कसुरमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।

उनीहरूमाथि दुई प्रकारका कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले जानकारी दिए । उनका अनुसार तोडफोड तथा चोरीमा संलग्नको संख्या भने अझै यकिन भएको छैन । भिडियो फुटेज, पीडितहरूको उजुरी, सामाजिक सञ्जाललगायत माध्यमका आधारमा उनीहरू पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता  सीताराम रिजाल भन्छन्– घटनामा संलग्न कतिपय भागिसकेकाले उनीहरूलाई पछ्याइरहेका छौँ । ५० जना पक्राउ परे पनि अझै संख्या यकिन भएको छैन । ठूलो संख्यामा पक्राउ पर्छन् । काठमाडौंबाट भाग्दैमा उम्कन पाउँदैनन्, प्रहरीको खोजी जारी छ । 

उनीहरूलाई प्रहरीले काठमाडौं तथा बाहिरी जिल्लामा पुगेरसमेत पक्राउ गरेको छ । घटनामा संलग्न कतिपय भागिसकेकाले उनीहरूलाई पछ्याइरहेको प्रवक्ता रिजालको भनाइ छ । ‘घटनामा संलग्नको संख्या अझै यकिन भएको छैन, तर अझै ठूलो संख्यामा पक्राउ पर्छन्,’ उनले भने, ‘काठमाडौंबाट भाग्दैमा उम्कन पाउँदैनन्, प्रहरीको खोजी जारी छ ।’ 

आन्दोनकारीले प्रहरीका दुई भ्यानमा आगजनी, एक प्रहरी अस्थायी बिट, एउटा एम्बुलेन्स, एक दर्जन सार्वजनिक तथा निजी सवारीसाधन तोडफोड गरेका थिए । घटनामा १० जना प्रहरी र एक दर्जन प्रदर्शनकारी घाइते भएका थिए । प्रदेश–३ ००१–०२२ च २६३१ नम्बरको एम्बुलेन्सलाई प्रदशर्नकारीले फुटाएका थिए । सोही एम्बुलेन्सका चालक ठाकुरप्रसाद न्यौपानेको मोबाइलसमेत चोरी भएको थियो । प्रदर्शनकारीले प्रहरीवृत्त बालाजुको बा.२झ १४४ र  बा.१झ ७२२४ नम्बरको भ्यान जलाएका थिए । आगजनी, तोडफोड तथा चोरीबाट करिब २० करोडबराबरको क्षति भएको प्रहरीको आकलन छ ।

 चोरीका ३५ वटा मोबाइल बरामद
घटनापछि विभिन्न मितिका पक्राउ परेकाहरूका साथबाट प्रहरीले ३५ वटाभन्दा बढी मोबाइल, सय थान रिचार्ज कार्ड, पाँच थान घडी, मल्टिप्लगलगायत सामान बरामद गरेको छ । प्रहरीले मंगलबारदेखि घटनामा संलग्नहरूलाई पक्रन थालेको थियो । पक्राउ परेकाहरूलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ । 

साथै, घटनामा संलग्न अन्य सन्दिग्धहरूको तीव्र रूपमा खोजी गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उक्त घटनामा करिब आठ करोडबराबरको क्षति भएको पीडितहरूको दाबी छ । पीडित पक्षले यातायात मजदुर संगठनका अध्यक्षसहित चोरीमा संलग्नमाथि कारबाहीको माग राख्दै गत मंगलबार परिसरमा उजुरी दर्ता गरेपछि प्रहरीले खोजी कार्य बढाएको थियो । 

पार्किङ र आन्दोलनका कार्यक्रम घोषणा गर्ने विषयमा विवाद हुँदा यातायात मजदुर संगठन र ल्होत्से बहुउद्देश्यीय प्रालिका कर्मचारीबीच झडप भएको थियो । सामान्य विवादबाट सुरु भएको झडपका क्रममा यातायात व्यवसायी र मजदुरहरूले प्रहरी भ्यान, एम्बुलेन्स, प्रहरी बिटलगायत तोडफोडदेखि आगजनीसम्म गरेका थिए ।